जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार २१:००

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर


काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर समेटिएका छन्।

उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञ निर्वाचित भएका छन्। यसले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक तथा पेशागत क्षेत्रको प्रतिनिधित्व बढेको देखाएको छ।

नयाँ कार्यसमितिमा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) तथा मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. मोहम्मद फिरदोश आलम निर्वाचित हुनुभएको छ।

खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा प्रा.डा. गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ निर्वाचित हुनुभएको छ। इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल निर्वाचित हुनुभएको छ।

समावेशी समूहअन्तर्गत पनि चिकित्सक तथा इन्जिनियरको उपस्थिति छ। आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगा लक्ष्मी अवाल निर्वाचित हुनुभएको छ। दलित खुला समूहबाट डा. डीबी सुनार केन्द्रीय सदस्य बन्नुभएको छ।

मधेशबाट डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित हुनुभएको छ। खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारी केन्द्रीय सदस्य बन्नुभएको छ। थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित हुनुभएको छ।

प्रदेशगत र युवा समूहमा पनि चिकित्सक तथा इन्जिनियरको प्रतिनिधित्व छ। कोशी प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ डा. योशिका भट्टराई र इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित हुनुभएको छ। बागमतीको खुला समूहबाट प्रा.डा. सूर्यकान्त घिमिरे र इन्जिनियर रोहित पौडेल निर्वाचित हुनुभएको छ।

गण्डकी प्रदेशको युवा महिला समूहबाट डा. कला पन्त र खुला युवा समूहबाट इन्जिनियर सुवास पौडेल निर्वाचित हुनुभएको छ। सुदूरपश्चिमबाट ३५ वर्षमुनिका युवाको खुला समूहमा इन्जिनियर भुवनराज भट्ट निर्वाचित हुनुभएको छ।

सातै प्रदेशबाट निर्वाचित हुने ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यतर्फ इन्जिनियर अभिषेक आत्रेय, डा. आयुस बगाले, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित हुनुभएको छ। नेपाली जनसम्पर्क समितितर्फ डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य बन्नुभएको छ।

पेशागत तथा विषयगत क्षेत्रबाट डा. केदार नरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल र डा. प्रदीप मिश्र निर्वाचित हुनुभएको छ। सोही क्षेत्रको महिला सदस्यमा डा. सीता पोखरेल (घिमिरे) र डा. बाला अधिकारी तथा काठमाडौं उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ।

कांग्रेसको विशेष महाधिवेशनपछि विधान संशोधन गरी पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो। सोही व्यवस्थाअनुसार चिकित्सक, विद्यावारिधि गरेका विज्ञ र इन्जिनियरहरू निर्वाचन प्रक्रियाबाट केन्द्रीय समितिमा पुगेका हुन्।