Untitled Document

नवदुर्गा देवगणको ङालाकेगु जात्रा

भादगाउँ, २ माघ- भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु ९ माछा मार्न दिइने जात्रा गए रातिदेखि शुरु भएको छ ।

सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे सङ्क्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिकादेवी देवतालाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजाअर्चना गरेपछि शुरु भएको हो । सूर्यमढीबाट शुरु गरिएको यो जात्रा क्रमशः भक्तपुर नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । करीब आठ महीनाभित्र भक्तपुर नगरका सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, विलाछँे, खौमा, इताछेँ, बालाखु, तुलाछँे, चोछँे र इच्छुमा नवदुर्गा नाच प्रदर्शन गर्दै ङालाकेगु जात्रा गरिन्छ ।

सो नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, महादेव, गणेश, इन्द्रायणी, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पूजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण हुन्छ । जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरिका रसरङ्गसहित विधिवत् रुपमा नाच प्रदर्शन गरिने परम्परा छ ।

सोहीअनुसार फरक फरक ढङ्गका व्यवहार तथा पञ्चरङ ९रातो, कालो, सेतो, हरियो, पहेँलो० बाट विभिन्न किसिमको नाच प्रस्तुति हुन्छ । देवगणले विभिन्न पहिरन र मुकुण्डो लगाई बाजाका तालमा गीति नाटकका रुपमा नाच प्रदर्शन गर्छ ।

नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज र मतिना नाचसँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् । “यस नवदुर्गाको जात्राले मानव समाजको विकासको सन्देश दिइरहेको पाइन्छ,” इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले भन्नुभयो,“मानव समाजका बारेमा दिशानिर्देशन गराउन यस जात्रा सञ्चालन भएको हुनुपर्छ । ”

पौराणिक किंवदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवि राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको शहरका रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका हुन् ।

जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्ने प्रक्रिया हुन्छ । जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमरी, भटमास, सम्येबजी, मासुको परिकार, गेडागुडी, दहीचिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिका रुपमा हाँस, कुखुरा, राँगो, बोका र भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिका रुपमा सुङ्गुर लखेटेर ९बां लिकेगु० जात्रा मनाउने चलन पनि छ ।

नवदुर्गा देवगणलाई प्रसाद ग्रहण ९द्यो ब्वेकेगु० कार्य गर्दा आफ्नो सन्तान निरोग हुने, गरेको काम सफल हुनाको साथै कुल स्थिर हुने जनविश्वास छ । आफ्नो दीनदशा बिग्रेको बेला नवदुर्गाको दहीचिउरा, पञ्चरङ्गी धागो, मूलपात्रको जल, मोहनी ९कालो टीका० ग्रहण गर्दा बिघ्न बाधा हट्नाको साथै निरोग हुनेु विश्वास रहेको पाइन्छ ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका त्रासबाटमुक्त हुने जनश्रुति रहेको पाइन्छ । जात्रा सञ्चालन र नाचका बारेमा कुनै लिपिबद्ध लेख रचना नभएको कारण नयाँ पुस्तामा जात्रा हस्तान्तरण गर्दा समस्या आउने गरेको देवगणका नाइके बताउँछन् । भक्तपुरको कला, संस्कृति र जनजीवनसँग जोडिएको यो नाचलाई निरन्तरता दिन आर्थिकलगायत समस्या रहेको उनीहरु बताउँछन् ।

January 16, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *