जनता टाइम्स

१७ असार २०७७, बुधबार १७:४९

ओली–प्रचण्डमाथि गरिएको त्यो सार्वजनिक अपमान


समाचार टिप्पणी । निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताको निवेदनलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठुलै खैलावैला मच्चियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै बिशेष रुपमा बिषय उठान गर्नुभएपछि एकै पटक यो बिषय चर्चामा आयो । नेकपाका नेताहरुबीच प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै नेकपा एमाले नामको दल दर्ता गराएको आरोप लगाउनसमेत भ्याए । उपाध्यक्ष बामदेव गौतमले त आफूसँग दल दर्तामा ओली संलग्न रहेको प्रमाण छ भन्नसमेत छाडनु भएन ।

बैठकमा पूर्वपार्टीको नामलाई लिएर ओली र प्रचण्डबीच पनि सवाल जवाफ भए । त्यसपछि एमालेको नाममा नेकपाभित्र बबण्डर मच्चियो । प्रचण्डले आफूमाथि आशंका गरेर गम्भीर ढंगबाट कुरा उठाएपछि स्थायी कमिटी बैठकमा ओलीले भन्नुभयो ‘तपाईंले पनि त गोपाल किँरातीको नाममा नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ भनेको कुरा सार्वजनिक भएको छ ।’ निर्वाचन आयोगमा २०७६ भदौं १५ गते दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती नै हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा किँराती पूर्वमाओवादी केन्द्रकै नेता हुनुहुन्छ । उहाँले दल दर्ता गर्दा ओलीलगायत पूर्वएमालेका कुनै नेताले केही बोल्नुभएन । तर प्रचण्ड नेतृत्वको माओवादीका प्रभावशाली नेता तथा पूर्वमन्त्री किराँती नेकपामा नआएर दल दर्ता गर्नुभयो । एक बर्षसम्म दुवै पार्टीको नाम कसैले दर्ता गर्न नसक्ने भएपनि त्यो प्रावधान हटेपछि दर्ता भयो । एमालेको नाममा पनि युवाहरुले निवेदन दिए । त्यो निवेदनसँगै नेकपाभित्र ठुलै बिषय बनेको भोलिपल्ट दुवै पार्टीका नेताले दुई तिहाई नजिक रहेका नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डलाई नै खिसिटुयूरी गरे ।

प्रचण्डलाई मुल नेता मानेर हिडनुभएका किँरातीले आफ्नो पार्टीमा प्रचण्ड आउन चाहे छलफल गर्न सकिन्छ भन्दै मिडियामा उत्रिए भने प्रस्तावित एमालेका महासचिव मनिषकुमार उपाध्यायले ओलीसहितका नेताहरु आउन चाहे स्वागत छ भन्दै प्रतिक्रिया दिए । अर्थात नेकपाले आफैले अनावश्यक महत्व दिँदा इतिहासमै सवैभन्दा शक्तिशाली दलका अध्यक्षलाई नै जनताबीच नामोनिशान नभएका दलका ब्यक्तिले अपमान गर्ने मौका पाए ।

‘माओवादी आन्दोलनमा उहाँहरू फर्केर आउनुहुन्छ भने वैचारिक राजनीतिक क्षेत्रमा गुणात्मक विकास पनि हामीले गरेकै छौं । कानुनी रुपमा नेकपा (माओवादी केन्द्र) हाम्रो अध्यक्षतामा दर्ता भएकै छ । प्रचण्ड फर्केर आउँदा राजनीतिक रुपमा सल्लाह गर्न सकिन्छ,’ किँरातीको भनाइछ । यता प्रस्तावित एमालेका महासचिव मनिषकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओली आए स्वागत गर्ने भन्दै प्रतिक्रिया दिन भ्याउनु भएको छ ।

‘केपी ओली मात्र किन माधव नेपाल, वामदेव गौतमलगायत सबै नेताहरूलाई हाम्रो विचार मन परेर आउनुभयो भने स्वागत नै गर्नेछौं,’ उपाध्यायले भनेका छन । नेकपाको स्थायी कमिटी बैठकमा अनावश्यक आशंका र लाञ्छनाको कारण यी दुवै दलका नेताहरुस्तो भन्ने मौका पाएका छन । नेकपा गठनअघि रहेको दुवै पार्टी जस्ले दर्ता गराए पनि ओली र प्रचण्ड त्यो दुवै पार्टी भन्दा हजारौं गुना बढी ओजका नेता  हुनुहुन्छ । तर भडास पोख्न बैठकमा अनावश्यक चर्चा गर्दा आज उहाँहरुमाथि नै तिनै सून्य सदस्य रहेका पार्टीको पसल खोल्नेहरुले भद्दा मजाकको पात्र बनाउन सफल भएका छन ।

निर्वाचन आयोगमा दर्ता भएको माओवादी केन्द्र र प्रस्तावित नेकपा एमाले नामको दलका नेताहरुको यो अभिब्यक्ति नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डमाथि गरेको सार्वजनिक अपमान हो । प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दीमा लागेको नेकपाका सचिवालय नेताहरुलाई यस बिषयमा चिन्ता छैन । तर आम कार्यकर्ताले यो सार्वजनिक अपमानको बिरुद्ध आवाज उठाउने छन । पार्टीभित्रै एकले अर्कालाई सिध्याउने दुश्मनी खेल रहँदासम्म भने अव यसैगरी नेकपाका सवै नेताहरु सार्वजनिक अपमानको शिकार भइरहनु पर्नेछ ।