जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १५:०९

जनयुद्ध रोक्ने पहिलो निर्णयदेखि जनयुद्ध अन्त्य गर्ने प्रचण्डको अन्तरकथा : त्यो जीवन मरणकै प्रश्न थ्यो क्या !


शुभशंकर कँडेल

सन् १९९० को दहक विश्वव्यापी परिवर्तन र कम्युनिस्ट सत्ता ढल्ने क्रममा नेपालमा भने जननेता मदनकुमार भण्डारीको अगुवाइमा कम्युनिस्ट शक्ति जबर्जस्त राजनीतिक शक्तिका रुपमा लोकप्रिय भइरहेको थियो । जननेता भण्डारीको ओज र प्रभावबाट समेत जनयुद्धका रणनीतिकारलार्ई गहिरो प्रभाव परेको थियो । नेपालमा एउटै वामपन्थी शक्तिको प्रमुख राजनीतिक हैसियत प्राप्त गर्न मदन भण्डारीसँग एकता गर्ने सोचाइमा पुग्नुभएको खुलासा जनयुद्धका योजनाकार पुष्पकमल दाहाल, प्रचण्डले बारम्बार गर्दै आउनुभएको छ । तर प्रचण्डले जोजोसँग भेट्न र सम्झौता गर्न चाहनुभयो, सवैको रहस्यमय ढङ्गले हत्या भयो । यथार्थ के थियो त भन्ने जिज्ञासा सबैतिर भएका बेला मैले प्रचण्डको राजनीतिक उदयदेखि एकीकृत कम्युनिस्ट पार्टी निर्माणको तहसम्म आइपुगेको घटनाका बारेमा उहाँकै निवासमा लामो कुराकानी गरें प्रचण्डलार्ई आकस्मिक लाग्नेगरी मेरो पहिलो प्रश्न थियो :

तपाईं कसरी महामन्त्री हुुनुभयो ? कहिल्यै सोच्नुभएको थियो ?

२०४३ सालमा सेक्टरकाण्ड भयो । पार्टीका तर्फबाट गलत भएको भन्दै तल्ला कमिटीका दिपक महत, काकालगायतमाथि तत्काल कारबाही भयो । तर केन्द्रमा हरेक पटक बैठक बस्ने, छलफल हुने, निष्कर्षमा कोही पुग्न नसक्ने प्रक्रिया चल्दै आएको थियो । त्यत्तिबेला पार्टीको बैकल्पिक पोलिटब्यूरो सदस्यका रुपमा टेक कमिटीमार्फत सैन्यमोर्चाको जिम्मा मेरो थियो । म सेक्टरवाला घटनाको निर्णयमा सहभागी थिईन । हतियारको खोजी, तालिम यी सब काम भइरहेका थिए । पार्टीभित्र मेरो स्वीकार्यता बढीरहेको थियो । समस्या आएका सबै ठाउँमा म जाने र समाधान गर्ने काम पनि भइरहेको थियो । म महामन्त्री नै हुने भन्ने तहमा सोचेको थिइनँ । तर मलार्ई यी बूढाहरुले भन्दा राम्ररी मैले नै गर्नसक्छु भन्ने थियो ।

त्यही बेला अर्थात २०४६ को कात्तिक पहिलो हप्ताको एकसाँझ किरण (मोहन बैद्य) र मबीचमा लामो कुरा भयो । किरणले त्यसअघि सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठलगायतलार्ई पनि भेटेर महामन्त्री बन्न आग्रह गरिरहेका थिए, तर कोही तयार थिएनन । उनीहरु पनि सेक्टर घटनामा संलग्न थिए, तलतिरका जो संलग्न थिए, तिनलार्ई कारबाही गर्ने तर निर्देशन दिनेलार्ई केही नगर्ने भन्ने विषय उठिरहेको थियो । किरण आजित भएर कहिले भक्तबहादुरलार्ई महामन्त्री बन्नुस भन्ने कहिले कसलार्ई बनाउने भन्थे । तपाईं यसो नभन्नुस तपाईं नै हो, भनिराख्थें म ।

किरण भित्रैदेखि महामन्त्री पद बोक्न नसक्ने भएर कहाँ लगेर बिसाउने भन्नेमा पुगेका थिए । त्यही सन्दर्भमा भएको लामो छलफलमा किरणले मलार्ई नै महामन्त्री बनेर पार्टीलार्ई अघि बढाउन विशेष अनुरोध गरे । किरणले भने, ‘यही घटनामा म पनि छाड्छु, गौरव पनि जोडिया छ, गुरुङ पनि जोडिया छ, उनीहरुलार्ई पनि एकतह घटुवा गर्ने भन्ने कुरा गरे । त्यसपछि म पार्टीका केन्द्रीय समितिका सदस्यहरुका बीचमा कुरा गर्न थालें, सबै खुसी थिए । तर वरिष्ठहरु खुसी थिएनन । अहिले मैले किन नाम लिउँ तिनको ।’ (सीपी गजुरेल, भक्तबहादुर श्रेष्ठहरुलगायत…ले)

महामन्त्री भएपछि के सोच्नुभयो ?

त्यहीबेला (२०४६) कात्तिक दोस्रो साता भएको बैठकबाट म पार्टीको महामन्त्री भएँ सर्बसम्मत रुपमा । सङ्कट के आइलाग्यो भने म एकातिर सशस्त्र सङ्घर्षको तयारी गर्दैं थिएँ । हातहतियारको जोगाड, पहिलो सैन्य तालिम आदि मैले नै गराएको थिएँ । त्यो बेलाको मेरो व्याख्या विश्लेषण तिखो थियो नि त । त्यसले गर्दा सबै क्रान्तिकारी स्प्रिटका साथीहरु ममा केन्द्रित भएकै थिए । पछि किरणजीले भन्नु पनि भयो, किनकि पार्टी सम्पूर्णरुपले प्रचण्डको हातमा गइसकेको थियो । म त्यसरी बसेको भए गलहत्याइने थिएँ । इतिहासले मलार्ई नराम्रोसँग पाखा लगाउँथ्यो । समयमा नै मैले बुझेर प्रचण्डलार्ई जिम्मा लगाउँदा नै राम्रो हुन्छ भनेर गरेको हो भनेर किरणले भन्नुभएको छ । उहाँले लेख्नुभएको पनि छ । (२०७१ कात्तिक १०–१३ र २०७५ साउन १८ गते प्रचण्डसँग सोधिएको प्रश्नको जवाफ) ।

यसरी ३५ वर्षे ठिटो देशका घग्डान भनिएका नेताहरुको बीचमा पार्टीको महमन्त्री बन्न आइपुग्नुभएको थियो । यद्यपि त्यो पार्टी साहै्र सानो थियो । पछि प्रचण्डले पुरानो चौथो महाधिवेशन धारका चार समूह जोडेर चुनावमा जाँदा पनि संसदमा जम्मा नौ सिट र ४.३ प्रतिशत जनमत (भण्डारी : २०५०) मात्र प्राप्त गर्न सकेको थियो । नेतृत्वमा त आएँ अब के गर्ने भन्ने चौबाटोमा उभिएका बेला प्रचण्डले शक्ति आर्जनको बाटो राज्नुभयो ।

जनयुद्धको नीति रोक्ने प्रचण्डको पहिलो निर्णय

महामन्त्री भएपछि पहिलो निर्णय के गर्नुभयो ?

‘म कस्तो बेलामा महामन्त्री भएँ त भन्दा एकातिर सैन्य तयारी गरिएको छ, हातहतियार जोडिएको छ, कहाँ हान्ने, के गर्ने भन्ने तयारी गरिराख्या छ । अर्कातिर त्यहीबेला पञ्चायत विरोधी आन्दोलनले पनि जोर पक्डँदै गएको छ । एकातिर वाममोर्चा बनाउने यता संयुुक्त राष्ट्रिय जनआन्दोलन बनाउने र व्यापक आन्दोलन गर्ने भन्ने कुरा पनि चल्न थाल्याछ ।’ ‘म महामन्त्री हुनेबित्तिकै गम्भीर प्रश्न खडा भयो । मेरा लागि लाइफ एण्ड डेथ थियो । त्यो जीवन मरणकै प्रश्न थ्यो क्या ! मैले अब सशस्त्र सङ्घर्ष (छापमार युद्ध) सुरु गर्नेमा पार्टीलार्ई लैजाने कि संयुक्त आन्दोलनमा सहभागी भएर अहिलेलार्ई सशस्त्र सङ्घर्ष थाँती राख्ने भन्ने प्रश्न खडा भएको थियो । त्यो सँगसँगै जानसक्ने स्थिति थिएन । त्यस्तो अवस्थामा म के निष्कर्षमा पुगें भने सशस्त्र सङ्घर्ष स्थगित गरिदिनुपर्छ भन्नेमा गएँ ।

अब संयुक्त आन्दोलनमा सहभागी पनि हुने र समान विचार राख्नेहरुका बीचमा एकताको पहल गर्नुपर्छ भन्नेमा पुगें । त्यसपछि म आफैँले महामन्त्रीको हैसियतमा अध्यक्षता गरेको पहिलो बैठकको मुख्य एजेण्डा तत्कालका लागि सशस्त्र सङ्घर्षको तयारी रोकेर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय भएको थियो’ (प्रचण्ड : २०७५) ।

(अवतरण,(नेपालमा शशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता) नामक पुस्तकबाट । )

यस सम्वन्धी विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसी न्युज टेलिभिजनमा हेर्न सक्नुहुनेछ ।