जनकपुरधाम, असोज २८ । एक क्विन्टल ३० किलो गाँजा बरामद भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा फरार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगर सभापति साविर हुसेन पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४, कदमाहा बजारस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किएका थिए।
दुर्घटनापछि प्रहरीले बा.८ च ९९६३ नम्बरको कार खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद गरेको थियो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै गरेको कारलाई ठक्कर दिएको थियो। घटनापछि प्रहरीले ट्रकका चालकसहित दुवै सवारीसाधन नियन्त्रणमा लिए पनि कारका चालक फरार भएका थिए।
प्रहरीका अनुसार सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा हुसेन फरार रहेका थिए। उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अघि बढाइएको छ।














प्रतिक्रिया दिनुहोस्