काठमाडौं, असोज २९ । दसैँ नजिकिएसँगै देशभर चाडपर्वको चहलपहल बढेको छ। तर म्याग्दीको बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८, फर्सेका बाढीपीडितलाई भने यस वर्ष दसैँको खुसीले छुन सकेको छैन। कालीगण्डकी नदीको बाढीले घरबास बगाएपछि उनीहरू आफन्त र छिमेकीको आश्रयमा दिन बिताइरहेका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले फर्सेका घर, गोठ र सम्पत्ति बगाएको थियो। जीवनभरको कमाइले बनाएको घर गुमाएका स्थानीयका लागि अहिले चाडपर्वको खुसीभन्दा सुरक्षित बास र जीविकोपार्जनको चिन्ता ठूलो बनेको छ।
बेनी नगरपालिका–१, बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताउनुभयो। बाढीले घर बगाएपछि उहाँ अहिले माइतीको आश्रयमा हुनुहुन्छ। घर गुमाउँदाको पीडाले यस वर्ष दसैँ मनाउने जाँगरसमेत नचलेको उहाँले बताउनुभयो। घरबार गुमेपछि यसपालि जमरा पनि नराखेको उहाँको भनाइ छ।
६६ वर्षीय तीर्थबहादुर केसीको अवस्था पनि उस्तै छ। बाढीले घर बगाएपछि उहाँ छ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बस्नुभएको छ। राति बाढी आउँदा धेरै स्थानीयले शरीरमा लगाएको कपडा र हातमा भएको मोबाइलबाहेक केही निकाल्न पाएनन्। घरभित्रका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्त्वपूर्ण कागजात बाढीले बगाएको छ।
जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार फर्सेमा ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन्। बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन्। आफन्तकहाँ बस्न नसक्ने र अन्यत्र घर नभएका परिवारलाई अस्थायी शिविरमा राखिएको छ।
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ। बचेका घरमा पनि पानी र हिलो पसेका कारण बस्न नसकिने अवस्था छ। विस्थापित परिवार दिनहुँ बाढीले बगाएको आफ्नो घर भएको ठाउँमा पुगेर भग्नावशेष हेर्छन् र निराश हुँदै फर्किन्छन्।
फर्सेमा कृषि तथा पशुपालन स्थानीयको मुख्य जीविकोपार्जनको आधार थियो। दूध र तरकारी उत्पादनबाट आम्दानी गर्दै आएका किसानका घरगोठ र पशुपालनका संरचना बगाउँदा उनीहरूको आयस्रोतसमेत संकटमा परेको छ। प्रभावित किसानले पशुआहारा, दाना र पशुका लागि आवश्यक सामग्री उपलब्ध गराउन माग गरेका छन्।
पुनःस्थापनाको पर्खाइमा प्रभावित परिवार
जलजला गाउँपालिकाका अन्य बस्ती पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार वडा नम्बर ७ का ताङवाङ र खानीगाउँमा पहिरोका कारण ३५ परिवार विस्थापित भएका छन्। जोखिमका कारण स्थानीयले सुरक्षित स्थानमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार गाउँपालिकाभर बाढीपहिरोबाट १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् भने थप १४० घर जोखिममा छन्।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रभावित परिवारका लागि तत्काल जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने तथा अस्थायी बसोबासको व्यवस्था मिलाउने योजना रहेको बताउनुभएको छ। दीर्घकालीन रूपमा निजी आवास, सडक, खानेपानी, सिँचाइ र विद्यालयलगायत क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
पुनःस्थापना र पुनर्निर्माणका लागि संघीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।
दसैँमा घर फर्किने, परिवारसँग बसेर मीठोमसिनो खाने र खुसी साटासाट गर्ने फर्सेवासीको चाहना यस वर्ष बाढीले खोसेको छ। घरबार गुमाएका परिवारका लागि अहिले चाडपर्वको उल्लासभन्दा सुरक्षित बास र गुमेको जीविकोपार्जन फेरि कसरी सुरु गर्ने भन्ने चिन्ता प्रमुख बनेको छ।














प्रतिक्रिया दिनुहोस्