काठमाडौं, १ जेठ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ । तयारीका सन्दर्भमा छलफल गर्न समितिको संयोजक रहेको बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा आज जेठ १ गतेदेखि नै कार्यक्रम शुरु गरिने जनाइएको छ ।
मूल समारोह समिति संयोजक चन्द्रमान लामाका अनुसार जेठ १, २ र ३ गते बौद्ध महाचैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गरिनेछ । बुद्ध वचन अनुवाद समितिको आयोजनामा प्रज्ञा पारमिता सूत्र पाठ गरिनेछ । तीन दिनसम्म २५ जना लामाले सूत्रका १६ ठेलीको एक लाख श्लोक पाठ गर्नेे समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
जेठ ३ गते बिहान बौद्ध परिसर, पीपलबोटबाट टुसालचोक, अमिताभ बुद्ध मार्ग, घ्योइलिसाङ पोखरी र उद्यान क्षेत्र, फूलबारी मार्गलगायत स्थानमा सफाइ गरिने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिनुभयो । बुद्ध जयन्ती कार्यक्रममा ‘फ्रि टिब्बेट’ गतिविधि हुन नदिने गरी सुरक्षा निकायसँगको समन्वयमा काम गरिने उहाँको प्रतिबद्धता थियो । जयन्तीका अवसरमा शान्ति दौड, शान्ति ¥याली, प्रवचन लगायत कार्यक्रमसमेत गरिने जनाइएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, स्थानीयवासी टासीकुमार लामा, शङ्कर प्रधान, मोहन खतिवडा लगायतले बुद्ध जयन्तीलाई सफलतापूर्वक मनाउन स्थानीय सबै संस्थाकाबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
आजभन्दा २५६३ वर्षअघि नेपालको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमका रुपमा भगवान् बुद्धको जन्म भएको थियो । उहाँले वैशाख शुक्ल पूर्णिमाकै दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धको निधन (महापरिनिर्वाण) भएकाले यस दिनलाई त्रिसंयोग दिवस पनि भन्ने गरिन्छ । नेपालमा प्रजातन्त्र स्थापना पश्चात् विसं २००८ को वैशाख शुक्ल पूर्णिमादेखि भव्य रुपमा बुद्ध जयन्ती मनाउन थालिएको थियो । त्यसै वर्षदेखि यस दिनमा सार्वजनिक बिदा दिन थालिएको हो । संयुक्त राष्ट्र सङ्घले सन् १९९९ डिसेम्बर १३ तारिखका दिन वैशाख शुक्ल पूर्णिमालाई अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । त्यसै वर्षदेखि राष्ट्र सङ्घले सबै कार्यालयमा बिदा दिँदै आएको छ । चीन, भारत, भुटान, म्यानमा, थाइल्याण्ड, श्रीलङ्का, ताइवान, मङ्गोलिया, लाओस्, अमेरिका, बेलायत, फ्रान्स, स्वीजरल्याण्ड, इटाली, जर्मनीलगायत देशमा बुद्ध जयन्ती श्रद्धा भक्तिसाथ मनाइन्छ । बौद्ध क्षेत्रमा बुद्ध जयन्ती मनाउन यस क्षेत्रका ८० सङ्घ संस्थाको सहभागितामा मूल समारोह समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्