१४ मंसिर २०७७, आईतबार ००:००

चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौंमा


काठमाडौं, मंसिर १४

एकदिने नेपाल भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौं आइपुग्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गर्नु भएको थियो । सा अबसरमा परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

केही घण्टाका लागि काठमाडौं आउनुभएका उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ आजै काठमाडौंबाट फिर्ता हुने कार्यक्रम रहेको छ । चीनको राज्य सल्लाहकार, केन्द्रीय सेना आयोगका सदस्य र गणतन्त्र चीनको रक्षामन्त्रीसमेत रहेका फेङहेले धेरै समय सैनिक मुख्यालयमा बिताउनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्नुहुनेछ । रक्षामन्त्री फेङहेको भ्रमणलाई नेपाली सेनाले कार्य भ्रमण भनेको छ । उहाँको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।

नेपाली सेना र चीनको जनमुक्ति सेना (पीएलए) बीच लामो र बलियो सम्बन्ध छ । पीएलएले नेपाली सेनाको आधुनिकरणका लागि सहयोग गर्दै आएको छ । गतवर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा हुँदा नेपाली सेनाका लागि १५० मिलियन आरएमबी (चिनियाँ मुद्रा) सहयोग गरेको थियो ।

चिनियाँ पक्षले पठाउने भनेको सो सामग्री कोरोना महामारीका कारण रोकिएको थियो । चिनका राष्ट्रपति सी चिनफिङपछि रक्षामन्त्री फेङहे दोस्रो वरिष्ठ नेता हो । उहाँको नेतृत्वमा मन्त्रालयका सदस्यहरु, अनुवादक र अन्य महत्वपूर्ण व्यक्तित्वहरु सहभागी भएका छन् ।