काठमाडौं, असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न चाहने आकांक्षीका लागि चार चरणको छनोट प्रक्रिया सार्वजनिक गरेको छ।
पार्टीले परम्परागत रूपमा नेताको निर्णय र सीमित घेराबाट टिकट वितरण हुने अभ्यास अन्त्य गर्ने दाबीसहित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको हो।
रूपरेखाअनुसार पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारको छनोट १०० पूर्णाङ्कको समग्र मूल्याङ्कनका आधारमा हुनेछ।
जसमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत, लिडरसिप एकेडेमीलाई २५ प्रतिशत, संगठनसँगको सम्बन्ध र लोकप्रियतालाई समेट्ने पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार दिइएको छ।
रास्वपाका अनुसार प्रारम्भिक निर्वाचन हुनुअघि नै नेतृत्वसम्बन्धी तालिम, संगठन र लोकप्रियता तथा समावेशिताको मूल्याङ्कन गरिनेछ। त्यसबाट प्राप्त अंक केन्द्रीय सर्भरमा गोप्य रूपमा डिजिटल लक गरेर राखिने र सबै प्रक्रिया पूरा भएपछि मात्र एकमुष्ट स्कोरकार्ड सार्वजनिक गरिनेछ।
उम्मेदवार बन्न चाहने आकांक्षीले पार्टीको लिडरसिप एकेडेमीअन्तर्गत १० वटा विषयगत मोड्युलको तालिम लिएर परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।
तालिममा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, बजेट निर्माण, सुशासन, सार्वजनिक खरिद, डिजिटल साक्षरता तथा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग, विपद् व्यवस्थापन र सञ्चार कलालगायतका विषय समेटिएका छन्।
रूपरेखाअनुसार परीक्षामा तोकिएको न्यूनतम मापदण्ड पूरा गर्न नसक्ने आकांक्षी उम्मेदवार छनोट प्रक्रियाबाट बाहिरिनेछन्।
रास्वपाले यो व्यवस्थाले स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मूल्याङ्कनमा आधारित बनाउने अपेक्षा गरेको छ।














प्रतिक्रिया दिनुहोस्