जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १९:१७

काठमाडौंमा अवैध रूपमा बसेको आरोपमा १० विदेशी नागरिक पक्राउ


काठमाडौं, असोज २८ । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा बसोबास गरिरहेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरोले बुधबार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल र २९ वर्षीय अब्दुल रहेका छन्।

त्यस्तै, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान पनि पक्राउ परेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गणको टोलीले पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेका विदेशी नागरिकको प्रवेश तथा बसोबाससम्बन्धी अवस्थाबारे अध्यागमन विभागले अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ।