जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार ०७:२२

सेती अस्पतालका २०० कर्मचारीले पारिश्रमिकमा विभेद भएको भन्दै आन्दोलन गर्ने चेतावनी


कैलाली, असोज ३० । सेती प्रादेशिक अस्पतालमा कार्यक्रम करारमा कार्यरत चिकित्सक तथा कर्मचारीले सरकारले निर्धारण गरेको दरअनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो गरेका छन्। उनीहरूले केही दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अस्पतालमा नर्सिङ कर्मचारीदेखि विशेषज्ञ चिकित्सकसम्म करिब २०० जना कार्यक्रम करारमा कार्यरत छन्। उनीहरूका अनुसार सरकारले पारिश्रमिक वृद्धि गरे पनि आफूहरूले भने अघिल्लो आर्थिक वर्षकै दरमा तलब पाइरहेका छन्।

चिकित्सक डा. राजीव चौधरीले अन्य कर्मचारीले तलबसँगै दसैँ बोनस र वृद्धि भएको महँगी भत्तासमेत पाउँदा कार्यक्रम करारका कर्मचारीलाई पुरानै दरमा पारिश्रमिक दिइएको बताउनुभयो। उहाँले यसलाई पारिश्रमिक र सेवा सुविधामा गरिएको विभेदका रूपमा लिनुभएको छ।

यस विषयमा ध्यानाकर्षण गराउन कर्मचारीहरूले बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष थापा शर्मा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेलाई भेटेका थिए। दुवै जनाले विषयमा थप बुझ्ने र विभेद हुन नदिने प्रतिबद्धता जनाएको डा. चौधरीले बताउनुभयो।

कर्मचारीहरूले राज्यले तोकेको सेवा सुविधा र वृद्धि भएको पारिश्रमिक आफूहरूले पनि पाउनुपर्ने माग गरेका छन्।

यता, अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले कर्मचारीको गुनासोबारे मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो। मन्त्रालयबाट जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ।