जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार १२:३३

रामेछापमा यसरी मनाइयो ७१ औँ प्रहरी दिवस


रामेछाप, असोज ३० । जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष कार्यक्रम आयोजना गरी  ७१ औँ प्रहरी दिवस मनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारको अध्यक्षतामा आयोजित कार्यक्रममा अमर प्रहरीको प्रतिमामा माल्यार्पण गरिएको थियो। कार्यक्रममा नेपालमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाका विषयमा चर्चा गरिएको थियो।

निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका अधिकारी, सरकारी कर्मचारी, नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधि, अमर प्रहरीका परिवार, सञ्चारकर्मी, प्रहरी कर्मचारी र पूर्वप्रहरी कर्मचारीलगायतको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी केसीले सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले गर्दै आएको कामको प्रशंसा गर्नुभयो। उहाँले सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन प्रहरीका लागि आवश्यक साधन स्रोतको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक जैसवारले कानुनी राज्यको स्थापना, शान्ति सुरक्षा कायम, अपराध अनुसन्धान तथा मानव अधिकार संरक्षणका लागि नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताउनुभयो।

रामेछाप प्रहरी पनि जिल्लामा अपराध नियन्त्रण तथा सामाजिक सुरक्षा र अमनचयन कायम गर्न निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो।