इलाम, मंसिर १३ । पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गर्नुभएको छ ।
नेताद्वय खनाल र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आठ करोड रुपैयाँको कार्यक्रम जिल्लाका १० ओटा स्थानीय तहका ५२ योजनामा विनियोजन गर्नुभएको हो । खनालको निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा चार करोड रुपैयाँ वडा संख्याका आधारमा वितरण गरिएको छ । खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई दिनुभएको छ ।
सो नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकालाई १० लाख, माई नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिकालाई ६० लाख, सन्दकपुर गाउँपालिकालाई ६७ लाख र माईजोगमाई गाउँपालिकालाई ६० लाख रुपैयाँ विनियोजन गर्नुभएको छ । खनालको निर्वाचन क्षेत्र नम्बर १ मा ३९ वडा रहेका छन । वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
यस्तै नेता नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार, माई नगरपालिकालाई २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा ४२ वडा रहेका छन । वडा संख्याका आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ । नेताद्वयले समानुपातिक बिकासको अवधारणाअनुसार सवै स्थानीय तहमा बिकास आयोजना छनोट गरी बजेट दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्