बीरगञ्ज, मंसिर ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको घोषणा गर्नुभएको छ । नेकपा पर्साका नेता कार्यकर्ताहरुसँगको भेटमा मन्त्री भट्टराईले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए आफू राजीनामा दिन तयार रहेको घोषणा गर्नुभएको हो ।
‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला,’ नेकपा स्थायी कमिटीका सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले भन्नुभयो, ‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।’
मन्त्री भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘लडाईको मुख्य केन्द्र टुप्पीतिर छ, माथिल्लो तहमा अन्तर्विरोध छ, हामीलाई डन्डा हान्ने अधिकार छैन भनेपनि तिम्रो लडाईमा हामी भाग लिँदैनौ है भन्न सकिन्छ । त्यति भन्दा मात्रै पनि पार्टीभित्रको अन्तर्विरोधमा कमी आउँछ, नेतृत्वले अन्तर्विरोधमा कसैले साथ दिएको छैन भन्ने बुझेपछि सहमति, समझदारीको कुरा शुरु गर्न थाल्दछन् ।’
उहाँले पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको बताउनुभयो । ‘नेकपा घरेलु हो, नेपालमा पत्ता लागेको बिउ हो, नेपाली मल र हावापानीमा हुर्केको पार्टी हो । आयातीत मल छैन, जैविक र मौलिक पार्टी हो । नेपाली सीप र प्रविधिले बनेको पार्टी हो । विदेशी सीप वा प्रविधिले बनेको होइन’ उहाँले भन्नुभयो, ‘नेकपामा आयातीतको कुनै असर पर्दैन, यो पार्टी विकास हुने हो वा विनाश हुने पार्टी भित्रैबाट हुने हो ।’
कसैले जोगाउँछु र सक्छु भन्दैमा पार्टी जोगिने र सकिने नहुने भन्दै मन्त्री भट्टराईले थप्नुभयो, ‘हिमालपारीको खुसामदले जोडिने वा मैदान पारीको सक्रियताले टुट्ने पार्टी होइन । फुट्ने कि जुट्ने नेकपाको नेता कार्यकर्ताको हातमा छ ।’ कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन पनि उहाँले आग्रह गर्नुभयो ।
‘नेकपाका प्रत्येक सदस्यसँग दुईवटा हात छ । हातमा पेट्रोल बोक्ने वा पानी ? यो निर्णय कार्यकर्ताले गर्ने हो । अलि–अलि आगो लागेको छ त्यसमा छर्किनुदिनु भो भने ठूलो आगो लाग्छ । त्यसले एकछिन मज्जा आउँछ । उर्जा आउँछ, एकछिनपछि खरानी हुन्छ, तपाई हाम्रो सपना पनि डढ्छ’, उहाँले भन्नुभयो, ‘पानीको जर्किन छ भने पानीले उर्जा र जीवन दुवै दिन्छ । स्थायित्व दिन्छ । पेट्रोल नबोकिदिनुस, पानी बोकिदिनुस्, बोक्न मन छैन भने केही नबोक्नुस् ।’
प्रतिक्रिया दिनुहोस्