जनता टाइम्स

१७ असार २०७७, बुधबार १७:०२

स्थायी कमिटी बैठकमा योगेशको निर्णायक हस्तक्षेप


‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस, हामी मन्त्री छोड्न तयार छौं,’ बैठकमा मन्त्री भट्टराईले भन्नुभयो, ‘तपाईंहरू दुई जना अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड) ले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो । संकटमा जहाज हाँक्न नसक्ने भएपछि त आआफ्नो बाटो लाग्नुस ।’

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी एकताबाट भाग्ने छुट नेकपाका कुनैपनि नेतासँग नभएको बताउनु भएको छ ।

स्थायी कमिटी बैठकमा सचिवालयकै नेताहरु आपत्तिजनक आरोप प्रत्यारोपमा उत्रिएपछि असहज बनेको नेकपालाई एकजुट बनाउने भुमिकामा उभिँदै स्थायी कमिटी बैठकमा नेता भट्टराईले बिभाजन नेकपाको सैह्य नहुने आफ्नो निश्कर्ष सुनाउनु भएको हो । मन्त्री भट्टराईले मन्त्री र मुख्यमन्त्रीहरू फेरेर भए पनि पार्टी मिलाएर अघि बढ्नुपर्ने भन्दै पार्टी मिल्छ भने आफूहरू मन्त्री छोड्न तयार रहेको बताउनु भएको स्थायी कमिटीका एक नेताले जनताटाइम्सलाई बताए ।

‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस, हामी मन्त्री छोड्न तयार छौं,’ बैठकमा मन्त्री भट्टराईले भन्नुभयो, ‘तपाईंहरू दुई जना अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड) ले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो । संकटमा जहाज हाँक्न नसक्ने भएपछि त आआफ्नो बाटो लाग्नुस ।’ उहाँले अहिले पार्टी एकताको बाहेक अन्य बिषय सवै गौण रहेको भन्दै इगोको आधारमा बबण्डर मच्चाउने काम स्थायी समितिमा रहेका र सचिवालयमा रहेका नेताहरुले गर्नै नहुने भन्दै एकले अर्काबिरुद्ध परिचालन नभई दुई अध्यक्षबीच सहमति गर्न सुझाउनु भयो । ‘तपाईं अध्यक्षद्वयले पार्टी बाध्यताले मिलाएको हो कि इच्छाले ? बाध्यताले मिलाएको भए त तपाईंहरूका आआफ्ना बाध्यता होलान तर इच्छाले मिलाएको हो भने विवादलाई मिलाएर अघि बढ्नुस,’ भट्टराईको भनाई थियो ।

पछिल्लो समय नेकपाको बिवादमा सहमतिको बाटो अंगाल्नुभएका भट्टराईले स्थायी समिति बैठक रोकेर भएपनि दुई अध्यक्ष छलफलमा बस्न सुझाउनु भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले आजै बिहान गर्नुभएको छलफलमा पनि नेता भट्टराईले नेताहरूले फराकिलो भएर सोच्नुपर्ने सुझाव दिनुभएको थियो । ‘तपाईं पनि गोलघरबाट मृत्युलाई जितेर आउनुभएको हो। प्रचण्डले पनि गोलाबारूद जितेर आउनुभएको हो । धेरै नेता मृत्यु जितेर आएका छन् त्यसैले फराकिलो भएर सोच्नुपर्छ,’ भेटपछि भट्टराईको भनाई थियो । ‘अध्यक्षदेखि सचिवालयमा रहेका सवै नेताहरुले आउने पुस्तालाई सग्लो र सकुशल पार्टी हस्तान्तरण गर्नुपर्छ, यस्मा कुनै इफ बट गर्नुहुँदैन,’ भट्टराईले भन्नुभयो ।

उहाँले अध्यक्षद्वय दुवै मृत्यु जितेर आएको भन्दै इतिहास सम्झेर बिवादको निकास दिन सुझाउनु भयो । ‘मृत्युलाई जितेर आउनु भएको हो ओली र प्रचण्ड दुवै । बिभाजनतिर जाने हो भने दुवै नेताको योग्यतामाथि गम्भीर प्रश्न उठछ । बिभाजनतिर जाने कदम कुनै पनि हालतमा नेकपालाई सैह्य हुँदैन । एकता बाहेक अन्त जाने बाटो छैन, पछाडि फर्कने छुट छैन । एकता अगाडि जानुबाहेक कुनै बिकल्प छैन,’ बैठकपछि भट्टराईले भन्नुभयो ।