जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार ०८:३२

यी प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना


काठमाडौं, असोज २९ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज राति हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।