Untitled Document

अतिवादी भद्दा अनशनको निर्मम अन्त्य हुन जरुरी छ

सिवी कार्की


स्वास्थ्यकर्मी र बिरामी भनेका एउटै सिक्काको दुई पाटा हुन् भन्दा फरक नपर्ला । स्वास्थ्यकर्मीलाई आफ्नो पेशा ब्यवसाय, सेवाको गुणस्तर जिउँका तिउँ कायम राख्नका लागि रोगी बिरामी पहिलो अनिवार्य शर्त हो ।

स्वास्थ्यकर्मीहरू बिरामीहरूको सेवामा अनवरत लाग्छन् । बिरामी बिनाको स्वास्थ्यसेवा प्रायः असम्भव छ। स्वास्थ्यकर्मीबिना बिरामीको उपचार अधुरो हुनसक्छ । मेडिकल साईन्सले दिएको स्ट्यान्डर्ड प्रोटोकलको आधारमा कतिपय रोग पुर्ण निदान हुने, आंशिक निदान हुने, निदान हुँदै नहुने तथा रोग पत्तै नलाग्ने वा पर्ख र हेरको अवस्थामा रहने हुन्छन् ।

स्वास्थ्यकर्मीहरूको न्युनतम योग्यता र सर्त भनेको नै चिकित्सकीय धर्मभित्र रहेर मेडिकल साईन्सले दिएको स्ट्यान्डर्ड प्रोटोकलको गाईडलाईन्स अनुसार बिरामीको पवित्र सेवा गर्नु नै हो । जसका लागि बिरामीले आफ्नो जिउँदो शरीर स्वास्थ्यकर्मीको टेबुलमा राखिदिने गर्छ। परिणाम बिरामीहरूको पक्षमा आउन पनि सक्छ, नआउन पनि सक्छ तर स्वास्थ्यकर्मीले उक्त बिरामीबाट ज्ञान, सिप, अनुभवसहित आर्थिकोपार्जन समेत गर्दछ। सच्याई यही हो।

स्वास्थ्यकर्मीहरू निश्चित अनुशासनमा रहेर बिरामीको सेवा गरेनन् भने स्वास्थ्यकर्मीमाथि बिरामीको बिश्वास नहुने मात्र होईन, बिरामीले वा उसको मानिसले प्रतिवाद समेत गर्ने अवस्थामा पुग्दछन्। स्वास्थ्यकर्मी भनेका बिरामीका प्रमथ नजिकका सेवक हुनपर्छ। बिरामी र स्वास्थ्यकर्मीबीच सौहार्द सम्बन्ध हुन जरुरी छ, नकि प्रतिस्पर्धि वा रिसिईबी वा हेलचेक्रयाई वा लापरबाही वा धोकाघडी।

सेवामा सरलिकरण हुनैपर्छ । बिरामीले पनि स्वास्थ्यकर्मीलाई हरतरहबाट सहयोग गर्नैपर्छ ।
यो देशमा सामान्यतः नरमकरम सुटदेखि बुटसम्मका सबै पेशा ब्यबसायका मानिसले हड्ताल र आन्दोलन गर्छन् ।अब हामी आफैं छातीमा हात राखेर भनौं यो देशमा रिति स्थिति, निति कहाँनेर छ ? देश धनी बनाउने भनिएकाहरू आफैं धनी हुन केन्द्रीत छन् ।

रातो बत्ती बलेको बेला जेब्रा क्रसिङमा गाडी नरोकि जानू भनेको पैदल यात्रुको ज्यान जोखिममा पार्नु हो। ज्यान मार्ने मनसाय नै हो भनेजस्तै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा हड्ताल गरेर जिवनमरणको दोसाँधमा आएका बिरामीको उपचारमा बाधा गर्नु गराउनु भनेको ज्यान मार्नु सरह नै हो भन्दा फरक नपर्ला । चिकित्सा शिक्षाका बिद्यार्थीको बलमा अनशनमा रहनेहरूले चिकित्सा शिक्षाको बिकासको पक्षपाती हुने नाममा दलाल चिकित्सा शिक्षाको पक्षपोषण गरिरहेका पो छन् कि भन्ने आशँका छ।अनशनकारी आफैंले मानवअधिकारको घोर उल्लंघन गरिरहेको अवस्था छ। बिरामीको बाँच्ने अधिकारमाथि फलामे बार बनिरहेको अवस्था छ।

राज्यको कानुन नमान्ने सुकिलो अराजक बनिरहेको अवस्था छ। सुट टाईमा सजिएको सुकुम्बासी भईरहेको अवस्थामा आफुलाई दर्ज गरिरहेको अवस्था छ। भारतीय ढोँगी धार्मिक रामरहिमको झल्को दिएको अवस्था छ। पढेको मुर्खको अवस्थामा आफुलाई प्रस्तुत गरिरहेको छ। लोकतन्त्र बिरोधीको बिल्ला भिरिरहेको अवस्था छ। बार्षिक १० अर्वको हाराहारीमा चिकित्सा शिक्षाको नाममा नेपाली रूपैयाँ बिदेशिएको तथ्यांकलाई नजरअन्दाज गरिरहेको अवस्थामा आफुलाई उभ्याएको अवस्था छ। मालप्रक्टिस गर्नेहरूको खम्बा अनशनकारी बनिरहेको अवस्था छ। स्वास्थ्यकर्मीलाई बद्नाम गर्ने र गराउने अवस्था पनि श्रृजना भएको छ। जसले थप जटिलता ननिम्त्याउला भन्न सकिन्न । सरोकारवाला सबैले बेलैमा चनाखो हुनु जरुरी छ।

बिरामीको हक हित र अधिकारका हिसाबले अनशनकारी स्वास्थ्यकर्मीहरू अपराधी जस्तै कहलिएको अवस्था छ। शुरूकालदेखि नै बिबादास्पद रहेको चिकित्सा शिक्षा विधेयक बिबादै बिबादका बीच संघीय संसदले पुर्णरूपले पारित गरिसकेको आजको अवस्थामा बिरामीको हक हित र अधिकारको हिसाबले खासै उत्साहित हुनुपर्नेवाला छैन । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मिले बिरामीलाई पैसा पकाउने भाँडाकुँडा वा पैसा काट्ने टक्सार बिभाग निरन्तर बनाउने नै छन् ।बिरामीको पक्षमा राज्यको उपस्थिति त्यति देखिदैन ।

पैसा कमाउनकै लागि दलकै नेता कार्यकर्ता हर्ताकर्ता भएको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट बिरामीको अधिकार सहित सुलभ स्वास्थ्य सेवा पाउन प्रायः असंभव छ।अधिकाँश स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले बिरामीको रगत,खकार,एक्सरे , औषधि कम्पनी तथा दिसापिसाबको परीक्षणबाट कमिशन खान्छन् ।जसको आर्थिक भार रोगी बिरामीले नै धान्नुपरेको वा खेप्नुपरेको छ।

अन्त्यमा, केही अमुर्त नामका मेडिकल कलेजलाई संबन्धन नदिने नदिलाउने भित्रि मनसायका साथ शुरू गरिएको गराईएको , गरीब देशका जनताको पैसाबाट तलब भत्ता खाएर अनशन बस्ने अराजक अनशनकारी र निरङ्कुश तथा हिटलरवादी अनशनकारीलाई अनशन बसाई मर्न उक्साउने बुज्रुकहरूका बिरूद्द तथा त्रिबिबि शिक्षण अस्पतालका प्रशासन प्रमुख समेतका बिरूद्व राज्यले कानुनी कारबाही अगाडि किन नबढाउने ? भन्ने प्रश्नले आम नागरिकको ध्यानाकर्षण गराएको छ।

अनशनमा संलग्न रहेकालाई खराब आचरणको स्वास्थ्यकर्मी भनी कैफियत जनाई अभिलेख राज्यले राख्नु जरुरी छ। ताकि आगामी दिनमा हुने सरूवा,बढुवा तथा विदेशमा कार्य गर्न जानका लागि समेत चाहिने पुलिस रिपोर्ट कैफियतयुक्त बनोस्।राज्य एक स्टेप अगाडी गईसकेकोले जुस ख्वाएर अनशन तोडाउन आउला नआउला तर अनशनकारीका कारण क्षति भएको स्वास्थ्यकर्मीको बचेखुचेको साख बचाउन आफैं अनशन नतोड्ने हो भने समाजले आगामी दिनमा नयाँ निकास नखोज्ला भन्न सकिदैन ।

(लेखक कार्की ख्यातीप्राप्त चिकित्शक स्वर्गीय डा उपेन्द्र देवकोटा का अति निकटका सहयोगी हुन)

February 1, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *