जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार २०:५२

कांग्रेस सभापति गगन थापाको शपथ फूलपातीमा, अन्य पदाधिकारीको दसैंपछि


काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले शनिबार फूलपातीका दिन शपथ ग्रहण गर्नुहुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति थापाको शपथ ग्रहण शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

मतगणना शुक्रबार बिहान सकिएकाले सबै निर्वाचित पदाधिकारीको शपथ दसैंपछि गर्ने तयारी भए पनि सभापतिको शपथ भने फूलपातीका दिन नै गर्न लागिएको कटुवालले जानकारी दिनुभयो।

अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ भने दसैंपछि एकैपटक गरिनेछ। कतिपय निर्वाचित व्यक्ति दसैं मनाउन जिल्ला गइसकेकाले उनीहरूको शपथ पछि गर्ने तयारी गरिएको हो।

पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथ ग्रहण हुने जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ।

असोज २३ गते भएको मतदानपछि सुरु भएको मतगणना झन्डै एक सातामा सकिएको हो। सभापति पदको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो भने अन्य पदको मतगणना सोही दिन रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।

निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार तीन सय ९२ मतदाताको मतगणना एक सातामै सकिएको छ।

मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको पनि कटुवालले बताउनुभयो।