काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो. फिरदोस आलम मधेशी क्लस्टरतर्फ सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ।
कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
फिरदोस गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट निर्वाचित हुनुभएको थियो। उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको थियो।
फिरदोसका पिता मोहम्मद अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित हुनुभएका कांग्रेसका पुराना नेता हुनुहुन्थ्यो। उहाँ २०६४ सालको संविधानसभा निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछिको हत्याकाण्डसम्बन्धी प्रकरणका कारण चर्चामा आउनुभएको थियो।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा अफतावलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २०८२ जेठमा प्रमाण पर्याप्त नभएको ठहर गर्दै उहाँलाई सफाइ दिएको थियो।
सफाइ पाएपछि जेलमुक्त हुनुभएका अफतावको २०८२ कात्तिक २१ गते काठमाडौंमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो।














प्रतिक्रिया दिनुहोस्