जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार १२:४७

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म आउने


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यका केही समूहको मतगणना भने जारी छ।

सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीका विभिन्न समूहमा पनि परिणाम सार्वजनिक भइरहेका छन्।

निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ। बाँकी पदको गणना सम्पन्न गरी आजै बेलुकासम्म सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

असोज १८ गते सुरु भएको महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो। सभापतिको परिणाम असोज २४ गते सार्वजनिक भए पनि अन्य पदको मतगणनामा ढिलाइ हुँदा सम्पूर्ण परिणाम आउन समय लागेको हो।