युवराज खतिवडा
बीमामा भएको प्रगति उत्साहप्रद छ । तर हामीले के कुरा बुझ्नु पर्छ भने वास्तविक अर्थतन्त्रको विकास नभई वित्तिय क्षेत्रका गतिविधी एकहोरो अगाडि बढ्न सक्दैनन् । हाम्रो स्रोत साधनलाई उत्पादन मुलक क्षेत्रमा लगाइएन भने हामीले आर्जन गरेको उपलब्धी दीगो हुँदैन । दीगो वृद्धीको लागि हामीले संकलन गरेको बचतलाई सम्पूर्ण रुपमा उत्पादन मुलक क्षेत्रमा लगाउन सकियो भने हामीले खोजेको २ अंकको आर्थिक वृद्धी प्राप्त गर्न सक्छौ ।
बीमा कम्पनीहरुको विस्तार भएको छ । विस्तारको कुरा संगसगैं मर्जरको कुरा पनि आएको छ । मुलुकको समृद्धीकोलागि बीमाका संख्यामा विस्तार होईन सेवाको विस्तारमा ध्यान दिनु पर्छ । संख्या विस्तार भन्दा गुणस्तर विस्तार हाम्रो प्राथमिकता हुनु पर्छ । संख्याले मात्र हामीलाई कहि पुर्याउँदैन भन्ने त बैंकिङ क्षेत्रको विस्तारले हामीले बुझ्यौ नी । त्यो बैंकिङ क्षेत्रका संख्या धेरै भन्दा अहिले मर्जर भैसकेको सेवा विस्तारले छिटो गति लिएको फड्को पनि मारेको छ । यो कुरा बीमामा पनि लागुहुन्छ । बीमा समितिले यो पहल पनि सुरु गर्यौ जुन राम्रो पक्ष पनि हो ।
कतिपय नयाँ बीमा कम्पनी खोल्दा, शुरुमा ‘ग्रिन फिल्ड’ देखिन्छ । ‘ग्रिन फिल्ड कहिले हरियो घाँस नै हुन्छ कहिले नक्कली दुबो जस्तो हरियो देखिनेमात्र पनि हुन सक्छ । कोहि यो कुरामा झुक्केर आउनु भएको छ भने ख्याल गर्नुहोला भोली गएर समस्या नपारोस् ।
अहिले बीमा सम्बन्धी कानुन संसदमा पुगेको छ त्यसैले धेरै नभनौं । तर के हो भने बीमा कम्पनीको विस्तर हुँदा नियमनकारी निकाय बलियो हुनुपर्दछ । यसको लागि बलियो कानुन चाहिन्छ । कानुनमात्र प्रयाप्त हुँदैन त्यसको लागि, रेगुलेटरी सिस्टम, त्यहाँका सञ्चालक वा नेतृत्व गर्ने व्यक्ति पनि बलियो हुनुपदर्छ ।
बीमाबारे मैले धेरै कुरा बुझ्दिन , बीमा बारे चेतना कसरी जगाउने, बीमक संगको सम्बन्ध कसरी स्थापना गर्ने, अरु मुलुकमा बीमा संस्था वा पोलिसिलाई कसरी जोड्ने र अरुको जोखिम बहन गरिरहदाँ आफ्नो भार कसरी थेग्ने भन्ने कुरा ख्याल गर्नु पर्छ । यो जोखिम दुई प्रकारको छ एउटा इन्टरनल छ अर्को सिस्टमेटिक । इन्टरनल जोखिम भनेको संस्था भित्रका कमिकमजोरी, रिक्स बहन गर्न नजानेको भन्ने हो । अर्को सिस्टमेटिक रिक्स हो । त्यो भनेको बीमा समितिले हेर्नु पर्दछ । यो हेरिरहदाँ बीमाको दायरामा मात्र होईन बैंकिङको दायरामा पनि हेर्नु पर्दछ । धेरै बीमा कम्पनीका लगानिकर्ताहरुको अन्य व्यवसायमा लगानी हुन्छ । यदि यो कुरा ख्याल गर्न सकिएन भने भोलि सिस्टमेटिक इफेक्ट के पर्न सक्छ भन्नको लागि रिक्स एसिस्मेन्ट गरिनु पर्छ । बैंकिङ क्षेत्रमा यो शुरु भैसकेको छ अब बीमामा पनि त्यो लागु गर्न पर्छ ।
अर्को हामीले संकलन गरेको रकम कहाँ कसरी लगानी गर्न सकिन्छ भन्ने मुख्य कुरा छ । सरकार बैंक, बीमा, वित्तिय संस्थालाई सिस्टमेटिक विकास गर्न चाहान्छ । हामी वित्तिय उपकारण, वित्तिय बजारको बारेमा स्पष्ट छौ । यसमा सानो तिनो सुधार गर्नुपर्ने छ हामी सुधार गर्छौ । मेरो चासो के हो भने लघु बीमाको वृद्धी कसरी गर्न सकिन्छ । १० प्रतिशत पुर्याउन पर्छ भनेका छौ । यो पुगेको छैन यसलाई पुर्याउनु पर्छ । साना किसान, सान मझौला व्यवसाय यसमा जोखिम पनि सानै छ । बीमा ठुला कुरा गरेर के गर्ने ।सानो कुराको पनि बीमा गरौं न । यसले सबैलाई आधार पनि फराकिलो पार्छ । कम्पनीले जति जोखिमलाई बड्यो उति रिक्स कम हुन्छ । फाईनासियल क्राइसिसलाई माईक्रो संस्थाहरुले धान्ने गरेका छन् । दायरा फराकिलो बनाउनको लागि लघुबीमा आवश्यक हुन्छ ।
हामीले बीमकको कुरा अलि बढी सुनेका छौ बिमितको कम सुनेका छौ । बिमितहरुले के भन्नु हुन्छ भने हामीलाई त बण्डलिङमा राखिदिनु भयो । एउटा बीमा पोलिसि लिन खोज्यो भने ६ ओटै लैजाउ भनेर बण्डलिङ गर्ने गरेको गुनासो आइरहेको छ । अनावश्यक सोवा दिन खोजेको भन्ने पनि आएको छ । त्यो अनावश्यक हो कि होईन । यो कुरा हामी दुवै पक्ष संग बसेर छलफल गर्नु पर्ने छ । बीमा गर्दा व्यवसायलाई फाईदा हुने हो कि नगरी फाईदा हुने हो दुवै पक्ष बसेर छलफल गर्नुपर्ने छ । बीमा नगरेकै कारण व्यवसाय जोखिममा पर्नु पनि हुँदैन यी दुबैको बीचबाट सोलुसन निकाल्नु पर्छ ।
(बीमा समितिको ५१ औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री युवराज खतिवडाले दिएको मन्त्यव्यको अंश)
प्रतिक्रिया दिनुहोस्