जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १७:४५

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदनबारे छलफल जारी


काठमाडौं, असोज २८ । विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १३ जना राजदूतको संसदीय सुनुवाइ सकिएको छ। सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार सम्पन्न भएको हो।

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। सुनुवाइ सकिए पनि उनीहरूको अनुमोदन भने भइसकेको छैन। संसदीय सुनुवाइ समितिमा अनुमोदन गर्ने विषयमा छलफल जारी छ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रस्तावित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।