जनता टाइम्स

४ माघ २०७६, शनिबार १०:२०

समुन्द्रमा नेपाली झण्डासहितको पानीजहाज, बाटो खुले साना जहाज नेपालसम्मै


काठमाडौं, माघ ४

पानीजहाज भन्ने वित्तिकै एक व्यक्तिको चर्चा आउने गर्दछ, प्रधानमन्त्री केपी शर्मा ओली । पहिलो पटक प्रधानमन्त्री हुँदा उनै ओलीले नेपालीलाई सपना देखाउन सिकाए । नेपाल अब विकासमा पछि पर्नुहुन्न । इच्छा शक्ति भए जस्तो सुकै काम पनि पुरा गर्न सकिन्छ भन्ने कुरा र योजना अघि सारेका थिए । जसमध्ये एक थियो –नेपालको राष्ट्रिय झण्डा पहराउँदै पानीजहाज समुन्द्रमा कुदाउने ।

तर, विपक्षी दलका कतिपय विद्यार्थीहरुले सो भनाईको मजाक समेत उडाए । अब भने विस्तारै सो योजनाले सार्थकता पाउने देखिएको छ । व्यापारिक घराना प्रभु ग्रुपले यो योजनामा काम गर्न शुरुवात गरेको छ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कम्पनीको शुरुवात हुनुमा प्रधानमन्त्रीको पानीजहाज सञ्चालन गर्ने भाषण प्रेरणाको स्रोत भएको बताउनुहुन्छ । उहाले ओलीकै भनाइबाट व्यवसायको सुत्रपात भएको बताउनु भयो । भारतीय नागरिक मोहम्मत ए ए सरदार भेटिएपछि उनले प्रभु ग्रुपलाई पानीजहाज र कन्टेनरको बिजनेशबारे बेलिविस्तार लगाएका थिए ।

सरदारसँग १०औं वर्षदेखि भारत, चीन र बंगलादेशका विभिन्न सिपिङ कम्पनीमा काम गरेको अनुभव थियो । उनी अहिले कम्पनीको प्रबन्ध निर्देशकका रुपमा व्यवसायलाई अगाडि बढाइरहेका छन् । सरदारसँगको साथमा प्रभु ग्रुपले सन् २०१८ को अगस्ट २४ मा ‘नेपाल सिपिङ लाइन्स’ नामक कम्पनी स्थापना गर्यो भने सन् २०१९ को जनवरीदेखि काम पनि शुरु गर्यो । नेपालका लागि मात्रै होइन, प्रभु ग्रुपका लागि समेत यो नयाँ विजनेस भेञ्चर थियो ।

अभ्यक्ष भट्टचनका अनुसार हालसम्म विदेशबाट नेपालमा सामान आयात हुँदा विदेशी कम्पनीका सिपिङ कार्गोबाट ल्यानु पर्दथ्यो । जसबाट वर्षेनी ५६ अर्ब रुपैयाँ विदेश जान्थ्यो । त्यसलाई केही मात्रामा कम गर्नका लागि प्रभु ग्रुपले शुरु गरेको स्वेदेशी कम्पनीमार्फत् ठूलो मात्रामा नेपाली मुद्रा विदेश जानबाट रोकिने भएको छ । नेपाली मुद्रा विदेशीन रोकिएन मात्रै, विदेशी मुद्रा पनि आम्दानी हुनेछ। किनभने प्रभु ग्रुपको कम्पनीले विदेशबाट नेपालमा मात्रै सामान ल्याउँदैन, यसले विश्वका कुनै पनि देशबाट कुनै पनि देशमा सामान ओसारपसार गर्छ । जसबाट विदेशी मुद्रा आर्जन गर्न समेत सम्भव हुनेछ ।

नेपाली व्यवसायीले आफ्नै देशको कम्पनीको कन्टेनरबाट सामान आयात तथा निर्यात गर्दा एकातिर सस्तो पर्ने भयो भने अर्कोतिर छिटो सेवा पाइने भयो । कम्पनीका अनुसार अन्य विदेशी कम्पनीका कन्टेनरले ४५ दिन लगाउने सामान प्रभु ग्रुपको कन्टेनरबाट १५ देखि २५ दिनभित्र नेपालमा ल्याइसक्छ । ल्याइ सकेको पनि छ । यसले एकातिर मुलुकमा रोजागरीको सिर्जना गर्यो भने अर्कोतिर व्यवसायको नयाँ क्षेत्रका लागि सम्भावना जगाउन र अन्य कम्पनीका लागि व्यवसाय विस्तारको क्षेत्रमा ढोका समेत खोलिदिएको छ । छिमेकी मुलुक भारतले वार्षिक ३९० मिलियन डलर सिपिङ कार्गोमा खर्च गर्छ । त्यसमध्ये नेपाली कम्पनीले २ प्रतिशत मात्रै बजार हिस्सा ओट्न सक्यो भने मात्रै पनि भारतसँगको व्यापार घाटा कम गराउन सकिने कम्पनीको विश्वास छ ।

प्रभु ग्रुपका अध्यक्ष भट्टचनका अनुसार समुन्द्रमा चल्ने ठूला कन्टेनर राख्ने क्षमता भएका पानीजहाज नजिक भनेको सिंगापुर, मलेसिया र दुबइमा मात्रै आउँछन् । त्यहाँसम्म २३ हजार ९०० वटा कन्टेनर बोक्ने पानीजहाज आउँछन् । भारतको कलकत्तासम्म त्यत्ति ठूला पानीजहाज आउन सक्दैनन् । कलकत्तासम्म १२ सय कन्टेनर बोक्ने पानीजहाज मात्रै आउन सक्छन् । नेपालमा आउने पानीजहाज पनि त्यहीबाटो हुँदै पटना र कालुघाट हुँदै आउँछन् ।

तर कलकत्ताबाट पटाना र कालुघाट हुँदै नेपालको त्रिवेणी र कोशी नदीसम्म चल्ने पानीजहाजले ५० देखि ८० कन्टेनर बोक्ने क्षमताका हुन्छन् । त्यहाँभन्दा ठूलो क्षमताका पानीजहाज चलाउन योबाटोमा सकिँदैन । भट्टचन यसलाई वातावरणीय र आर्थिक हिसाबले राम्रो भएको बताउँछन् । ‘५० वटा मात्रै कन्टेनर सानो पानीजहाजबाट नेपाल ल्याउन सकियो भने ५० वटा ट्रक कम हुनु हो भने यसले वातावरणीय र आर्थिक दृष्टिले सकरात्मक प्रभाव पर्छ,’ उहाले भन्नुभयो ।