जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार २०:५०

खगेन्द्र सुनारमाथिको अनुसन्धान अघि बढ्यो, अडिओको प्राविधिक परीक्षण गरिने


काठमाडौं, असोज ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि फोनमा महिलालाई दुर्व्यवहार गरेको भनिएको अडिओ प्रकरणमा अनुसन्धान अघि बढाइएको छ। पार्टीको अनुशासन आयोगले स्वतन्त्र प्रमाण संकलन गरी अडिओको सत्यतथ्य जाँच गर्ने तयारी गरेको छ।

सांसद सुनारले आयोगले मागेको स्पष्टीकरण बुझाउँदै सार्वजनिक अडिओमा बोल्ने व्यक्ति आफू नभएको दाबी गर्नुभएको छ। त्यसपछि आयोगले हरिचन्द्र भट्टराईको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय अनुसन्धान समितिमार्फत थप अनुसन्धान अघि बढाएको हो।

समिति संयोजक भट्टराईका अनुसार आयोगले अडिओबारे पहिलोपटक समाचार प्रकाशित गरेको जनआस्था साप्ताहिकसँग त्यसको सक्कल प्रति मागेको थियो। उक्त अडिओ आयोगले प्राप्त गरिसकेको छ। अडिओ प्रकरणसँग जोडिएकी भनिएकी महिलाको अन्तर्वार्ताको अडिओ फाइल पनि मगाइएको उहाँले बताउनुभयो।

समितिले प्रमाण संकलन गरेपछि अडिओको प्राविधिक परीक्षण गर्नेछ। पार्टीभित्र उपलब्ध प्राविधिक संयन्त्रबाट परीक्षण गर्दा पर्याप्त नभए कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित विशेषज्ञ निकायबाट परीक्षण गराउने विषयमा पनि विचार भइरहेको भट्टराईले बताउनुभयो।

यसअघि सुनारले सार्वजनिक भिडियोमार्फत अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुन सक्ने बताउनुभएको थियो। तर आयोगलाई दिएको स्पष्टीकरणमा भने अडिओमा सुनिएको आवाज आफ्नो नभएको जवाफ दिनुभएको छ।

समितिले प्रमाण संकलन, परीक्षण र विश्लेषणपछि प्रतिवेदन तयार गरी अनुशासन आयोगमा बुझाउनेछ। आयोगले प्रतिवेदनका आधारमा कारबाही गर्ने वा नगर्नेबारे सिफारिससहित पार्टीमा प्रतिवेदन पेस गर्नेछ। त्यसपछि रास्वपाको केन्द्रीय समितिले आवश्यक निर्णय लिने बताइएको छ।

अडिओको सत्यता र त्यसमा सुनिएको आवाज कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेकाले आरोप पुष्टि भइसकेको छैन।