जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १७:००

बुटवल उपमहानगरले अघि बढायो महिलालाई उद्यमी र आत्मनिर्भर बनाउने अभियान, फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम


पहिलो चरणको १२ विषयको तालिममा दुई सय जना सहभागी, तेस्रो लिंगीलाई व्यवहारिक सीप सिकाइँदै

बुटवल, माघ १७ । बुटवल उपमहानरगपालिकाले महिलाहरुलाई उद्यमी, स्वाबलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरु गरेको छ । महिला आर्थिक सशक्तिकरण उद्यमशिल विकास परियोजना शिर्षकको कार्यक्रममार्फत यहाँका महिलाहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउने उपमहानगरको लक्ष्य छ ।

तलिम लिइरहेका र तयारीमा रहेका महिलाहरु, प्रशिक्षक, व्यवस्थापकहरुलाई उपमहानगरको सभाहलमा भेला गरेर अभिमुखिकरणसमेत गराइएको छ । सोही अवसरमा बोल्दै प्रमुख शिवराज सुवेदीले लैङ्गिक समता, प्रजनन स्वस्थता, जीवनोपयोगी शिक्षा, तथा पुगीसरी सम्पन्नता र संस्थागत सहभागिताका लागि व्यवहारिक तालिमहरुको सञ्चालन गरिएको उल्लेख गर्नुभयो । महिला आर्थिक सशक्तिकरण उद्यमशिल विकास परियोजना त्यसैको एउटा रुप रहेको उहाँको भनाइ थियो । उपमहानगरले सीप सिकाउने मात्रै नभई सिकेको सीपलाई व्यवहारमा उतार्नका लागि समेत सहयोग गर्ने बताउँदै प्रमुख सुवेदीले स्वाबलम्बी नागरिक उत्पादनबाटै समृद्धि हासिल हुने कुरामा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमै महिलाको आयआर्जन बढाउने, आर्थिक पक्ष सुदृढ पार्ने र समतामूलक समाज निर्माणमा सबैको हातोमालो गराउने खालका कार्यक्रमहरु समावेश गरेको छ । कार्यक्रमले उपमहानगरपालिका भित्र रहेका महिलालाई उद्यमशिल बनाउने, महिला शसक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिता प्रदान गर्ने,महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहीत गर्ने, पहुँच स्थापना, समता, समानता, समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख आचार्यको भनाइ छ ।

बुटवलका उत्पीडनमा पारिएका तथा भान्छामा सिमित रहन बाध्य पारिएका महिलालाई जनचेतनामुलक कार्यक्रमसंगै सीप विकास र आयआर्जनमुलक काम सिकाइने बताउनुभयो । लैङ्गिक विभेदको अन्त्य, समाजमा व्याप्त कुरितिहरु (जस्तै—दाइजो, बोक्सी, छाउपडी, जातीय विभेद, बालविवाह, बहुविवाह, अनमेल विवाह) का विरुद्ध समुदायलाई समेत सहकार्यमा राख्दै बुटवलमा उपप्रमुखको संयोजकत्वमा लैंगिक हिंसामुक्त नगर घोषणाका लागि विशेष अभियान सञ्चालनमा छ । लैङ्गिक समानता ल्याउने, समावेशीकरणको भावना बढाउने, कुरीतिजन्य परम्पराको अन्त्य गर्नका लागि तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा कार्यक्रमहरु अगाडि बढाइएको उपप्रमुख तथा न्यायिक समितिका संयोजक आचार्यले बताउनुभयो ।

महिलालाई अलग राखेर वा छुट्याएर समृद्धि हासिल हुन नसक्ने कुरामा बुटवल उपमहानगरपालिका सचेत र सजग रहेको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले विकासका कार्यक्रममा महिलालाई समावेश गर्दै समृद्धिको अभियानमा सरिक बनाइएको बताउनुभयो । बुटवल टेक्निकल इन्ष्टिच्यूटका कार्यकारी निर्देशक प्रधुम्नलाल ९पीएल० श्रेष्ठले उपमहानरगरपालिका र यूएनडीपीले सञ्चालन गरेको तालिमलाई बीटीआइमार्फत व्यवस्थापन गर्ने अवसर दिएको भन्दै सफल पार्ने प्रतिबद्धता जनाउनुभयो ।

फेसन डिजाइनरदेखि टायलमार्बल जडानसम्मका तालिम

बुटवलले महिलाहरुका लागि पहिलो चरणमा विभिन्न १२ प्रकारका विषयमा तालिम सञ्चालन गरेको छ । यस्लाई मेयर युवा इलम कार्यक्रम पछिको अर्को नमुना र उदाहरणीय कार्यक्रम मानिएको छ । बुटवलमा जारी मेयर युवा इलम कार्यक्रम मुलुककै नमुना मानिन्छ । सोही कार्यक्रमबाट प्रभावित भएर विभिन्न निकायले बुटवलमा यसखालका तालिम सञ्चालनमा सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

केही तालिम सुरु भइसकेका छन् भने केहीको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा सुरु भएको तालिममा टूरिजम तथा हस्पिटालिटी, गार्मेट कटिङ मास्टर, इलेक्ट्रिकल, ढाका कपडा बुनाई, कफिका परिकार बनाउने, हेयर कटिङ तथा श्रृंगार, फेसन डिजाईन तथा बारिष्टाजस्ता विषयलाई समावेश गरिएको छ । गत कात्तिक र पुस महिनादेखि यसखालका सीपमुलक तालिम सञ्चालन गरिएका छन् । अहिले चलिरहेका तालिमहरु माघ अन्तिमदेखि आगामी चैत १४ गतेसम्म सकिनेछन् भने लगत्तै अर्को चरण सुरु हुने छ ।

उपमहानगरले यहाँको प्रतिष्ठित संस्था बुटवल टेक्निकल इन्ष्टिच्युटको व्यवस्थापनमा सुरु गरेको यो परियोजनामा बुटवल उपमहानगरपालिकासंगै राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक साझेदारी रहेको छ । बुटवल उपमहानगरले ६४ लाख र यूएनडीपीले ६७ लाख गरि यो परियोजनाका लागि कुल एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

१६ जना तेस्रो लिंगी फेसन डिजाइनर सिक्दै

फेसन डिजाइनजर तालिममा भने यसपाली तेस्रो लिंगीहरु सहभागी छन् । यानिक रानाको नेतृत्वमा १६ जनाले पहिलो चरणको फेसन डिजाइन तालिम लिन थालेका हुन् । लिंगका आधारमा हुने विभेद र आर्थिक विपन्नताका विषयलाई संवेदनशिल रुपमा लिंदै नगरप्रमुखले नै सीपमुलक तालिमको व्यवस्थापन मिलाएको अगुवा आनिकले बताउनुभयो ।

टाइल्स मार्बल जडान पनि सिकाइने

बुटवलसहित मुलुकभरमै मार्वलजन्य सामग्रीको प्रयोग र माग अत्यधिक छ । तर, यी सामग्रीको जडान गर्ने कामदारको अभाव छ । मार्वल र टायलको जडानका लागि महिलाहरुसमेत सक्षम हुन सक्ने भन्दै बुटवलले महिलाहरुकै लागि यसखालको तापलमको शुभारम्भ गर्न लागेको छ । योसंगै डेरी तथा दुग्धप्रशोधन, नर्सरी तथा बगैंचा निर्माण र इलेक्ट्रोमेकानिकल तालिम सञ्चालन गर्दैछ । यी विषयमा तालिम लिन आवेदन दिएका मध्येबाट पहिलो चरणमा ७० जना महिला छनौट भएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिनुभयो । यी विषयको तालिमको स्थान र मिति भने तय भइनसकेको महाशाखा प्रमुख लुइँटेलले बताउनुभयो ।