जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १३:५०

भूमाफियाको बिगबिगी : राजकुलो नै मिचेर प्लटिङ


काभ्रे, जेठ ३१

भूमाफियाको एक समूहले स्थानीयबासीले प्रयोग गर्दै आएको राजकुलोमाथि प्लटिङ गरी जग्गा बिक्री गरेको पाइएको छ । पनौती नगरपालिका– ५ मा राजकुलो मिचेर जग्गा प्लटिङ गरिएको पाइएको हो ।

नापी कार्यालय काभ्रेको रेकर्डमा बाटो र सिमाना (कुलो) उल्लेख भएको संरचना तारानाथ ढकाललगायतको समूहले प्लटिङ गरेको भेटिएपछि नगरपालिकाको पत्रका आधारमा मालपोत कार्यालय काभ्रेले २१ कित्ता जग्गा रोक्का राखेको छ । रोक्का राखिएको जग्गामध्ये ८ कित्तामा करिब एक रोपनी कुलोको जग्गा परेको स्थानीयबासीले जनाएका छन । प्रचलित मूल्यअनुसार एक रोपनीको मूल्य डेढ करोड रुपैयाँ पर्छ ।

‘पहिला त्यहाँ कुलो थियो, कुलोको बाटो हुँदै हामी पुण्यमाता खोलापारि खेतमा जान्थ्यौं, गाउँभरिको भल पनि त्यही कुलो हुँदै खोलामा मिसिन्थ्यो,’ वडाअध्यक्ष श्रीधर कुइँकेलले भन्नुभयो, ‘हामीले दिएको सिफारिसको गलत प्रयोग गरेर कुलो पनि मिच्ने काम भयो, अटेर गरेर निर्माण थालेपछि रोक्का गरेका छौं ।’ नापी अधिकृत सुरेश मानन्धरका अनुसार फिल्डबुकमा बाटो र सिमाना कायम भएको छ । स्थानीय १४ जनाले निवदेन दिएपछि वडाले गरेको सर्जिमिन मुचुल्कामा ४५ जनाले कुलो मिचिएको भन्दै हस्ताक्षर गरेका छन ।

‘गाउँको भेल, बाढी जाने सबै यही कुलोबाट हो, अब यो मिचिएपछि हाम्रो खेत डुबान हुन्छ, कसरी खेती गर्नु,’ स्थानीय डिकमाया श्रेष्ठले भन्नुभयो, ‘हामीले किन यसरी मिच्नुभएको भन्दा उल्टै झगडा गर्न आउनुभयो, केहीलाई बाटो छोडिदिउँला भनेर फकाएको रहेछ ।’ नापीका अनुसार उमेश श्रेष्ठको नाममा रहेको १५१४, जानुका कर्माचार्यको १५०५, शिव श्रेष्ठको १५१३, विमलमाया श्रेष्ठको १५०४, सुशील कार्कीको १५१२, रिता भुजेलको १५०३ र कुमार श्रेष्ठको नाममा रहेको १५११ र १५०२ कित्ता नम्बरको जग्गा कुलोमा परेको छ ।

सरकारी निर्णयमा रहेका छिद्रमा टेकेर जग्गाको कित्ताकाट रोकेको अवश्थामा पनि भू–माफियाले जग्गाको कारोबार गरेका हुन । अदालतको आदेश भएमा, एक वर्षभित्र एकपटक मात्रै र अंशियारको बडापत्रका आधारमा मात्रै जग्गाको कित्ताकाँट गर्न छुट दिइएको थियो । फर्जी अंशियार तयार गरेर ढकालको समूहले कुलो नै बिक्री गरेको हो । कान्तिपुरका पत्रकार नगेन्द्र अधिकारीले लेखेको समाचारअनुसार ढकालले श्रीमती सीता पौड्याल र गोविन्दप्रसाद शर्माले छोरा सुमित ज्ञवालीका नाममा समेत जग्गा पास गरेर प्लटिङ सुरु गरेका थिए । २०७५ असार ३१ गते राजीनामा पास गरेका उनीहरूले भदौ २६ गते अंश भर्पाइमार्फत अनिता मानन्धर हुँदै कुमार श्रेष्ठलाई चार कित्ता बिक्री गरेका थिए ।

यसरी बेचियो ’कुलो’

पशुपति सिमेन्ट उद्योग प्रालिका नाममा सिक्किन अग्रवालले विभिन्न मितिमा १५ रोपनी क्षेत्रफलको जग्गा किनेका थिए । २०६५ साल पुस ११ गते सिरहाको लहान नगरपालिका ७ की श्रद्धा मुरारकाका नाममा पास गरेको मालपोत रेकर्ड छ । श्रद्धाका नाममा मालपोत कार्यालय काभ्रेमा कित्ता नम्बर ४ मा ३ रोपनी ३ आना १ पैसा १ दाम र कित्ता नम्बर ५ मा १ रोपनी, १ आना ३ पैसा जमिन बाँकी छ । श्रद्धाले बाँकी जग्गा भरतपुर नगरपालिका १ चितवनका राजन श्रेष्ठ, गुल्मीका तारानाथ ढकाल र गोविन्दप्रसाद शर्मालाई बिक्री गरेकी थिइन ।

स्थानीयका अनुसार कम्पनीको नाममा जग्गा हुँदा कुलो छोडेर तारबार लगाएका थिए । मुरारका परिवारबाट बिक्री वितरण भएपछि कुलो अतिक्रमण भएको हो । प्लटिङ गर्ने तारानाथ ढकालको समूहले फर्जी अशिंयार खडा गरी जग्गा कित्ताकाट गरेर सार्वजनिक कुलो बिक्री गरेको पाइएको छ ।