जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १७:५१

बजेटमा ह्वीप उल्लंघन गर्ने एमालेका दुई सांसदसँग स्पष्टीकरण माग


धनगढी, असोज २८ । सुदूरपश्चिम प्रदेशमा बजेट विवाद चर्किएपछि नेकपा एमालेको प्रदेश संसदीय दलले सांसद वीरबहादुर थापा र धर्मराज पाठकसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले दुवै सांसदलाई ४८ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिने निर्णय गरेको हो।

एमालेले मंगलबार बसेको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर थापा र पाठक बैठकमा सहभागी हुनुभएन।

बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले मंगलबार नै सांसद पदबाट राजीनामा दिनुभएको थियो। तर सभामुख भीमबहादुर भण्डारीले उहाँको राजीनामा तत्काल स्वीकृत नगरी होल्डमा राख्नुभएको छ।

यस्तै, संसदीय दलको बैठकले पाठकलाई सामाजिक विकास समितिको सभापति पदबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।

ह्वीप उल्लंघन गरेको विषयमा स्पष्टीकरण माग्दै एमालेले दुवै सांसदको भूमिकामाथि प्रश्न उठाएको छ।