काठमाडौं, पुस ७ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन । चालू चार महिनामा विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना संक्रमणयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो विदेशी विनिमय सञ्चितिले १५.४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।
घट्यो व्यापार घाटा
नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको पहिलो चार महिनाको प्रतिवेदनमा व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ कायम भएको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात १०.८ प्रतिशतले बढेको छ । यो अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो ।
चार महिनामा अलैँची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । कुल निर्यातमध्ये भारतमा हुने निर्यात १४.९ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५९.२ घटेको छ ।
आयातमा कमी
समीक्षा अवधिमा आयात १०.६ प्रतिशतले घटेको छ । यस अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । भारतबाट हुने आयात ३ं१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट हुने आयात पनि १९.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा हेर्दा पेट्रोलियम पदार्थ, हवाई जहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ । चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खानेतेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको देखिन्छ ।
यस अवधीमा अवधिमा खुद सेवा आय १५ अर्ब ६४ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय दुई अर्ब ४९ करोड रुपियाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ९३.१ प्रतिशतले कमी आई एक अर्ब ८८ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । भ्रमण व्यय ६८.६ प्रतिशतले कमी आई आठ अर्ब तीन करोड रुपैयाँ कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय छ अर्ब ८० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ५९ करोड पैयाँ रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्