Untitled Document

स्मृतिमा रवीन्द्र अधिकारी : यसरी छर्दै थिए समृद्धिको बीउ

कृष्णमुरारी भण्डारी

समृद्ध नेपालको बहस चलिरहेको बेला रवीन्द्र अधिकारी पुस्तक लिएर आउनुभएको थियो । जसको पुस्तकको बारेमा यो आलेख तयार पारिएको थियो । अब ती युवा नेता रवीन्द्र अधिकारी हामीबीच रहनुभएन । उहाँको सम्झना मात्र बाँकी छ । ०७५ फागुन १५ गते बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उहाँको मृत्यु भयो । देश विकासको साझा हाइवेमा हुइकिनुभएका रवीन्द्र अकस्मात् बुधबार बिलाउनुभयो तर उहाँले छोडेको बीउ रहिरहेको छ । उहाँले लेखेको पुस्तक समृद्ध नेपालको एक बीउ हो ।

रवीन्द्रले लेखेको पुस्तकबारे तीन वर्षअघि प्रकाशित यो लेखले उहाँको सपनालाई आत्मसात् गर्नेहरूका लागि उहाँको विचार र उहाँले देखेको सपनाबारेमा जानकारी दिने भएकोले सामान्य संशोधनसहित पुनः प्रकाशित गरिएको छ ।

सुनौलो आवरणमा युवानेता रवीन्द्र अधिकारीको ‘समृद्ध नेपाल’ नामक पुस्तक बजारमा आएको छ । रवीन्द्र अधिकारी चिनाइरहनु पर्ने नाम होइन, गणतन्त्र अभियानको आन्दोलनमा स्थापित नाम हो यो । राजाको निरङ्कुशकाल र ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा राजा आफैँ प्रधानमन्त्री बनेका थिए । जनताका नेताहरू नै बोल्न त्रसित भएको बेला थियो । इहलीला समाप्त पारिदिन्छ भन्ने ठानेर उनीहरू चुप लागेको समय थियो त्यो ।

पारसले गरेको हत्या, ज्यादती र कुकृत्यविरुद्ध लाखौँ परिवर्तनकामी जनताको हस्ताक्षर सङ्कलनको पुलिन्दा बोकेको ठेलागाडा रवीन्द्र अधिकारीको नेतृत्वमा दरबारभित्र हुलियो । अदम्य साहस प्रदर्शन रवीन्द्र र उहाँका साथीहरूले गरे । उहाँ नै गणतान्त्रिक आन्दोलनमा फेरि स्थापित हुनुभयो । संविधानसभा निर्वाचनमा जनप्रतिनिधिको रूपमा लगातार निर्वाचित हुनुभयो ।

पुस्तकको अन्तिम पृष्ठमा दिइएको लेखकको जन्म जानकारीअनुसार उहाँ हजुर बाबु र नाति पुस्ताबीचको उमेर समूहमा पर्नुहुन्छ, जो संवाद गर्न र आफ्नो अडान राख्न हच्किनुहुन्न । उहाँ भाषण पनि गर्नुहुन्छ तर पुस्तक लेख्नु र भाषणवाजी तथा पत्रपत्रिकामा लेख्नु नितान्त फरक कुरा हो ।

लेख, आलेख, भाषण, टिप्पणी तत्कालको सन्तुलन मिलाउने गरी एकछिनका लागि र एउटा मञ्च वा एउटा अखबारमा एकपटकका लागि आउँछ तर किताब फरकफरक समय, संवाद, पृष्ठभूमिमा लेखिएको अन्तरसंवादको पत्रैपत्र हो । पुस्तक छापिनु भनेको विचार पस्कनु हो जसमा लेखकले आफ्नो सिङ्गो पुस्ता समयलाई प्रतिनिधित्व गरेको हुन्छ ।

यो पुस्तक सैद्धान्तिक आधार नपुगेको र ‘इम्पिरिकल रिसर्च’ गरेर आएको होइन । विचार, संस्मरण, डायरी लेखन, यात्रा वर्णन र कार्यक्रममा एक विषयमा गरिएको अन्तरसंवाद र क्रियाको रूपमा आएको छ । त्यसैले यो पुस्तकले धेरै कुरा ल्याएको छ । नलेखी हुँदैन भनी लेखिएको पुस्तक हो यो । त्यसैले यसले ऐनाको काम गर्छ, जुन एउटा लेखले गर्न सक्दैनथ्यो । अभियान, आन्दोलन, पुस्ता, अभिमत र विद्रोह हो -रवीन्द्र अधिकारी ।

पुस्तकको भूमिका लेख्नुभएको छ मूर्धन्य बुद्धिजीवी प्रा।डा। पीताम्बर शर्माले । उहाँले भन्नुभएको छ, ‘लेखकले यो पुस्तक आमपाठकलाई ध्यानमा राखेर लेखिएको प्रतीत हुन्छ । यसबाट उनको वैचारिक धरातल उजागर हुँदैन । उनी व्यवहारवादीका रूपमा बढी प्रस्तुत भएका छन् । ’ डा शर्माको टिप्पणीबाट नै छर्लङ्ग हुन्छ, दलीय राजनीतिको दलदलमा होइन, देश विकासको साझा ‘हाइवे’ मा रवीन्द्र हुइँकिनुभएको छ । पुस्तक अत्यन्त समसामयिक छ ।

सिङ्गापुरका ली क्वान यु, मलेसियाका महाथिर मोहमद, बिहारका नितिश कुमार, दक्षिण कोरियाका पार्क चुड। ही अथवा कुनै बेलाको महेन्द्रपथमार्गी भनेर पनि लेखकको आलोचना हुनसक्छ तर उहाँमाथि यस्तो आरोप लगाउँदा अन्याय हुन्छ । रवीन्द्र कसैको पुच्छर होइन । उहाँलाई लागेका कुरा ल्याउन उहाँ अहिले मात्र होइन, विगतदेखि नै हक्की हुनुहुन्छ ।

एउटा जनप्रतिनिधि, मुलुकको समसामयिक विषयमा लेखिरहन्थ्यो । भनिरहन्थ्यो । संवाद गरिरहन्थ्यो । आफ्ना कुरा राखेर जहिले पनि जहाँ पनि जबर्जस्ती ‘स्पेस’ खोजी रहन्थ्यो । अहिले तिनै कुरा जम्मा गरेर पुस्तक नै प्रकाशित गर्नु लरतरो काम होइन । उहाँका विचार र दृष्टिकोण पुस्तकाकार रूपमा सार्वजनिक भएपछि अरू युवालाई अझ राम्रा विचारहरू खोज्न र पस्कन उत्प्रेरित गरेको छ । नकारात्मक टीकाटिप्पणी गरिरहने र त्यसैमा रमाइरहने, ईष्र्या, डाह र पाप चिताउनेलाई यो पुस्तकको सामग्री बलियो झापु हो । समृद्ध नेपाल चार खण्डमा विभाजित छ ।

पहिलो खण्डमा नाकाबन्दी र भूकम्पको सेरोफेरो छ । जसभित्र तीन उपशीर्षक छन् – परनिर्भर, अन्तरनिर्भर र आत्मनिर्भर, भूकम्पः विपत्तिबाट सिक्ने अवसर र नवनिर्वाण, भूउपयोग र बस्ती विकास । यी तीनै शीर्षकबारे समाजमा देशव्यापी बहस चलिरहेको छ र यति नै बेला पुस्तक प्रकाशित भएकोले यसले छलफलमा सीधै प्रवेश पाउने देखिन्छ । पुस्तकको दोस्रो खण्डमा विकासबारे छलफल गरिएको छ ।

विकास : कस्तो, कसका लागि र कसले ? विकास ढिला भइसक्यो, समृद्ध नेपाल तर कसको ? दिगो विकासको मोडल, विकासका लागि ‘थिंक ट्याँक’ जस्ता उपशीर्षकमा छलफलले गम्भीर कुरा उठाएको छ । लेखक स्वयम् संसद्को विकास समितिका सभापति पनि भएकाले उक्त समितिमा उठाएका कुरा पनि उहाँले लिपिबद्ध गर्नुभएको छ ।

पुस्तकको तेस्रो खण्डमा विकासका पूर्वाधारबारे चर्चा गरिएको छ । जलविद्युत् विकासको मार्गचित्र, किन हुन सकेन कृषि क्षेत्रको विकास रु पर्यटन : स्थिति र सम्भावना, सूचना प्रविधिको वैज्ञानिक युग, ‘फाष्ट ट्रयाकः चुनौती र सम्भावना, सामाजिक आर्थिक रूपान्तरणका लागि उद्यमशीलता, औद्योगिक विकास र विदेशी लगानी उपशीर्षक रहेका छन् ।

चौंथो खण्डमा देशान्तर र विचारबारे चर्चा गरिएको छ । यसमा अरूबाट कसरी सिक्ने र के सिक्ने भनेर खोजी र पहिचान गरिएको छ । यसै खण्डमा विकासका आँखाबाट नेपाल– भारत सम्बन्धलाई हेरिएको छ ।

एशियामा उद्यमशीलता, कोरियाको फड्को, पुँजीवाद समाजवाद र आर्थिक विकास, एक्काइसौँ शदी, कान्छो पुस्ता र आन्दोलन तथा गरिबी र विकासः कर्णालीको सन्दर्भबारे चिन्तन मनन र खोजखबर गरिएको छ । लेखकले पुस्तकलाई जीवन्त र रोचक बनाउन मात्र होइन समसामयिक बनाउन पनि मिहिनेत गरेको देखिन्छ । समृद्ध नेपालमा रवीन्द्रले परोक्ष रूपमा पाँच आयाम बाहिर ल्याउनुभएको छ ।

कार्यकारीको भूमिका

उहाँ अहिलेसम्म राज्यको कुनै कार्यकारी बन्नुभएको छैन । त्यसैले उहाँले कार्यकारीको भूमिका खोजेको देखिन्छ । अघिल्लो होस् वा अहिलेको सरकारमा मन्त्री हुने चर्चा खुबै भयो तर रवीन्द्रलाई मन्त्री बनाइएन । शिक्षा कि सञ्चार, पर्यटन कि उद्योगमन्त्रीको रूपमा उहाँको चर्चा भयो तर उहाँलाई त्यस्तो जिम्मेवारी दिइएन । त्यसैले उहाँका लेख हुन् वा बहसमा उहाँ कार्यकारी अधिकार प्रयोग गर्दै केही गरेर देखाउन खोजिरहेको देखिन्छ, जुन स्वाभाविक पनि हो ।

०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको सभापति, ०५३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु सभापति भइसकेका व्यक्ति हुनुहुन्छ उहाँ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा मात्र होइन, एमालेको केन्द्रीय सदस्यमा समेत राम्रै मत ल्याएर जित्नुभएका उहाँ जस्तालाई कार्यकारीको अग्निपरीक्षामा हेलियो भने उहाँ खरो उत्रिने निश्चित छ तर गोल हान्न सक्ने खुबी हुँदाहुँदै पनि पार्टीका ‘फरवार्ड’ खेलाडीहरू उहाँलाई ‘पास’ दिन आनाकानी गरिरहेका छन् । चालीस नाघेकालाई मौका तर एमबीए गरेका ठिटाठिटीलाई भूमिका नदिएकोले नै एमाले पछाडि परेको हो ।

रवीन्द्रजस्ता युवाले कार्यकारीको काम भनेर देखाउन नपाउनु एमालेकै निम्ति बिडम्बना हो । कार्यकारी पदमा रहेको व्यक्ति छिनछिनमा ‘टेष्टेड’ (परीक्षित) हुन्छ । उसको हरेक क्षण नतिजासँग जोडिन्छ । युवा पुस्ताले आशा र जाँगर देखाउन पाएन भने पदमा झुण्डिएर बसिरहँदैन कि गर्छ कि सकिन भनेर छोडिहाल्छ भनिन्छ । काम गर्दा विरायो वा ढिला गर्यो भने रवीन्द्र पनि सकिन्छन् । मुलुकको कार्यकारी जिम्मेवारी पाएपछि द्रुत किसिमले भूमिका निर्वाह गरेर देखाउन सक्नुपर्छ ।

व्यवस्थापन पृष्ठभूमि, ज्ञान र तलदेखि जनताको साक्षी भएर माझिएको मान्छे कार्यकारी भए परिणाम दिनसक्छ । परिपक्व युवालाई राज्यको गहन जिम्मेवारी दिनुपर्छ भनेर तर्क गर्दा आफैँलाई लाज लागेर आउँछ । बेलायतका प्रधानमन्त्री रवीन्द्र अधिकारीको उमेरका हुनुहुन्छ र उहाँ कार्यकारी पद सम्हालेर संसार हल्लाइरहनुभएको छ ।

अमेरिकाका राष्ट्रपति ओबामा पनि यही उमेर समूहका हुनुहुन्छ र उहाँ एउटा कार्यकाल सकेर दोस्रो दोहोर्याइरहनुभएको छ तर नेपालका सक्षम युवा भने समृद्ध नेपाल बनाउने अवसरबाट वञ्चित गरिएका छन् । उमेरमा भारी बोक्न वा खेतमा जोतिन नपाएको गोरु जसरी युवा जुवा खोजिरहेछन् । आङ तानेर जुरो ठड्याएर बसेको बहरलाई दाहिएन भने त्यसले बुढेसकालमा खेतबारी जोत्न सक्दैन । बल, सीप, जाँगर, प्रविधि समयमा प्रयोग ग¥यो भने मात्र त्यसले ‘आउट पुट’ दिन सक्छ ।

विविधतायुक्त समाज

नेपाल विविधतायुक्त समाज हो । यो समाजमा बलियो, जवर्जस्त र आशालाग्दो मुनाको रूपमा रवीन्द्र स्थापित हुन खोज्नुभएको छ तर विविधताको समाजमा एउटा अङ्गमात्र हुनुहुन्छ रवीन्द्र । देश विकासको क्रममा सयौँ रवीन्द्रहरू चाहिन्छन् । यी रवीन्द्र मडारिएर आउन खोजेकोले मात्र देखिनु भएको हो । प्रतिस्पर्धी क्षमता नभएका ढ्याके नेताहरूका लागि रवीन्द्र गतिशील प्राणी हो ।

बूढा पुस्तालाई छलेर युवा पुस्ताले बल अगाडि बढाएको हो । जसले उनीहरूलाई हुर्कायो तिनलाई इज्जत गरेर मात्र युवा सुस्त गतिमा बढेका हुन् यिनले ‘फल’ खेल्न थाले भने एमालेका धेरै बूढाहरूको घुँडो फुस्कन र ढाडको नसा सड्कन बेर लाग्दैन । यो पुस्तक नै सबैथोक होइन । यो किताबले मात्र पुग्दैन तर यो पुस्तक समृद्ध नेपालको बीउ हो । यस्तो धेरै बीउ नेपाललाई चाहिएको छ ।

उद्यमशीलता/समृद्धि

विकास सबैको हो र सबैले यसका निम्ति काम गर्नुपर्छ । यो सबैको एजेण्डा पनि हो तर अहिलेको समयले विकास र उद्यमशीलतालाई सहज बाटो दिएको छैन । पुस्तकका हरेक पानामा लेखकले उद्यमशीलता अलाप्नुभएको छ । डाँको छोड्नुभएको छ । बलिन्द्रधारा आँशु बगाएको, चिच्याएको र कतिपय सन्दर्भमा आफैँलाई चिथोरेको देखिन्छ ।

लगाएका लुगा च्यातेर पनि ध्यान केन्द्रित गर्न खोज्नुभएको छ । परनिर्भरता घटाउन अन्तरनिर्भर र आत्मनिर्भर हुने कुरा पुस्तकमा व्यापक रूपमा गरिएको छ तर लेखकको रोदनले खेतबारीमा सिँचाइ हुनसकेको छैन, खोलामा पानी बगेको बग्यै छ । नेतालाई सिँचाइको के मतलव रु यसको जेहाद पुस्तकमा छेडिएको छ ।

उज्याला पाटाहरू

पुस्तकका प्रत्येक पानामा सकारात्मक उज्याला पाटाहरू पढ्न पाइन्छ । समाजको सकारात्मक रूपान्तरण जो सफलताका उदाहरण हुन्, तिनको अभिवृद्धि गर्दै अँध्यारा पाटाहरू हराउँदै जाने दर्शनबाट अभिप्रेरित भएर पुस्तक आएको छ । उज्यालो बढ्दै गएपछि अँध्यारो हट्छ र सतह उज्यालो हुने आत्मविश्वास किताबमा जताततै झल्किएको छ ।

सकारात्मक भाव, प्रशंसनीय सोधखोज पद्धति, एक भक्ति, एक निष्ठा र एक दृष्टिबाट पुस्तक अगाडि बढेको छ । रवीन्द्रलाई लेख्ने ऊर्जा उहाँमा अन्तरनिहित विश्वासका कारण निस्किएको सहजै अनुभूति हुन्छ । सकारात्मक तत्व हरेक व्यक्तिमा छ तर यसको प्रयोग रवीन्द्रले यो पुस्तकमा दिल खोलेर गर्नुभएको छ ।

समृद्ध नेपालको सपना

देशमा सबैथोक बिग्रियो, भत्कियो, नासियो, सिद्धियो भन्ने मानसिक दरिद्रताको भीडमा रवीन्द्र अधिकारीले समृद्ध नेपालको सपनाको खाका पस्कनुभएको छ । पुस्तकमा समृद्ध नेपालमा हुनुपर्ने सबैकुरा समेटिएको छैन, यो सत्य हो । सानो तर दिगो बत्तीको रूपमा पुस्तक आएको छ । सम्पूर्ण नेपाललाई झलमल पार्न धेरै वाटको चिम चाहिन्छ तर यो पुस्तकले आशाको दियो भने बालेको छ । समृद्ध नेपाल बन्छ, बनाउनुपर्छ ।

यो विना हाम्रो भविष्य, व्यवस्था, आदर्श, पार्टी, अर्थतन्त्र, नागरिकता, व्यवसाय र हामी प्रत्येकको अस्तित्व हुँदैन भन्ने स्पष्ट सोच अगाडि ल्याएको छ । त्यसैले यो हाम्रो चम्किलो नक्षत्र हो । हाम्रा पुर्खाले भन्ने गर्थे, एकले पुग्दैन नक्षत्र २७ वटा चाहिन्छ पूर्ण नेपाल झलमल पार्न । एउटा नक्षत्र निस्कियो अब अरू रवीन्द्रहरूको खोजी गरौँ र रवीन्द्रहरूको पुञ्ज बनाउँदै समृद्ध नेपाल बनाउने बहस थालौँ ।

(लेखक भण्डारी गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हुनुहुन्छ, स्वर्गीय मन्त्री अधिकारीको बिषयमा यो लेख गोरखापत्र दैनिकबाट साभार गरिएको हो- सं)

March 2, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *