काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यमा नेपाल प्रेस युनियनकी पूर्वउपाध्यक्ष बाला अधिकारी निर्वाचित हुनुभएको छ ।
पेशागत विषयगत क्षेत्रको महिला खुला समूहबाट उम्मेदवारी दिनुभएकी अधिकारीले २ हजार १९४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । पेशागत समुहबाटै खुलातर्फ पुरुषमा उम्मेद्वार रहनुभएका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र पूर्वअध्यक्ष समिरजंग शाह भने पराजीत हुनुभएको छ ।
केही समयअघि मात्रै संस्थापनतिर लाग्नुभएका डा. शेखर कोइराला निकट लम्साल र शेरबहादुर देउवा निकट शाह पराजीत हुँदा बिशेष महाधिवेशनको पक्षमा लाग्नुभएकी अधिकारी पुनः निर्वाचित हुनुभएको हो । अधिकारी बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो । महाधिवेनबाट पनि निर्वाचित हुनुभएको हो ।
अधिकारी निर्वाचित हुनुभएको पेशागत समुहबाट डा. सीता पोखरेल घिमिरे २६ सय ५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। दुई पदका लागि भएको प्रतिस्पर्धामा अधिकारीले आर्किटेक्ट इन्जिनियर मेली शाहलाई सात मतले चकित पार्दै जीत निकाल्नु भएको हो । शाहले २ हजार १८७, इन्जिनियर निर्मला लामा ९चन्दले० २ हजार १४, अधिवक्ता रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गर्नुभएको छ।
पत्रकारिता, प्राज्ञिक अध्ययन र राजनीतिमा सक्रिय अधिकारी नेपाल पत्रकार महासंघको निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि गर्नुभएकी अधिकारीले नेपाली कांग्रेसको जिल्ला तहमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा काम गरिसक्नुभएको छ । ओखलढुङ्गाबाट राजनीतिक यात्रा अघि बढाउनुभएकी उहाँले पत्रकारिता र राजनीतिक क्षेत्रको अनुभवलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ।
कांग्रेस महाधिवेशनमा पेशागत विषयगत क्षेत्रको खुला समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । यस समूहमा डा. केदार नरसिंह केसीले ३२५३, प्राडा. जगदीशचन्द्र पोखरेलले २५७७, वरिष्ठ अधिवक्ता सिताराम केसीले १५३६, डा. प्रदीप मिश्रले १४७८ र केशव निरौलाले १२३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
















प्रतिक्रिया दिनुहोस्