१५ मंसिर २०७७, सोमबार ००:००

नाइजेरियामा मानविय क्रुरता : ११० जनाको टाउको काटी हत्या


काठमाडौं, मंसिर १५

नाइजेरियामा एउटा निक्कै ठुलो आतंककारी घटनामा कम्तिमा ११० जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकाशं किसान र माछा मार्नेहरु रहेका छन् ।

आतंककारीहरुले उनिहरुको टाउको काटेर हत्या गरेका थिए । डेली मेलका अनुसार आक्रमणको मुख्य हात त्यहाका आतंकी संगठन बोको हराम रहेको हुन सक्ने बताएको छ । आक्रमणपछि आतंककारीले मृतकका पत्नी र छोरीहरुलाई बन्धक बनाएका थिए । यो घटना नाइजेरियाको बोर्नो राज्यमा भएको र मृतकको आइतवार अन्तिम संस्कार गरेको बताइएको छ ।

एएफपीका अनुसार नाइजेरियास्थित सयुक्त राष्ट्रसंघका को–अर्डिनेटर एडवर्ड कैलनले ११० जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । उहाका अनुसार यो वर्ष निर्दोष नागरिक मारिएको यो सबैभन्दा ठुलो घटना हो । कैलनले हत्यारालाई कारवाही गर्नुपर्ने बताउनु भएको छ ।

उहाले दिनुभएको जानकारीअनुसार हतियारले सजिएका आतंककारी मोटरसाइकलमा आएका थिए । शुरुमा ४३ जनाको शव भेटिएको थियो । तर, शनिबार ७० जनाको शव भेटिएको जनाइएको छ । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले यो आक्रमणबाट पुरा देश नै घाइते भएको प्रतिक्रिया दिनु भएको छ । गत महिनापनि दुई छुट्टा छुट्टै घटनामा बोको हरामले २२ किसानको हत्या गरेका थिए ।