जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १२:३०

प्रचण्डकै नाममा प्रधानमन्त्री-मन्त्रीमाथि हमला किन ?


नेत्रप्रसाद नेपाल

आज बिहानै राष्ट्रनायक प्रचण्ड नामक फेसबुक युजरले कहाँ हराए प्रधानमन्त्री ? कहाँ हराए मन्त्री ? भन्ने शीर्षकको एभरेस्ट दैनिक अनलाइन पत्रिकाको समाचार शेयर गरेको देखें । खोतल्दै जाँदा उक्त पत्रिका नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य कमरेड गोकर्ण भट्टले फेक नाम जी भट्टको नाममा सम्पादन गर्नु हुने पत्ता लाग्यो । पार्टीको एउटा जिम्मेवार कमिटीमा बसेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने एउटा नेता पुरै सरकारको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्धमा तर एउटा मन्त्रीको पक्षमा उभिएको देख्दा उहाँको स्तर के हो भनेर खुट्याउन मलाई कठिनाइ भयो । यो कस्तो प्रवृत्ति हो ? हामी पार्टीप्रति सदैव बफादार छौँ रहन्छौं ।

हामी कार्यकर्ता मात्रै हौं, पार्टीबाट कुनै आश नगर्ने आफ्नै स्वाभिमानमा बाँच्ने । तर पार्टी भने पछि मरिहत्ते गर्ने सोझा धन नभएका पाखुरा भए पनि ननिमोठ्ने कार्यकर्ता हौं । हामीलाई हाम्रो सरकारको नेतृत्व, हाम्रो पार्टीको नेतृत्व र नेताहरु प्रति आस्था विश्वास छ । यो तब सम्म रहन्छ, जतिबेलासम्म नेतृत्व सही रहन्छ । यस्ता चाटुकार भाट, दलाल, व्यक्ति रिझाउन जेसुकै हर्कत गर्न तयार हुने कार्यकर्ताबाट मुक्त रहन्छ्न । यस्तालाई दुरुस्साहन गर्छन् ।कमरेड जी भट्ट, तपाईं नेता हामी तपाईंको कार्यकर्ता ल भन्नुस, प्रधानमन्त्री कहाँ हराउनु भयो ? मन्त्री कहाँ हराए ? तपाईं नेता के यस्तो लेखले तपाईंको प्रवृत्ति बारेमा आफै बोल्दैन ? तपाईंमा अलिकति मानवीयता बाँकी छ कि विगतमै सकियो ? तपाईं नेकपाकै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीको कार्यकर्ता हो कि कुनै व्यक्तिको वा बिदेसीको दलाल हो ? यदि तपाईंमा पार्टीप्रति निष्ठा छैन, एकीकरण मन परेको छैन भने पार्टी कमिटीबाट अलग भएर लेख्न मिल्छ ।

होइन भने सरकारले गलत गरेछ भने तपाईंको कमिटीभित्र रहेर छलफल गर्नुस आलोचना गर्नुस । यो संकटको घडिमा तपाईं बसेको पार्टीको अध्यक्षको नेतृत्वमा रहेको सरकारविरुद्ध लेखेर के सन्देश प्रवाह गर्न खोज्नु भएको हो ? कामरेड जी भट्ट अर्थात गोकर्ण भट्टजी पुर्व एमालेले विश्वास गरेर आगामी प्रधानमन्त्री केपी ओली भनेर चुनावमा उतारेको नेता हुनुहुन्छ केपी । उहाँको नेतृत्वमा पुर्व एमालेले अभुतपुर्व सफलता पाएको याहाँलाई विदित नै छ । केपी कमरेड र प्रचण्ड कमरेड मिलेर पार्टी एकिकरण गरेको तपाईंलाई थाह नै छ । यो महान एकीकरण कसैले चाहेर वा नचाहेर भएको होइन । केपी र प्रचण्डले चाहेर भएको हो । तसर्थ दुवै नेताको सहमतिमा केपी पाँच बर्ष प्रधानमन्त्री हुने, पार्टी प्रचण्डले चलाउने सहमति भएको हो ।

अब तपाईं जतिसुकै कराउनुस, पाँच बर्ष केपी नेतृत्वको सरकार चल्छ । तपाईंलाई दुविधा नहोस अनि तपाईंलाई थाहा नै छ प्रधानमन्त्री भर्खरै मिर्गाैला प्रत्यारोपण गरेर डिस्चार्ज हुनुभएको । डिस्चार्ज लगत्तै दक्षिण एसियाली सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा सामेल हुनुभइ सारगर्वित सम्बोधन गर्नु भएको पनि तपाईलाई थाह छ । तपाईंलाई थाहै छ बिरामी अवस्थामा चार चार घण्टा मन्त्रीपरिषद बैठक राखेर कोरोना नियन्त्रण गर्न महत्त्वपूर्ण निर्णय गराउनु भएको । उहाँको निर्देशनमै सरकारले सबै काम गरिरहेको तपाईंलाई थाहा छँदैछ होइन र ? अनि प्रधानमन्त्रीले भर्खरै अप्रेसन गरेको जिर्ण शरिर लिएर कहाँ कहाँ देखुनु पर्ने हो कमरेड ? के के गर्नु थियो ? अर्थात अस्वस्थ शरिर लिएर जताततै हिंडेर तपाईंको मनका कुरा पुरा गर्नुपर्ने थियो ? यदि त्यस्तो कुश्चित मनसायले सोच्नु भएको हो भने साँढेको फलको उखान हुनेकुरा याहाँलाई जानकारी गराउँछु ।

कमरेड तपाईं नेता तपाईंलाई थाहा छ कि छैन सरकारले स्वास्थ्य सामाग्री खरिद गरि ज्वरो आएकाहरुको उपचार गर्न पच्चीस वटा अस्पताललाई दश लाखका दरले पैसा दिएको ? चीनबाट पिपिए, किट्सलगायत ल्यावका लागि चाहिने सामन ल्याउन भोलि शनिवार विशेष विमानको चार्टर गर्न लागेको कुरा पनि तपाईलाई थाह छैन र ? कोरोना बिरुद्धको लडाइँमा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन भत्ता सतप्रतिशत बढाएको, सुरक्षा कर्मीहरुलाइ तलबको ५० प्रतिशत भत्ता व्यवस्था गरेको थाहा छ कमरेड ? बिद्युतबाट खाना पकाउनेहरुलाई २० प्रतिशत महसुल छुट गरेको, व्यापारीहरुलाई उपभोक्ताको घरमा खाद्य सामाग्री पुर्‍याउन पर्ने बाध्यकारी व्यवस्था गरेको, विदेशमा रहने नेपालीको सुरक्षाको, खर्चको र खानाको व्यवस्था गर्न नेपाली दुतावासलाई आदेश दिएको सबै थाहा छ कमरेड ? यो सबै कसले गरेको थाहा छ प्रधानमन्त्रीको निर्देशनमा सरकारका मन्त्रीहरुले गरेको होइन र ? यसमा कुन मन्त्रीले काम गरेन ? तपाईंको आँखाले खानेपानी मन्त्रीले गरेको पाँच ठाउँमा पानी राखेको काम मात्रै देख्नु भयो होइन ?

सरकारले सेना परिचालन गरेर देशैभरी क्वारेन्टाइन निर्माण गरेको थाहा छ तपाईंलाई ? जनतालाई कोरोना संक्रमणबाट जोगाउन लकडाउन गरेको पनि थाहा छ कमरेड तपाईंलाई ? तसर्थ कमरेड भट्ट प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, मन्त्रीहरु पनि यहीँ छन् । स्थानीय सरकार, प्रदेश सरकारले पनि थुप्ररै काम गरेका छन् होलानी होइन ? अनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देशैभर कार्यकर्ता परिचालन हुनुपर्ने हो की होइन ? सत्तरुढ दलका नेता कार्यकर्ता जनतालाई सम्झाउन गाउँ गाउँ टोली बनाएर परिचालन हुनुपर्ने होइन ? यस्तो भएको छ त ? तपाईं रहेको कमिटीले कति काम गर्यो प्रदेश सरकारलाई कति गर्न लगाउनु भयो ? तपाईंले कोरोना विरुद्ध के के गर्नु भयो ? तपाईं अहिले कहाँ हुनुहुन्छ ? कि काठमाडौं मै हुनुहुन्छ ? यो विषम परिस्थितिमा सरकारको खेदो खन्ने काममा पार्टीले तपाईंलाई खटाएको त पक्कै होइन नी ? तपाईंको नजरमा सरकारले केही गरेन हो ? गरेजती खोई लेखेको कमरेड ?

तसर्थ कमरेड तपाईं हाम्रो नेता हुनुहुन्छ भोलि सुदुरपश्चिमबाट उठ्नुपर्ला अनि कसैलाई रिझाउन कसैलाइ खुसी पार्न यत्रो तावेदारी किन गर्नुहुन्छ ? के रामबहादुर थापा, वादल कमरेड, बर्षामान पुन, कमरेड शक्ति वस्नेत कसैले काम नै गरेनन ? विना मगरले मात्रै पाँच ठाउँमा पानी राखिन यही होइन तावेदारी ? कमरेड गोकर्ण भट्ट तपाईंको समाचार पुर्वाग्रही आरोपका लागि आरोप र सरकारलाई असफल देखाउन केन्द्रित छ । यसबाट न तपाईंको न पार्टीको न जनताको न सरकारको कसैको भलो हुन्छ । यसरी राजनीति अगाडि जाँदैन । तपाईं पुर्व एमालेको नेताकार्यकर्ताको नजरमा पनि पुर्व माओवादीका नेताकार्यकर्ताको नजरमा पनि पर्नुस । यसरी होइन समग्रमा पार्टी र सरकारको पक्षमा लेखेर गरेर पर्नुस कसैले आशिर्वाद दिए पनि जनताबाट गिर्नुभयो भने तपाईंको राजनीति समाप्त हुन्छ ।

तसर्थ पार्टीको केन्द्रीय कमिटीलाई खुसी पार्नुस नेतृत्व सबैलाई खुसी पार्नुस आफू मातहतका कार्यकर्ता खुसी बनाउनुस । व्यक्तिको तावेदारी नगर्नुस । व्यक्ति एउटामात्र हुन्छ । नेताले दुखको घडिमा अरुलाई डोर्‍याउने काम गर्ने हो यस्तो भाँड्ने होइन कमरेड तपाई नेता हो नेतृत्व गर्न सिक्नुस । तपाईंको यो तावेदारी गर्ने प्रवृतीले तपाईंको उन्नति प्रगति र भाविदिनलाई राम्रो गर्दैन । यो आजैबाट छोडिदिनुस । तपाईको अहिलेको काम अध्यक्ष प्रचण्डको आड देखाएर अर्का अध्यक्ष ओलीतिर ठोक्ने रहेको देखिन्छ । यो गद्दारी छाडनोस । प्रचण्डको नाममा फेक फेसबुक खोलेर ओलीतिर प्रहार नगर्नाेस । तपाईको यो अभियानले ओली कमरेडलाई त केही गर्न सकिदैन, कमरेड प्रचण्ड र तपाईको मन्त्रीकै सवथोक गुम्नेछ । नेकपाले पनि ठुलै मुल्य चुकाउनु पर्नेछ । तसर्थ सच्चिनोस कमरेड जी भट्ट । कमरेड प्रचण्डले पनि यतातिर ध्यान दिएर कदम चाल्नोस । अन्यथा निकै ढिला हुनेछ ।

(लेखक नेकपा धादिङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ )