Untitled Document

सन्तोषजनक छैन सञ्चार क्षेत्रमा महिला सहभागिता

निरु गौतम/रुपन्देही

नेपालमा महिलाले पत्रिका सम्पादन गरेको ६७ बर्ष बित्यो । तर अहिले पनि अवस्था उस्तै छ । विसं २००८ मा प्रकाशित ‘महिला’ मासिक पत्रिकाको सम्पादन महिलाबाट भयो र नेपालको पत्रकारितामा महिला सहभागिता पनि यहीँबाट शुरु भयो ।

सहाना प्रधान र कामाक्षा देवी मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । नेपालको सञ्चार क्षेत्रमा महिला सहभागिताको इतिहास त्यति लामो छैन । विसं २०७५ सम्म आइपुग्दा पत्रकारितामा महिला सहभागिता बढ्दै गए पनि त्यो सन्तोषजनक भने छैन ।

नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार देशभर कार्यरत १३ हजार ५० जना पत्रकारमध्ये दुई हजार ३५४ जना मात्रै महिला छन् । सञ्चार संस्थाको नेतृत्व तहमा महिलाको सहभागिता अत्यन्तै न्यून छ । सञ्चारसँग सम्बन्धित सङ्घसंस्थामा समेत महिलाको सहभागिता कम छ । महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेशागत सुरक्षाका कारणले पनि पत्रकारितामा महिला सहभागितालाई प्रभाव पारेको वरिष्ठ पत्रकारहरु बताउँछन् ।

“नेतृत्व भन्ने एकैपटक जन्मिने कुरा होइन,” वरिष्ठ पत्रकार बबिता बस्नेतले भन्नुभयो, “पत्रकारितामा महिला नेतृत्वको कुरा गर्दा आर्थिक र दोहोरो कामको बोझ नै प्रमुख चुनौतीका रुपमा देखापर्छ ।” पत्रकारिता क्षेत्रमा आर्थिक पक्ष सबल छैन । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन जसका कारण सञ्चार क्षेत्रमा स्थापित महिलाहरुसमेत यस पेशाबाट पलायन भइरहेका छन् ।

सञ्चारिका समूहको अध्ययनले नेपालका सञ्चारमाध्यममा २५ प्रतिशत महिला सहभागिता देखाउँछ । तथ्याङ्क केलाउँदा सञ्चार संस्थाको निर्णायक पदमा महिलाको सङ्ख्या निकै निराशाजनक देखिएको बताउनुहुन्छ सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित । “समाजले महिलालाई सञ्चार संस्थाको सम्पादक तहमा देख्न चाहेको छ तर, त्यो हुन सकेको छैन,” पण्डितले भन्नुभयो, “यसका लागि आमसञ्चार नीति कार्यान्वयन हुन जरुरी छ ।” अधिकाँश सञ्चार गृहमा लैङ्गिक नीति नभएका कारण सञ्चारमा महिलालाई टिक्न गाह्रो भएको उहाँको बुझाइ छ ।

नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार प्रदेश १ मा २८७ जना पत्रकार महिला छन् । त्यस्तै, प्रदेश २ मा १११, प्रदेश ३ मा २८०, प्रदेश ४ मा १८६ सदस्य छन् । यसैगरी, प्रदेश ५ मा ३३०, प्रदेश ६ मा ११३ जना र प्रदेश ७ मा १२० जना पत्रकार महिला छन् ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । यही प्रावधान मुताबिक सरकारी कामकाजमा लोकसेवा आयोगले आरक्षण कोटाबाट भए पनि महिलाको सङ्ख्या पूर्ति गरिरहेको छ । तर, समान सहभागिता र समावेशिताको वकालत गर्ने सञ्चारमाध्यमले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कुनै बहस गरेको पाइँदैन ।

नेपालमा व्यावसायिक पत्रकारिता फस्टाउन नसक्दा महिलाको सङ्ख्या कम भएको वरिष्ठ पत्रकार निर्मला शर्मा बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ,“पितृसतात्मक सोचका कारण महिलालाई नेतृत्व तहमा पुग्न पनि दिइँदैन । यसका लागि सोंच मै परिवर्तन जरुरी छ ।” सञ्चारमा महिला सहभागिता बढाउन पारिश्रमिक ऐन परिवर्तन गर्नुपर्ने उहाँको सुझाब छ ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा सञ्चारमा महिला सहभागिता हुनु आवश्यक छ । यसका लागि राज्यले बलियो नीति बनाएर कार्यान्वयनमा लानुपर्ने क्रियाशील महिला पत्रकार समूहका अध्यक्ष अम्बिका राजथलाको धारणा छ ।

पत्रकारिता क्षेत्र महिलाका लागि चुनौती र अवसर दुबै हो । चुनौती पार गर्दै यो क्षेत्रमा निरन्तर खटेर काम गर्नेहरु सफल भएका छन् । पत्रकार संगीता खड्का भन्नुहुन्छ,“चुनौतीपूर्ण पेशा भए पनि पत्रकारितामा महिलाको आकर्षण बढेको छ । यसले समाज रुपान्तरणमा मद्दत पुगेको छ ।”

सञ्चारमा सहभागिता बढाउन पत्रकार महिलाहरुको भौतिक र पेशागत सुरक्षा जरुरी हुन्छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन भन्नुहुन्छ, “पत्रकारहरुको सुरक्षाको दायित्व राज्यको हो । त्यसका लागि विशेष नीति निर्माण गर्न आवश्यक छ । सञ्चारसम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व हुनुपर्छ ।”

सञ्चारिका समूहले नेपालभरिका ९०७ सञ्चार गृहमा गरेको अध्ययनअनुसार राजधानीका विभिन्न सञ्चारमाध्यममा २१ प्रतिशत पत्रकार महिला कार्यरत छन् । मोफसलमा २६ प्रतिशत महिला पत्रकार छन् । महिला पत्रकार र सञ्चारकर्मीमध्ये धेरैजसो रेडियोमा कार्यरत रहेको अध्ययनले देखाएको छ । तथ्याङ्कलाई केलाउँदा निर्णायक तहमा पुग्ने महिलाको सङ्ख्या निकै निराशाजनक देखापर्छ ।

मुलुकभरिको अवस्था हेर्दा ४१ प्रधान सम्पादकमध्ये २.४ प्रतिशत मात्रै महिला रहेको भेटिन्छ । यस्तै, ४७ जना कार्यकारी सम्पादकमध्ये ४.३ प्रतिशत महिला छन् भने ७७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला छन् । अधिकाँश सञ्चार गृहसँग स्पष्ट लैङ्गिक नीति नभएको सञ्चारिका समूहको अध्ययनले देखाएको छ ।

नेपाली सञ्चारमाध्यममा स्वामित्व, विषयवस्तु र भौतिक उपस्थितिको दृष्टिकोणले महिलाको बाक्लो उपस्थिति हुन सकेको छैन । लैङ्गिक असमानता र पत्रकार महिलाप्रतिको दृष्टिकोणका कारण समस्या छ भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य ।

सञ्चारमा महिला सहभागिता बढाउन र नेतृत्व तहमा समेत महिलालाई पुर्याउन महासङ्घले पहल गरेको अध्यक्ष आचार्यको भनाइ छ । “सञ्चारमा महिलाको गुणात्मक वृद्धि हुनुपर्छ भनेर महासङ्घले बहस थालेको छ जसअनुरुप चितवनमा पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न गर्यौं,” उहाँले भन्नुुभयो ।

सञ्चारमाध्यममा काम गर्न महिला–मैत्री वातावरण नभएको अधिकाँश महिला पत्रकारको गुनासो छ । “सञ्चार संस्था महिला–मैत्री नहुँदा विवाहित महिला पेशाबाटै पलायन हुनुपर्छ,,” नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष दीपा घर्तिले भन्नुभयो, “सञ्चारमा महिलाको सम्मानजनक सहभागिताका लागि समान व्यवहार, उचित पारिश्रमिक र महिलामैत्री वातावरण चाहिन्छ ।”

भूगोलका हिसाबले दुर्गम क्षेत्र मानिएका जिल्लामा पत्रकारिता गर्ने महिलाको पीडा अन्य क्षेत्रको तुलनामा बढी छ । दुर्गम क्षेत्रमा समाचार सङ्कलनका लागि जानु पर्दा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । दुई-तीन दिन बास बस्नुपर्दा महिलाले सुरक्षा चुनौतीको सामना गर्नुपर्छ भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्य ।

अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रको नेतृत्व तहमा महिला भएनन् भनेर महिलाहरुले मात्रै आवाज उठाएर परिवर्तन सम्भव छैन । यो सवालमा सञ्चार क्षेत्रका अगुवाहरु सबैले आवाज उठाउने मात्र हैन सोही अनुरुप व्यवहारमै लागू हुने गरी काम गर्न पनि आवश्यक रहेको पत्रकार महिलाहरु औँल्याउँछन् । रासस

February 10, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *