जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार १३:१२

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिका बनबासाबाट फर्काइए


कञ्चनपुर, असोज २९ । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासाबाट नेपाल फर्काइएको छ।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लैजानुभएको थियो। बनबासा चेकपोस्टमा भारतीय पक्षले रोकेपछि उनीहरूलाई नेपाल फर्काइएको हो।

फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले उनीहरूलाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

बालबालिकालाई देहरादुनको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो र भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय खुल्न बाँकी छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।