रामेछाप, असोज २८ । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति रामेछापको आयोजनामा बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भएको छ। सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली मौलिक चाडपर्वको संरक्षण गर्दै आपसी सद्भाव, एकता र सामाजिक मेलमिलाप कायम राख्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल प्रेस युनियन रामेछापका उपाध्यक्ष सागर बोहराको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले नेपालीका मौलिक चाडपर्व सांस्कृतिक सम्पत्तिका रूपमा रहेकाले तिनको मौलिकता जोगाउँदै सभ्य र भव्य रूपमा मनाउनुपर्ने बताउनुभयो। चाडपर्वले समाजमा आपसी सद्भाव, आत्मीयता र एकताको भावना अभिवृद्धि गर्ने भएकाले तिनको सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो।
यसैगरी मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने र लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले पनि बडादसैँ, तिहार र छठलगायतका चाडपर्वको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँहरूले मौलिक परम्पराको संरक्षण गर्दै सामाजिक विकृति र विसङ्गतिरहित ढङ्गले चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक घिमिरे विभिन्न कार्यालयका प्रमुखहरु, पत्रकारहरू लगायतले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले पत्रकारहरूबीच आपसी एकता, सहकार्य र व्यावसायिक सद्भावलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, कार्यक्रममा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूले चाडपर्व उल्लासपूर्ण रूपमा मनाउने क्रममा स्वास्थ्य र सुरक्षामा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रमले नेपाली मौलिक चाडपर्वको संरक्षण, सामाजिक सद्भावको अभिवृद्धि तथा पत्रकार र विभिन्न क्षेत्रका प्रतिनिधिबीच आपसी सम्बन्ध र सहकार्य सुदृढ बनाउन सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएकाे छ।














प्रतिक्रिया दिनुहोस्