जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार २१:०२

काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु


काठमाडौं, असोज ३० । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न सेवा सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्दा आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत परिचालन गरिनेछ। चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स प्रयोग गरिने उहाँले बताउनुभयो।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा पुर्‍याउन चुनौती रहेको बताउनुभयो। बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ।

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको जनाएको छ।