काठमाडौं, असोज ३० । सरकारले सिफारिस गरेका मलेसिया र साउदी अरेबियाका लागि प्रस्तावित दुई राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको मतभेद सतहमा आएको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको दबाबमा चूडामणि खरेल र गिरीबहादुर सुनारको नाम अन्तिम सूचीमा थपिएको थियो। परराष्ट्र मन्त्रालयको प्रारम्भिक छनोटमा उनीहरूको नाम परेको थिएन।
समाचारमा उल्लेख भएअनुसार परराष्ट्रमन्त्री शिशिर खनालले दुवैको योग्यता र क्षमताबारे प्रश्न उठाउँदै नाम समावेश नगर्न अडान लिनुभएको थियो। तर लामो छलफलपछि उनीहरूको नाम मन्त्रिपरिषद्मा पुगेको थियो।
संसदीय सुनुवाइका क्रममा सुनारमाथि नैतिक आचरण र अन्य विषयमा उजुरी परेको थियो भने खरेलमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व र अनियमिततासम्बन्धी आरोप उठेका थिए। दुवैले आफूहरूमाथि लागेका आरोप अस्वीकार गरेका थिए।
समितिले दुवैको नाम अस्वीकृत गरेको छ। जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा भने निर्णय हुन बाँकी रहेको छ।














प्रतिक्रिया दिनुहोस्