जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १३:३२

कोरोनाबिरुद्धको ‘लकडाउन’मा सरकारलाई जनताको साथ : सुनसान देखियो काठमाडौं उपत्यका (फोटोफिचर)


काठमाडौं, चैत ११ । बिश्व्भर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको ‘लकडाउन’को नीति निकै प्रभावकारी हुने देखिएको छ । सरकारको घोषणालाई जनताले पुर्ण साथ दिएको काठमाडौं उपत्यकाको आजको दृष्यले देखाएको छ । जनताटाइम्सले उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंका बिभिन्न स्थानमा गरेको स्थलगत अनुगमनको क्रममा यस्तो दृष्य देखिएको हो ।

उपत्यकाका अधिकांश स्थानमा एकाधबाहेकका मानिसहरु सडकमा नआइ घरमै बसेर सरकारको नीति अनुसरन गरेका छन । सडकमा खटिएका प्रहरी र ट्राफिककै भनाईमा पनि लकडाउन निकैप्रभावकारी देखिएको छ । लकडाउनको पहिलो दिन बिहान मानिसहरु बाहिर निस्के पनि अपरान्हबाट सवै घरमै रहेको पाइएको छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले सहर्ष स्वीकार गरेका हुन ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा आज दिउसोबाट अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन । उपत्यकाको आजको दृष्य लगभग कर्फ्यूको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रुपमा सरकारबाट भएको आदेश हो । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीले माईकिङबाट अनुरोध गरेपछि सवैले साथ दिएको हो ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । आज बिहान ६ बजेदेखि १८ गतेसम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ । सोहीअनुसार सडक सुनसान देखिएको हो ।