जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १८:१२

देशैभर क्वारेन्टाइन निर्माणमा जुट्यो सरकार : तोकियो सुरक्षा निकायदेखि हिसान–राखेपसम्मलाई जिम्मेवारी


काठमाडौं, चैत ९ । सरकारले उपत्यकाका तीन जिल्लासहित सात वटै प्रदेश र सवै ७ सय ५३ ओटै स्थानीय तहमा क्वारेन्टाइन बनाउने काम अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २४ घण्टे कार्ययोजना बनाउँदै सवै तहमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिवार बसेको बैठकले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो । समितिको निर्णयअनुसार मन्त्री भट्टराईले आजै बैठक राखेर मुलुकभर एक लाख भन्दा बढी अटने क्वारेन्टाइन निर्माणको योजनासहित कार्यबिभाजन गराउनु भएको हो । कार्यदलले प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउन निर्देशन दिन सिफारिश गरेको छ ।

कार्यदलको निर्णयअनुसार अव प्रत्येक महानगरपालिकाले कम्तिमा दुई हजार क्षमताको, प्रत्येक उपमहानगरपालिकाले कम्तिमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्नुपर्नेछ । यस्तै सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तिमा (हिमाली क्षेत्रको हकमा) ६ सय व्यक्ति, (पहाडी क्षेत्रको हकमा एक हजार व्यक्ति र (तराई क्षेत्रको हकमा) दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरिएको छ । कार्यदलले २४ घण्टाभित्र गर्नैपर्ने आठ निर्णय गरी सोमवार बिहान १० बजे अर्काे बैठक बोलाइएको छ ।

यस्तो छ कार्यदलका आठ निर्णय

निर्णय नं. १

सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्ड (प्रोटोकल) ( को मस्यौदा आजै तयार गरी बेलुका ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने ।

निर्णय नं. २

निर्णय नं. १ बमोजिमको टोलीको प्रतिवेदन÷मस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोत साधन र बजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले गरी भोली सोमवार विहान १० बजे पेश गर्ने ।

निर्णय नं. ३

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा दुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थानसहितको विवरण तयार गरी भोली सोमवार विहान १० बजे पेश गर्ने ।

निर्णय नं. ४

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने विवरण तयार गरी भोली सोमवार विहान १० बजे पेश गर्ने ।

निर्णय नं. ५

प्याब्शन, एनप्याब्शन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तिमा दुई हजार ब्यक्ति क्षमताका होस्टेल र स्कूलको स्थानसहितको विवरण तयार गरी भोली विहान पेश गर्ने ।

निर्णय नं. ६

राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी भोली विहान १० बजे पेश गर्ने ।
निर्णय नं. ७

उल्लिखित निर्णयानुसार नेपाल सरकारले उपत्यकामा कम्तिमा छ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने ।

निर्णय नं. ८

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न देहाय बमोजिम प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिश गरी पेश गर्ने :

(क) प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका

(ख) प्रत्येक महानगरपालिकाले कम्तिमा दुई हजार क्षमताका

(ग) प्रत्येक उपमहानगरपालिकाले कम्तिमा एक हजार क्षमताका

(घ) सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तिमा (हिमाली क्षेत्रको हकमा) ६ सय व्यक्ति (पहाडी क्षेत्रको हकमा एक हजार व्यक्ति र (तराई क्षेत्रको हकमा) दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल ।