जनता टाइम्स

१९ असार २०७७, शुक्रबार ०९:५३

यस्तो घृणित खेल बन्द गर्नाेस कमरेड प्रचण्ड-माधव


एमाले र माओबादीको एकता प्रकृया माथिबाट तल लादिएको अवस्था थियो । पर्याप्त समय हुँदाहुँदै पनि दुई पार्टीबीच बैचारिक, राजनैतिक छ्लफल बिचार, विमर्श कहीँ कतै भएन । एक प्रकारले दुई पार्टीको एकता उल्टो प्रकृयाबाट भएको भन्नू पर्दछ । साङ्गाठानिक पद्धति कस्तो र कुन आकार प्रकारको बनाउने कुनै बहस छलफल भएन । २०७४ असोजबाट चुनाबमा कार्यगत एकता र २०७५ जेठ ३ गतेदेखि पार्टीगत एकताको शुरु गरेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डहरु पार्टी एकीकरण पश्चात् आगामी एकता महाधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली राख्ने निधो गरेका थिए । आउने अधिबेशनलाई समेत एकताको अधिबेशनको रुपमा बिना प्रतिस्पर्धा सहमतीय प्रणाली अपनाउनु पर्नेमा विशेष जोड प्रचण्ड कम्रेडको रह्यो । पार्टी एकीकरणमा प्राप्त हुने ४० प्रतिशत संख्याले आफू जहिले पनि अल्पमतमा पर्ने डरले प्रचण्डले यस्तो प्रस्ताब राख्नमा जोड गर्नु भएको थियो ।

दुबै अध्यक्षको सहमतिमा पार्टीको के कस्ता सम्रचना र कति सदस्यीय, कस्ता कस्ता कमिटी बनाउने भन्ने तय भए । दुबै जनाले आ आफ्ना पार्टीको भागमा परेका सचिबालय, स्थायी कमिटी र केन्द्रीय समितिमा बिभाग र मन्चहरुमा छनौट गर्ने जिम्मा पाए र मनोनयन गरे । बिधान मस्यौदा निर्माणका क्रममा आगामी अधिबेशनसम्मको लागि बहुमत अल्पमतको रुपमा कुनै बिषयबस्तुलाई नलिने र कुनै पनि प्रस्ताब दुबै अध्यक्षकै सहमतिमा उत्पत्ति हुने र निर्णयको प्रमाणिकरण समेतमा दुबैको हस्ताक्षर हुनुपर्ने बैधानिक ब्यबस्था गरियो । बैचारिक रुपमा दुबै पार्टीले लिएको बिचार नै महाधिवेशनसम्म कायम राख्ने र महाधिवेशनको हलले बिचारको निरुपण गर्ने समेत उल्लेख गरिएको थियो ।

शक्तिको हिसाबले लगभग ७ लाख पार्टी सदस्य १२५ जना प्रतिनिधि सभाका सम्सद ३६ राष्ट्रिय सभा सद्स्य र ४५ प्रतिशत स्थानीय निकायका जनप्रतिनिधि भएको एमाले थियो भने लगभग दुई लाख पचास हजार पार्टी सदस्य, ५३ जना प्रतिनिधि सभाका सांसद, १४ राष्ट्रिय सभाका सांसद, १० प्रतिशत स्थानीय जनप्रतिनिधि भएको नेकपा माओबादीकाबीच एकता हुदा ६०/४० प्रतिशतको भागबन्डा गरिएको जगजाहेर नै छ । एकताको लागि दुई पार्टीको शक्तिको हिसाबले बराबर शक्तिको बाँडफाँट भएको भए माओबादी पार्टीको शक्ति १३ वटा समानुपातिक सिट प्राप्त गर्ने र एमालेले ४१ वटा सिट प्राप्त गर्नाले देखिएको शक्तिको बाँडफाँट माओबादीको ३० र एमालेको करिब ७० प्रतिशतले हुन जान्छ । अझ स्थानीय तहको भोट र जनप्रतिनिधिहरुको हिसाब गर्ने हो भने एमालेको ४५ प्रतिशत र माओबादिको १० प्रतिशत सिट र त्यही अनुसार कै भोट समेत प्राप्त गरेका छन । दुइ पार्टी एकताका लागि नेकपा एमाले बढी लचकदार भएको प्रस्टै छ ।

उता एमाले पार्टीभित्र २४ सदस्यीय स्थायी कमिटी २०१ सदस्यीय केन्द्रीय कमिटीभित्र ओली प्रस्ट बहुमतमा थिए । पार्टीमा ओली शक्तिसाली भएको र यो अवधिमा पुर्व महासचिब माधब कुमार नेपाल नबौ महाधिवेशनका प्रतिस्पधीृ र आठौ महाधिबेशनका प्रतिस्पर्धी झलनाथ खनाल आफुहरु कम्जोर भएकोले ओली नेपालको राजनितिमा हाबी हुने र लामो समय एक क्षत्र राज गर्ने चिन्ता बढ्दै गएको अनुभूति हुन थालेको थियो । ओली अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको बैठकमा संसारको ध्यान आकृष्ट गरिरहेको बेला नेपालको संसदमा नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले देशमा ओलीले गरेको कामले प्रसंशा पाउँदा दुखेशो पोखेको सायद संसदको रेकर्डमा अझै भेटाउन सकिन्छ होला ।

‘म पनि २२ महिना प्रधानमन्त्री भएको हु, आफ्नो त खोइ कसैले प्रशंसा गरेन त’ भन्दै ओलीको प्रसंशाप्रति आक्रोश पोखेबाट छर्लङ्ग हुन्छ कि ओली हाल देशको लागि काम गर्न नसकेर होइन । काम गरेकोले बिगतका प्रधानमन्त्रीप्रति अब जनताले औला ठड्याउने डरले ओलीको बहिर्गमनको तानाबाना बुनिरहेका छन भन्ने ओलीलाई मात्र होइन, संसारलाई थाहा छ । आफ्ना एमालेभित्रका बरिष्ठ यस्ता नेताको चरित्र बुझेका ओलीले आफू अल्पमतमा पर्ने गरी एमालेका नेता र माओबादीको नेता जोडेर सचिबालय र स्थायी कमिटी कुनै हालतमा बनाउन चाँहदैनथे होला । दुई पार्टी एकताको संक्रमणकालिन अवस्थामा बहुमत र अल्पमतको खेलले दुई शक्तिशाली कम्युनिस्ट पार्टीबीचको एकतालाई तार्किक निष्कर्षमा पुर्याउन नस्किने भएकोले नै पार्टी बिधानमै दुई अध्यक्ष र ती दुबै नै कार्यकारी अध्यक्ष हुने ब्यबस्था गरिएको थियो ।

एकीकृत भएको नेकपा अहिले शक्तिको हिसाबले देशको सर्वसक्तिमान पार्टी हो । यो पार्टीभित्र हालका एमाले र माओबादी बाहेक यसअघि देशका धेरै कम्युनिस्ट पार्टीको एकताले आजको बलियो कम्युनिस्ट पार्टी भएको हो । नेकपा माओबादी जनताको शक्तिले बलियो भएको बेला कम्रेड प्रचण्डको नेतृत्वकालमा ६,७ चिरा भएर धुजा धुजा भयो । कामरेड माधब नेपालको १५ बर्षे कार्यकालभित्र एमाले फुटेर समनान्तर माले पार्टी बन्यो । तर एमालेको अध्यक्ष केपी ओली भएपछि ७० बर्ष देखिको बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरे भने जनताको ७० बर्ष देखिको आफ्नो सम्बिधान आफै बनाउने चाहनालाई ओलीले नै साकार पारे । आफ्नो कमान्डमा देशमा कम्युनिस्ट पार्टीको एकलौटी सरकार बनाउने लक्षसमेत ओलीको नेतृत्वमा हासिल भयो । आफ्नै कमान्डमा भएको निर्वाचन मार्फत प्रधानमन्त्रीमा प्रस्ताबित ओलीले साच्चै नै देशभित्र नेकपा एमाले मात्र होइन, माओबादीलाई समेत सम्युक्त घोषणा पत्र दिदै देशमा २००६ साल देखिको ठूलो प्रजातान्त्रिक पार्टी भन्दा डबल बढी सिट जित्ने अवसर प्रदान गरे ।

यति बेला पार्टीभित्र काम्रेड प्रचण्डको नेतृत्वमा प्रधानमन्त्री केपि ओलीको राजिनामा मागिएको छ । ओलीको राजिनामा मागिदै गर्दाको बेला भने माग्नेहरुको लागि प्रतिकुल समय ठहरिने भएको छ ।नेपालको भुभागलाई बिगत लामो समयदेखि भारतीय कब्जामा रहेको र बिगतका शासकहरुले नक्सा समेत हटाएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो भुभागलाई समेटेर नक्सा बनाउने र भारतीय फौजलाई हट्न आदेश दिएको र अर्कोतिर अङ्गिकृत नागारिकतालाई ब्यबस्थित गर्न कानुन सम्सोधनको बेला ओलीको राजिनामाभित्र बिदेशिहरुको चलखेल छ भन्ने उनीहरुकै बोलिचालिबाट प्रस्ट हुन्छ ।

नेकपामा पुर्व एमालेभित्र एक प्रकारको किचलो छ । माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतमहरुको गुनासा हुन सक्दछन । ती गुनासाको समाधान वा एक आपसमा पङ्गा लिने काम पुर्व एमालेभित्र मात्र महाधिवेशन अघिसम्मको लागि बैधानिक र ब्यबहारिक ब्यबस्था देख्दा देख्दै प्रचण्डले अर्को अध्यक्षको राजीनामा माग्नु किमार्थ न्याय सङ्गत छैन । यो धोकधडी हो । दुई पार्टी एकताका बाकी काम नटुङ्गिएकै बेला प्रचण्डले अर्को पार्टीबाट पार्टीबाट सम्लग्न अध्यक्षको कसरी राजिनामा माग्ने धृष्टता गर्न सक्दछन ?

ओलीले दुबै पदबाट राजिनामा दिनु पर्दाका कारण आरोप लगाउनेहरुले प्रधानमन्त्रीले जनताको काम बिकास निर्माणका काम गरेका छैनन भनेर राजिनामा मागिएको हैन । अस्ति सरकारको नीति कार्यक्रम र बजेटमा सत्ता पक्षका सबै नेताहरुले बोलेको सार्वजनिक भिडियोहरुबाट प्रस्ट छ कि सरकार एकदम ठिक ढङ्गबाट अघि बढेको छ । कोरोना भाइरसबिरुद्दको लडाइ पनि बढो सचेतनापुर्वक तरिकाले लडिरहेको छ । तर पनि राजिनामा केका लागि ?। आज भोलिका टिभी र भिडियोहरुमा देखिने ओलीबिरोधी गठबन्धनको आरोप छ कि ओलीले सचिबालयका नेतालाई टेरेन, कम्युनिस्ट पार्टीका नेताको ब्यबस्थापन गरेन भन्ने मात्र आरोपले नेपाली जनतासङ्ग के सरोकार राख्दछ ? आफ्ना गुटका मैले भनेका नेतालाई नराखी आफू खुशी नेता मन्त्रीमा राख्यो भन्ने आरोप छ । तथापि आरोप सत्य छैन कि मन्त्रीमा सबै शक्तिकै प्रतिनिधित्व छ । नेपाली जनतालाई कुन गुटको कुन नेता भन्ने सङ्ग कुनै सरोकार छैन ।

ओलीले देखिने गरी यो ढाइ बर्षमा काम पनि गरेका छन । नेपालको भूमि बिगत ४५ बर्षदेखि हराएको नक्सा फेरि जारी गराएका छन । ६० बर्ष देखि कब्जा जमाएर बसेको भारतीय सुरक्षा फौजलाई फिर्ता पठाउन भारत सरकारसङ्ग औपचारिक पत्र पठाएका छन । बिगतमा नेपाललाई गौडा ढुकेर अप्ठ्यारो पार्ने भारतीय नाकाबन्दी अबको दिनमा कहिल्लै हुनै नसक्ने गरी उत्तर तिरबाट पनि समुन्द्रसङ्ग कनेन्टिभिटी बढाउन सक्ने गरी चीन तिरका ५ नाकाहरुमा जोडतोडले काम अघि बढाइरहेका छन । कलकत्तामा रहेको ब्यापारिक बन्दरगाह अब काकडभित्तादेखि ६४ किमि नजिक कालुघाटमा बनाउन शुरु भएको छ । दैलेखमा पेट्रोल ग्यास र नवलपरासी र तनहुमा फलाम खानिको काम अन्तिम चरणमा पुराईदै छ। फास्ट ट्र्याकदेखि दुई ठुला बिमानस्थल र आधा दर्जन डोमेस्टिक बिमानस्थलको काम अघि बढेको छ भने देशको उत्तर दक्षिन र पुर्व पश्चिम रेल लाइनका काम समेत अघि बढेको छ । यो निश्चय पनि ओलीले गरेका समृद्धी हासिल गर्नाका लागि प्रारम्भिक चरणका काम हुन । देश भित्र सुधार गर्नु पर्ने १४ वटा काममा बिश्का मापनयोग्य सुचकांकबाट सुधारका लक्षण हरु देखिन थालिएको बेला प्रधानमन्त्रीको राजीनामा कस्लाइ खुशी बनाउन मागिदै छ ?

सत्ताको लोभ सबैलाई होला तर लोभ लाग्यो भन्दैमा कुन बेला ? कसरी ? किन ? कस्को लागि ? भन्ने कुरा भने प्रस्ट हुनु पर्दछ । दुई मध्य एक अध्यक्षको नाताले प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल उर्फ प्रचन्डलाई नसोधी केही काम भएको छैन र प्रचण्डले आजको मितिसम्म ओलीले एकलौटी गरे भन्ने सुचना कही कसैलाई दिनु भएको छैन । तर प्रचण्डले माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतमको बुई चढेर उनीहरुको महत्वाकांक्षाप्रती खेलेर अर्को अध्यक्षलाई आक्रमण गर्नु किमार्थ राम्रो हुदैन ।

जसरी शान्ति सम्झौतामाथि कम्रेड प्रचण्डले एकलौटी खेलेर जुन घाटा बेहोर्नु परेको थियो । पार्टी एकता सन्दर्भमा पनि खेल्दा त्यस्तै घाटा फेरि नहोला भन्न सकिन्न । शान्ति सम्झौताको एक पाटो नेपाली सेनामाथि आक्रमण गर्दा त्यति बेलाको बहुमतको सरकार ढाल्न जसरी प्रचण्डको कम्जोरी आफैले धेरै चोटी स्विकार गर्नु भएको छ भने फेरि स्विकार गर्ने अवसर पनि प्राप्त नहोला । ७० बर्षदेखि बिभाजित कम्युनिस्ट आन्दोलनलाई बिगार्न जति सजिलो छ, बनाउन अझै कठिन बिषय हो भन्ने बुझ्नु भयो भने मात्र पनि तपाइबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो योगदान हुने छ । काम्रेड प्रचण्ड तपाइको चालढालले नेकपालाई सिध्याउने देखियो । आफै समाप्त हुने यस्तो खेल अव नखेल्नोस ।