Untitled Document

भदौ ३१ बाट सिमरामा रात्रि उडान

बारा, भदौं २५

सफल परीक्षण उडान गरेको चार वर्षपछि बाराको सिमरा विमानस्थलबाट नियमित रात्रि उडान हुने भएको छ । झण्डै दुई वर्षको तयारीपछि ०७१ पुस महिनामा परीक्षण उडानसमेत गरेको विमानस्थलले ढिलै भए पनि यही ३१ भदौदेखि रात्रि उडान सेवा सुरु गर्ने भएको हो ।

देशकै ठूलो औद्योगिक तथा व्यापारिक क्षेत्रमा रहेको सिमरा विमानस्थलमा तयारी भएको चार वर्षपछि अब रात्रि उडान हुने विमानस्थल कार्यालय सिमराले जनाएको छ । २० करोडको लागतमा चार वर्षअघि सिमरा विमानस्थलमा रात्रिकालीन नियमित उडान र अवतरणका लागि भौतिक पूर्वाधारको संरचना तयारी पारिएको थियो । तर, रात्रि उडानका लागि विमानस्थलमा विमान कम्पनीहरूले इच्छा नदेखाएका कारण रात्रि सेवा प्रभावित भएको थियो ।

अर्को साताबाट दिवा उडानको अलावा बुद्ध एयरले सिमरा विमानस्थलमा नियमित तीन वटा रात्रि उडान सेवा सुरु गर्ने भएको छ । हाल बुद्ध एयरले दैनिक ६-७ र नेपाल एयरवेजले एउटा दिवा उडानको सेवा दिँदै आएका छन् । हाललाई यस विमानस्थलमा बुद्ध एयरले नै नियमित रात्रि उडान गर्न सक्ने विमानस्थल कार्यालयका प्रमुख हिराजन काफ्लेले बताए । बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाको केन्द्रविन्दुको रूपमा रहेको यो विमानस्थलमा साँझ ६ः३० देखि राती ८ः२० बजेसम्म उडान हुनेछन् ।

रात्रि उडानको लामो प्रतिक्षा गरिरहेका यस क्षेत्रका उद्योगी, व्यवसायी, भारतीय पर्यटक र सर्वसाधारण समेतलाई रात्रि उडानपछि राजधानी आवतजावत गर्न सहज हुनेछ । यस विमानस्थलमा छिमेकी राष्ट्र भारतको बिहारबाट देशको राजधानी काठमाडौं जाने यात्रुको संख्या पनि बढेको पाइएको छ । काठमाडांैको त्रिभुवन विमानस्थलबाट सबैभन्दा नजिक रहेको यस विमानस्थललाई असहज परिस्थितिमा विकल्पका रूपमा प्रयोग गर्न सकिने हुँदा पनि सिमरा विमानस्थलको रात्रि उडान महत्वपूर्ण मानिएको छ ।

उडानलाई निरन्तरता दिनका लागि एयरपोर्ट मात्र सुविधा सम्पन्न भएर नपुग्ने हुँदा यात्रुहरूलाई गन्तव्यबाट आवतजावतका लागि यातायातका साधनहरू सँगसँगै शान्तिसुरक्षाको उचित प्रबन्ध हुन जरुरी रहेको सिमरा विमानस्थलका प्रबन्धक हिराजन काफ्ले बताए । चाडपर्व नजिकिँदै गरेका वेला यो रात्रि सेवाले यस भेकका जनतालाई यातायातमा थप सहजता आउने देखिन्छ ।

September 10, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *