काठमाडौं, असोज २९ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने बताउनुभएको छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो।
सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उल्लेख गर्दै बहुमतका आधारमा गरिएका निर्णयसमेत संसदीय निगरानीको दायरामा रहनुपर्ने बताउनुभएको छ।
“दुईतिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,” उहाँले फेसबुकमा लेख्नुभएको छ।
राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उहाँको भनाइ छ।
सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतलाई बुधबार संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि सत्तारूढ दलकै सांसद सिंहको यस्तो प्रतिक्रिया आएको हो।














प्रतिक्रिया दिनुहोस्