जनता टाइम्स

२ माघ २०७६, बिहीबार १६:११

भिम रावललाई सरकारका प्रवक्ताको प्रश्न : कुन नम्वरबाट र कसले मार्ने धम्की दियो ? प्रष्ट पारिदिनुहोला


काठमाडौं, माघ २

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्की आएको दावी गर्नुभयो । तर उहाले कसले कुन माध्यमबाट केही पनि खुलाउनु भएन । उहाले मार्ने धम्की मात्र आएको टिप्पणी सञ्चारमाध्यममा फैलाउनु भयो ।

तर, सरकारले यसविषयमा थप प्रष्ट पार्न रावलसँग आग्रह गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भीम रावललाई कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर प्रस्ट पार्न आग्रह गर्नुभयो । यद्यपी उहाले धम्की आएको कुरा निराधार भएको बताउनु भयो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला ! तपाईंलाई पत्यार लाग्छ ?’ उहाले यसमा सत्यता नरहेको बरु भीम रावलले कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर आफैं प्रस्ट पार्नुपर्ने बताउनु भयो ।

विचारमाथि सहमति, असहमति राख्दैमा कसैको ज्यानै लिने धम्की दिन नमिल्नै बताउँदै प्रवक्ता बास्कोटाले बालुवाटारबाट धम्की आएको भन्ने कुरा पत्याउन नसकिने बताउनु भयो ।

प्रधानमन्त्री पनि नेकपाकै र भीम रावल नेकपाकै नेता भएको बताउँदै उहालाई सरकारले पछुवा गाडीसहित सुरक्षाकर्मी उपलब्ध गराइरहेको स्मरण समेत गराउनु भयो । ‘प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन’, मन्त्री बाँस्कोटाको भनाई छ ।