Untitled Document

स्थानीय तह निर्वाचन:भक्तपुरमा ह्वात्तै बढ्यो चुनावी माहौल

स्थानीय तह निर्वाचन
भक्तपुरमा ह्वात्तै बढ्यो चुनावी माहौल
मध्यपुर थिमीमा ११ पदका लागि डेढ सय बढी उम्मेदवारका आकांक्षी
भक्तपुर । आगामी ३१ बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनले भक्तपुरमा चुनावी माहोल ह्वात्तै बढेको छ । निर्वाचन मिति नजिकिएसँगै भक्तपुरका चार वटै नगरपालिकामा चुनावी माहौल ह्वात्तै बढेको हो ।
भक्तपुरमा यसअघि ६ वटा नगरपालिका रहेकोमा नगरकोट र अनन्तलिंगेश्वर नगरपालिकालाई चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा गाभेपछि चार नगरमा खुम्चिएको भक्तपुरमा स्थानीय तहको निर्वाचनको माहौल निकै तातेको छ । यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षमा दावेदारी प्रस्तुत गर्ने आकांक्षी निकै बढेका छन । विगतको स्थानीय निकायको निर्वाचनमा कांग्रेसले जितेको यस नगरमा यसपटकको निर्वाचनमा भने कांग्रेसमा टिकटको लागि नै तीब्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा जिल्लास्तरीय नेता बढी रहेका थिमीमा कांग्रेसको तर्फबाट आधा दर्जनभन्दा बढीले मेयरमा दावी गरेका छन् । उनीहरुमध्ये सबै पहुँचवाला र केन्द्रीय नेतासँग राम्रो सम्बन्ध भएका नेता छन् ।
कांग्रेसबाट सो नगरमा पूर्व मेयर मदनकृष्ण श्रेष्ठसहित प्रभावशाली नेता गोकुल शर्मा, जिल्ला सभापतिमा पराजीत तथा कांग्रेसका मध्यपुर थिमी नगरका पूर्व सभापति अष्ट कंवे, पूर्वउपमेयर मुरारी आचार्य, पूर्व जिल्ला संगठन विभाग प्रमुख सन्तोष भटराई, जिल्ला सदस्य केदार खड्का, मध्यपुर थिमी नगर सभापति सुरेन्द्र श्रेष्ठले मेयरको लागि दावी गरेका छन् । त्यस्तै, नगर ९ वडामा सिमित भएपछि कांग्रेसका वडा अध्यक्षका आकांक्षी पनि धेरै देखिएका छन् । कांग्रेस स्रोतका अनुसार मध्यपुर थिमीको १ वडाबाट सुरज खड्का, विजय खड्का, उमेश खड्का, बाबुकाजी डंगोल र पे्रमबहादुर खड्काले दावी गरेका छन् । २ मा राम थापा मगर, चन्द्र भट्टराई र अनिल अधिकारी, ३ मा कृष्णहरि आचार्य, नकुल बस्नेत, अरुण श्रेष्ठ, श्याम थापा, राजु अर्याल र सुद्युम्न पौडेलको नाम चर्चामा छ । यस्तै वडा नं चारमा कुमार श्रेष्ठ, पूर्णकृष्ण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजसुन्दर श्रेष्ठ, राजेश मानन्धर, बालकृष्ण तिलक श्रेष्ठ, ५ वडामा ओम श्रेष्ठ, दिलकृष्ण प्रजापति, रामचन्द्र श्रेष्ठ, बृद्धिकुमारीकर्मी श्रेष्ठको दावी छ ।
वडा नं ६ मा सञ्जय थापा श्रेष्ठ, शिवभक्त थापा श्रेष्ठ र हरिदास प्रजापतिको चर्चा रहेको कांग्रेस वृत्तमा चर्चा छ । त्यसैगरी ७ वडामा कान्छा घबा, सिताराम दुगु, बाबुकाजी सुलु, दिनेश घजु, ८ वडामा दिलकृष्ण प्रजापति, ओमजीमा श्रेष्ठ र बालकृष्ण श्रेष्ठ, ९ वडामा सानुकाजी राजवाहक, रामकाजी चक्रधर र गोकुल खड्काको नाम चर्चामा रहेको छ । कांग्रेसको प्रतिस्पर्धी नेकपा एमालेले भने टोल–टोल र वडावडामा पार्टी कार्यकर्ता भेला तथा छलफललाई तीब्र बनाएको छ । नगर कमिटी अध्यक्ष मदनसुन्दर श्रेष्ठले शनिबार १ वडामा भएको कार्यक्रममा ६० जना युवा पार्टीमा प्रवेश गरेको बताए । सो नगरमा एमालेको तर्फबाट नगर अध्यक्ष श्रेष्ठ, पूर्वजिल्ला सचिव राजेन्द्रमान श्रेष्ठ, जिल्ला उपाध्यक्ष बचन देउजा र जिल्ला सदस्य चन्द्रकृष्ण श्रेष्ठको नाम चर्चामा छ । उनीहरुले उम्मेदवारीको दावी गर्दै कार्यकर्ता भेटभाट र जिल्लादेखि केन्द्रसम्म टिकटको लागि लविङ तीब्र पारेका छन् । यद्यपी एमाले वृत्तमा मदनसुन्दर श्रेष्ठ र पूर्व पार्टी प्मुख राजेन्द्रमानमध्ये एकलाई मेयरको उम्मेदवार बनाएर चुनाव जित्ने रणनीति एमालेको छ । एमालेका विभिन्न वडामा उम्मेदवारका आकांक्षी कांग्रेसको तुलनमा कम देखिएका छन् ।
एमालेका तर्फबाट १ वडाबाट अष्टकुमार कंवे, उत्तरा नेपाल र झपड भण्डारी, २ बाट बासु थापामगर, रामहरि फुँयाल र रविन सिजापति, ३ वडाबाट होमनाथ ढुंगेल, राजभक्त श्रेष्ठ र इन्द्र गौतमको चर्चा छ । त्यसैगरी ४ वडाबाट सुन्दरलाल श्रेष्ठ, राजु श्रेष्ठ, ५ वडाबाट दिपक श्रेष्ठ, अमृतमान श्रेष्ठ र कृष्णचन्द्र प्रजापतिले दावी गरेका छन् । एमालेको तर्फबाट ६ वडाबाट नन्दकृष्ण श्रेष्ठ, दिलकृष्ण प्रजापति र कृष्ण प्रजापति, ७ वडाबाट शैलेन्द्र श्रेष्ठ, ज्ञानकुमार मकै र बिन्दु प्रजापति, ८ वडाबाट द्रब्यलाल जयना, कृष्णभक्त पाहाँ र सानुमाया द्यो, ९ वडाबाट दिपेन्द्र थापा, मदनकृष्ण खड्का र निरञ्जन खड्काको दावी रहेको छ । यता नेकपा माओवादी केन्द्रले नगरपालिको मेयरमा नगर संयोजक कृष्णलाल गोजा श्रेष्ठ, जिल्ला सहईन्चार्ज उर्मिला श्रेष्ठलाई अगाडि सारेको छ । माओवादीले वडा अधिवेशन धमाधम भइरहेकाले वडाअध्यक्षको टुंगो नलागेको र केहि दिनमा वडाध्यक्षको लिस्ट आउने जनाएको छ ।
संयोजक श्रेष्ठले केहि दिनमै वडाको पनि सम्भावीत उम्मेदवारको लिस्ट आउने जानकारी दिए । स्थानीय तहको निर्वाचनको सवालमा उम्मेदवारको चर्चा परिचर्चा नचलाएको नेमकिपाले भने निर्वाचनका सवालमा छलफल भइरहेपनि सम्भावीत उम्मेदवारको नामावली प्रचारमा ल्याएको छैन् । स्रोतका अनुसार मध्यपुर थिमी नगरमा उसले जिल्ला अध्यक्षसमेत रहेका रमेश थापा श्रेष्ठलाई मेयरमा उठाउने तयारी गरेको छ । यथपी श्रेष्ठले भने लिस्ट तयार पार्न वडा कमिटीलाई निर्देशन दिएपनि मेयरको बारेमा छलफल नभएको बताए । मध्यपुर थिमी नगरमा कांग्रेस, एमाले, माओवादी र नेमकिपा अलावा राप्रपाले भने अन्य पार्टीसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको भन्दै केहि ब्यक्तिको नाम चर्चामा ल्याएको छ । राप्रपाले मध्यपुर थिमी नगरमा नगर अध्यक्ष भुवनबाघ श्रेष्ठ, नगरगोविन्द शंख्खदेव, रामसुन्दर विष्ट र भरत श्रेष्ठको नाम चर्चामा ल्याएको छ । उसले मेयर, उपमेयर र वडाअध्यक्षमा अन्य पार्टीसँग सहकार्य गर्दा यी ब्यक्तिलाई अगाडि सार्ने तयारी गरेको जनाएको छ ।
आगामी निर्वाचनका लागि मध्यपुर थिमी नगरमा यसअघि रहेका १७ वडालाई स्थानीय तह पुनर्सरचना आयोगले ९ वटा वडामा सिमित गरेको छ । जसमा साविक १६, १७ र १५ वडालाई क्रमश १, २ र ३ वडा कायम गरिएको छ । साविक १२, १३ र १४ वडालाई ४ वडा, साविक ९, १० र ११ वडालाई ५ वडा कायम गरिएको छ । त्यसैगरी साविक ७ र ८ लाई ६ वडा, सािवक ४, ५ र ६ वडालाई ७ वडा, साविक १ र २ वडालाई ८ वडा कायम गरिएको छ भने साविक ३ वडालाई अन्तिम ९ वडा बनाइएको छ ।
सो नगरमा ११ दशमल ४७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने ८३ हजार ३६ रहेको छ । ९ वडा एक मेयर, एक उपमेयर, ९ वडाध्यक्ष र प्रत्येक वडाबाट चार÷चार सदस्य गरी जम्मा ४७ जना निर्वाचीत हुने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । निर्वाचन अधिकृत उमेश राईका अनुसार मध्यपुर थिमी नगरमा ३६ हजार १८ मतदाता रहेका छन् । उनीहरुको निर्वाचन आयोगमा अन्तिम प्रमाणीतको लागि पठाइएको छ । निर्वाचनमा भने त्यसमध्ये १८ वर्ष कम उमेरका मतदाता घटना सक्ने हुनाले कुल मतदातामा केहि संख्या घटने कार्यालयले जनाएको छ ।

March 28, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *