जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार ०७:२६

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु


काभ्रेपलाञ्चोक, असोज ३० । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन र प्रमाणीकरणका लागि जिल्लाका स्थानीय तहलाई प्रक्रिया तथा समयसीमा तोकेको छ। सरकारले जारी गरेको विशेष प्रक्रिया, २०८३ अनुसार बेपत्ता व्यक्तिको कानुनी अवस्था निर्धारण गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत निवेदन आह्वान गर्नेछन्। बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य उपलब्ध नभए स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ।

स्थानीय तहले प्राप्त निवेदनमाथि जाँचबुझ गरी दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिले विवरण प्रमाणीकरण गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउनेछ।

सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र पालिकामा पेस गर्नुपर्नेछ। स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित विवरण कात्तिक १८ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने समयसीमा तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीपछि काभ्रेपलाञ्चोकका ३७ जना अझै सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ। बेपत्ता भएका अन्य चार जना भने परिवारको सम्पर्कमा आएका छन्।

विशेष प्रक्रियाअनुसार विवरण प्रमाणीकरण भएपछि बेपत्ता व्यक्तिको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।