जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार २१:१७

दीपशिखा ब्वाइज युनाइटेडलाई रामेछाप कपको उपाधि


रामेछाप, असाेज २९ । आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लबले चौथो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यु स्टार कुनौरीलाई १–० गोलले पराजित गर्दै दिपशिखाले उपाधि जितेको हो ।

उपाधिसँगै दिपशिखाले नगद ३ लाख ३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु स्टार कुनौरीले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा दिपशिखाका सविन खड्का उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । न्यु स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दिपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दीपेश कार्की उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।

विधागत रूपमा उत्कृष्ट घोषित सबैले जनही ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

असोज २६ गतेदेखि मन्थलीमा सुरु भएको प्रतियोगितामा १० टोली सहभागी थिए । प्रतियोगिताको समापन समारोहमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको आयोजक क्लबका अध्यक्ष आशिष कार्कीले जानकारी दिनुभयो ।