काठमाडौं, असोज २९ । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको हो।
दुर्घटनामा जुनिचाँदे–३, स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उहाँका चार वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते हुनुभएको छ।
प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको छ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।














प्रतिक्रिया दिनुहोस्