जनता टाइम्स

३० असार २०७७, मंगलवार १५:५९

सम्झनामा असार : त्यो लोभलाग्दो चहलपहल अब कहाँ खोज्नु ?


खेतैमा रोप्नु तिम्लाई छुपु छुप कोदो रोप्ने वसेर
कुन दिन आउँछ यमराजको हुकुम लान्छ पाता कसेर
आँपको चानु ढाँटे मरीजानु जान्छ पाता कसेर

जतिवेला बारीमा मकैका पातहरु पानीका थोपाहरुले बज्न थाल्छन अनि खेतीपातीको चटारोले छपप्कै छोप्छ । उसै त किसानहरुका लागि सुनौलो महिला असार । मानो खाएर मुरी उब्जाउने मास । माटोमै जीवन भिजाउने किसानका लागि असार एउटा ठूलो पर्व नै लाग्छ । हामी जस्ता मध्यम वर्गीय परिवारको जीवन आधार नै कृषि हो । असार लाग्नु पहिला नै स्कूल विदा हुन्थ्यो । घरको रोपाई भनेपछि सानैदेखि नै असाध्यै मन प्रफुल्लित हुन्थ्यो ।

हलका हल गोरु, रोपार, बाउसेको चहलपहल, खेतकै गह्रामा पकाइने खाजा असारको विषेशता अरु समय र पर्वसंग तुलना गर्न नै सकिदैन । जब असारको छुट्टी हुने बेला आउँथ्यो । असारको रौनकले मन त्यसै त्यसै हर्षिन्थ्यो । रोपाइमा जव धान रोप्न सक्ने उमेर पुग्यो, तव धान रोप्न दैनिक आलोपालो गरिन्थ्यो । जेठ महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म कुनै दिन खाली नबसी आप्फ्नो र छिमेकीको धान रोपिन्थ्यो । रोपारले गाएको असारे गीतको रन्कोमा बाउसेहरुको सुसेलीको होडबाजी चल्थ्यो भने स्यावैको रन्को खोला पारीसम्म पुग्थ्यो । दिदीवहिनी, दाजुभाई, काका भतिजी सबै एकआपसमा रमाउदै असारे भाखाले खेतहरु उज्याला हुन्थे । हजुर आमा उमेरका रसियामा स्वर तान्थे, फूपु उमेरक हरु असारे गाउँथे, आमा, काकी, दिदीबहिनी असारे ठाडो भाकामा स्वर हाल्थे अनि बाउसेहरु स्यावैमा स्यावै थप्थे । खेतमै १० घण्टा वितेको पत्तै हुदैनथ्यो । असारका भाखालाई अझै मधुरता दिन खेतका कान्लाबाट खसेका पानीका छाँगाहरुको आवाजले स्वाद थपेको महशुस हुन्थ्यो । खेतका गरामा जमाइएको दबदबे हिलोमा धान रोप्दै गरेका रोपारका आँखा छलेर बाउसेले हिलो छ्याप्दा हुने रमाइलोको त कुरै नगरौं ।

उकाली ज्यानको चप्लेटी ढुङ्गा, गलाउँदा गल्दैन,
घरको मान्छे नभिजेसम्म धानै फल्दैन

लखेट्दै लखेट्दै घरका सबै सदस्य भिजाउँदाको रमाइलो अहिले कुन रमाइलो मेलामा पाउन सकिएला र ? असार १५, किसानहरु व्यस्त हुने महिनाको पनि अत्यन्तै महत्वको दिन । रोपाईंमध्य भागमा पुगेको छ । दशौ वर्षदेखि वाँझिएका खेतहरुमा पनि यो वर्ष रोपाइ हुदैछ रे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि लक डाउन भएपछि गाउँ फर्किएका नागरिकहरुले वर्षौदेखिको वाँझो फुटाएको समाचार आइरहेको छ । रोपाईं हुन थाले, वाँझो खेतमा धान रोपिन लाग्यो तर असारलाई विशेष बनाउने हाम्रो मौलिक कला संस्कृति असारे भाका भने आजभोलि गाइन छाडिएको छ । खेत र बारीहरुमा आजभोलि असारे भाका धन्कदैनन अनि खेत खेतमा वेठी बाजाहरु बज्दैनन । बाजा बजाउदै खलो बाध्दैनन्, जेष्ठ नागरिकको गुनासो यस्तै सुनिन्छ ।

रोपाईंको चटारो बढेपनि रोपाइँको अर्को पाटो असारे भाका लोप हुँदै गइरहेको छ । हिलो खेलेर असारे गीत गाउँदै घन्काइने असारेको नेपाली समाजमा छुट्टै स्थान छ । तर यही मौलिकता बोकेको हाम्रो अमूल्य संस्कृति असारे भाका भाखा लोप हुँदै गएको छ । आजका युवामा वढेको विदेशी संस्कृतिको मोह अनि कृषिमा आधुनिकीकरणका कारण हाम्रा परम्परागत लोक संस्कृति सून्यतातिर धकेलिएको महशुस हुने गर्छ । ‘असारमा गाइने ठाडो भाका मात्र रेडियो या टेलिभिजनमा बजेको सुनिन्छ तर विशुद्ध असारे, रसिया, होरी, जस्ता लोक संस्कृति बोकेका असारे गीत कतै सुनिदैन,’असारे भाका पारखी दोलखा सुनखानीकी दुर्गा पाठकको गुनासो छ ।

सायद हामी जस्तो मध्यम वर्गीय परिवार अनि बाल्यकाल र केही युवावस्थासम्म कृषिमा भिज्ने र असारको स्वाद चाख्ने जो कोहीलाई असार भन्नासाथ धानको रोपाईं, रातेमाले, कालेरिठ्ठे गोरुले खेत हिल्याएको, वाउसे र रोपारको छड्के हानाहानको असारले भाकाले झस्काइदिन्छ ।त्यो लोभलाग्दो चहलपहल अबका दिनमा कहाँ खोज्नु र खै ? अझ झमझम पानीमा भिज्दै गरेको उकाली ओराली, असारपनको मीठो स्पर्स कहाँ खपिसक्नु हुन्छ र ? दिन गन्तीले असार १५ को महत्वलाई विशेष भनिए पनि किसानलाई भने सधै असारको १५ नै हुने गर्छ । आज राती पानी नपरे भोलि रोपाईं नहुने चिन्ताले बुबालाई सताउँथ्यो । ६ हल गोरुलाई एकै पटक घाँस, रोपार बाउसे, व्याडे, खाजा पकाउने सहित करिब ६० देखि ७० जनालाई खाजाको जोहो । भाडाको जोहो । आमालाई रातभर सामग्री तयार गर्दै वित्ने गथ्र्यो तर आफूलाई भने कहिले उज्यालो होला र रोपाईमा पुग्नु यस्तै यस्तै मनमा खेलिरहन्थ्यो ।

ओहो ! रातभरको त्यो घनघोर वर्षापछि घरका सवै परिवार खुसी आज सजिलै रोपाई हुने भयो । अनि सुरु हुने रोपाईंको त्यो चहलपहल । बाँझो खेत खनेर धान रोप्न ठिक्क पारिएका खेतका गह्राहरु । रोपार र बाउसेलाई भने समयमानै रोपाई सकेर चौतारामा बसी गीत गाउने चटारो । कुन कुन खेतको रोपाई छिटोसक्ने हतारो र चटारो अनि जस्ले छिटो सक्छ डिलको चौतारामा वसी असारे गाएर ढिलो रोप्नेलाई डाहा चलाउने परिपाटी । कस्तो समय थियो नि बरै कुनै बेला ? यो मनले आफैलाई प्रश्न गरिरहन्छ ? धेरै वर्ष भयो खेती कर्म छाडेको, तर प्रत्येक असारमा मेरा विस्मृत यादहरु एकाएक ताजा भएर आउँछन् । रोपाईं र असारे भाका सबैभन्दा बढी याद आउने गर्छ । अनि आजको जस्तो प्रविधि त्यो समयमा भएको भए मेरी बुढी फूपु हजुरमाले गाउनु भएको रसिया, असारे, ठाडो गीत कति कति रेकर्ड हुन्थ्यो होला ? आज असारमा गाइने ती रसिया गाउने मानिस कतै खोजे पनि पाउन सकिदैन ।

असारको हिलोमा डुवुल्की मार्दै हिलो छ्यापाछ्याप गरेको, हिलो पखाल्न सिरानखेतको कुलोमा डुबुल्की मारेको मेरो बाल्यकाल र केही युवावस्थामा विताएका असारे सम्झनाको पोखरीमा अहिले पनि चुर्लुम्म डुब्न पुग्छु । लाग्छ मौसम र प्रकृतिको नियम उही छ । असार महिना नियमअनुसार घुम्दै फिर्दै उही विशेषता बोकेर आइपुग्छ । झरी, वर्षात, हिलो, किराको ट्यार टयार तर मानव जातिले भने आपना लोक संस्कार र संस्कृति सभ्यता भने फितलो बन्दै गएको छ । मलाइ अझै याद छ म मात्र १२ वर्षको थिएँ । दिनभर परिपक्क रोपार सरह धान रोपेर सबैलाई छक्क बनाएकी थिएँ । सात वर्षमा बालविधवा भएर माइतीघरमै बसेकी निक्कै साहसी मेरी फूपु हजुरमा हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउदै काम गर्न प्रेरणा दिनुहुन्थो । उहाँको पोल्टामा मेरा लागि छुट्टै फेर्ने कपडा बोकिएको हुन्थ्यो । जब म हिलो र पानीले चुलुम्म भिज्थे मेरी फूपुले कपडा निकालेर फेर्न लगाउनु हुन्थ्यो ।

त्यो हिलाम्मे खेत, आकाशबाट झरेको मुसलधारे वर्षा अनि पानी छेक्न बनाइएका घुम ओडेर एक शुरमा धान रोपिरहेका रोपारलाई हिलोको डल्लो भिजाउने बाउसेको साहस । अहिले लाग्छ त्यो याद नै संसारको सम्झनलायक रमाइलो पल । नेपाल कृषि प्रधान देश माटोमा जीवन विताउने किसानलाई माटोको सुगन्ध नै संसारकै मिठो लाग्छ । समय र परिस्थितिले असारलाई नजिकबाट अंगाल्ने मौका त मिलेको छैन तर पनि तिनै अतितका असारका सम्झना नै आज काफी छन । आजका असार सुनसान लाग्छन किन कि कुनै असारे भाका सुनिदैनन् ।

आज पनि झम्के झरी झरेसंगै त्यही असारको सम्झनाले खिचिरहन्छ । मलाई सुनखानी, मेहेले, ज्यामिरे, सिमलचौर, लप्से, निउरे, बाँझो खेतहरुले बोलाईरहेको भान हुन्छ । असारे भाखाको रन्कोमा शिवहरि, काईला, गोकर्ण काकाहरुको स्वावैको गुञ्जायस कानमा गुञ्जिरहेको छ । साइली र कान्छी दिदीको असारे गीतको रन्को अझै ताजा भएर आउँछ । भोलिका दिन यी रसिला भाका कतै खोजे पनि पाइने छैन यदि हामीले आजै नव पुस्तामा यी सीप हस्तान्तरण गर्न नसकेमा ।

हरियो भन्नु तिम्लाई काँचो पात लौ पहेलो वेसार
पानी पनि पर्यो, वर्षात पनि भयो लागेछ नि असार