जनता टाइम्स

५ भाद्र २०७८, शनिबार ०७:०९

माधव नेपालको भूमिका सधै एमालेलाई कमजोर बनाउनेतिरै केन्द्रित छ : केपी ओली (अन्तर्वार्ता)


माधव नेपालको प्रयास हुनेछ कहीँ पनि एमालेको मेजोरिटी नहोस र खत्तम पारौँ भन्ने । आजदेखि होइन नि, यो आजदेखिको कुरा हो र ? नेकपा एमालेलाई कमजोर पारेर सानो पार्टी दुई सय ४० मध्ये ३३ सिटमा झारेर । प्रत्यक्ष निर्वाचनमा दुई सय ४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेर अब एमालेलाई सिध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले ? एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो

केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)

नेकपा एमाले टुक्रियो । तपाईंले विभाजन रोक्न चाहनुभएन भन्ने आरोप छ नि ?

पहिलो कुरा टुक्रियो भन्ने शब्द लगभग ठिकै शब्द हो, यो विभाजित भएको होइन । टुक्रिनु र विभाजित हुनु फरक कुरा हो । विभाजित होइन, टुक्रो, चोइटो, अलिकति उछिट्टिनु या त्यसबाट अलग हुनु अर्को कुरा हो । केही मानिस पार्टीबाट अलग भएको हो । त्यसलाई त्यस्तो रूपमा लिनुपर्छ । कोसिस नै गरेन भन्ने कुराचाँहि अलिक मिलेन । मैले ५१ वर्ष अगाडि, जति बेला कम्युनिस्ट पार्टी स–साना टुक्रामा विभाजित थियो, खास पार्टी जस्तो पार्टी कुनै पनि थिएन । त्यस बेला एउटा नयाँ आन्दोलन सुरु गर्ने, नयाँ एकीकरणको अभियान सुरु गर्ने काम थियो । त्यसै आन्दोलनबाट अगाडि बढेर एउटा एकताको आह्वान ३१ सालमा गरिएको थियो ।

त्यसै आह्वान अन्तर्गत ३२ सालमा ‘कोर्डिनेशन’ केन्द्र बन्यो । केही जिल्लाका अगुवा साथीहरू मिलेर विभिन्न समूह त्यसमा समाहित हुँदै गए । अनेक समूह समाहित भएर माले बन्यो । नेकपा माले, २०३५ सालमा । त्यसपछि अनेक समूह हुँदै गएर पार्टी विस्तार, एकीकरण र एकताका प्रयास भए । खासगरी अन्तिम रूपमा सफल मेरो नेतृत्वमा भएको थियो र नेकपा एमाले र माओवादी केन्द्रलाई पनि मेरै नेतृत्वमा मिलाएर एउटै कम्युनिस्ट पार्टी बनाइयो । यस्तोमा छिटपुट एक÷दुई जना व्यक्तिका सानातिना समूह रहनु बेग्लै कुरा हो ।

आमरूपमा एउटै पार्टी, जस्तो दुई तिहाइको स्थिति निर्माण गरिएको थियो । म त्यो पृष्ठभूमिबाट ती प्रयासका साथ पार्टी एकता गरेर एकीकरणको अभियान सञ्चालन गरेर आएको मान्छेले पार्टी निर्माण गर्न, बचाउन कोसिस गरिनँ भन्ने कुरा भनेको पूर्वाग्रही र गलत कुरा हो । मैले त्यसमा धेरै केही भनिरहनुपर्ने आवश्यक्ता छ जस्तो लाग्दैन । यसबीचमा पनि अकारण पार्टी फुटाइएको छ । के कारण थियो र पार्टी फुटाउन ? पार्टीभित्र विनासित्ति नचाहिँदो ढङ्गले अन्तर विग्रह सुरु गरिएको छ । अस्थिरता पार्टीभित्र सुरु गरिएको छ, पार्टीप्रतिको विश्वास कम गराउनका लागि अनेक कुप्रचार पार्टी भित्रकै मान्छेबाट भएको छ । त्यस्तो हुँदा पनि सहेर एकताको प्रयास गरेको हुँ । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्घात गरिएको छ । यहाँ पार्टीभित्र अन्तर्घात गरिएको छ ।

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत माग्दा बहिष्कार गरेर बाहिर गएर सरकार ढाल्ने कोसिस भएको छ, संसद् जोगाऔँ भन्दा जोगाउनलाई विश्वासको मत नदिने र विघटनतिर जाओस भन्ने, त्यस्ता प्रयास गर्ने काम भएको छ । यी सबै कुरा नेकपा एमालेलाई कमजोर पार्ने, देशमा अस्थिरता कायम गर्ने प्रयास अन्तर्गत सबै गुट चलेका छन ।

के प्रयाश गर्नुभयो त बिभाजन रोक्न तपाईंले ?

काफी प्रयाश गरेको छु । एमालेको सरकार हुनु भनेको प्रतिगमन हो, त्यसलाई ढाल्नुपर्छ र कांग्रेसको नेतृत्वमा उद्देश्यहीन, विचारहीनहरूको एउटा स्वार्थको समूहले गठजोडबाट एउटा गन्तव्यहीन सरकार बनाउनुपर्छ, अस्थिरता कायम गर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रपतिकहाँ हस्ताक्षर लिएर अनुशासनहीन, अराजक ढङ्गले जाँदा पनि मुद्दा हाल्न लाएर एमालेको सरकार गिराइ पाउँ, परमादेश गरेर सोझै नेपाली कांग्रेसका नेतालाई सरकार अदालतबाटै घोषणा गरिपाउँ भन्ने असंवैधानिक माग लिएर जाँदा पनि त्यसमाथि पनि कार्यदल बनाएर, आफैँले फोन गरेर, भेटेर, कुराकानी गरेर, त्यति प्रयास गरेको छु अनि त्यसमाथि मैले नै प्रयास गरिनँ भन्ने ? म कोही पनि मानिस नबिग्रियोस भन्ने चाहन्छु । कसैले पनि बाटो नबिराओस भन्ने चाहन्छु ।

कोही पनि व्यक्ति निष्ठाच्यूत नहोस भन्ने चाहन्छु, मान्छेहरू आदर्शवाद होऊन, निष्ठावान होऊन, मैले सत्यको मार्ग अवलम्बन गर्नुपर्छ भनेर मेरा लागि मात्रै भनेको होइन । म त गर्छु नै । अरूले पनि सत्यको मार्ग अवलम्बन गर्नुपर्छ, निष्ठाको मार्ग अवलम्बन गर्नुपर्छ, मैले भनेको हो । म कसैलाई पथभ्रष्ट होस भनेर किन चिताउँछु ?, किन चाहन्छु ? त्यसकारण यो आरोप ममाथिको अनुचित आरोप हो ।

तपाईंमाथि अलि धेरै दम्भ देखियो भन्ने कुरा माधव नेपालले भन्नुभएको थियो, यसमा स्पष्ट पारिदिनुस न ?

तपाईंले मसँग कतै दम्भ देख्नुभयो त ? मैले दम्भ देखाएको कतै देख्नुभएको छ ?, मैले त निष्ठाको कुरा गरेको छु, मैले आफ्नो स्वार्थका लागि देशलाई घात गर्ने कुनै काम, पार्टीलाई घात गर्ने काम देख्नुभएको छ ? कहिल्यै मैले विपक्षीसँग मिलेर पार्टीकाविरुद्ध घात गरेको देख्नुभएको छ ? माधव नेपालले त विपक्षीसँग मिलेर पार्टीविरुद्ध घात गरेको देख्न त तपाईं हामी सबैले चस्मा लगाउन पर्दैन नि । नलाइकन देखेका छौं नि । खालि आँखाले देखेका छौं, अर्कोमा अब मैले थप जवाफ दिइराख्नु पर्ला र ?

यति हुँदाहुँदै पार्टीले किन अपजस भोग्ने त, सबैतिरबाट अपजसको भागी त अध्यक्ष बन्नुभएको छ ?

राजनीतिमा पक्ष/विपक्ष हुन्छ, कस्तोसम्म पक्ष÷विपक्ष हुँदो रहेछ भने महात्मा गान्धीलाई गोली हाने । प्रतिपक्ष–विपक्ष भनेको त्यस्तो हुँदो रहेछ । शुकरातलाई त विष ख्वाएर मारेका थिए । ब्रुनु बाबेरको के हालत भएको थियो ? ग्यालेलियोको के हालत भएको थियो ? मार्टिन लुथर किङ्गलाई के हालत गरेका थिए ? दक्षिण अफ्रिकामा क्रिस हनीलाई के गरेका थिए ? तसर्थ विपक्षीले हदैसम्मको उपद्रो गर्नसक्छ । आरोप,लाञ्छना लगाउन सक्छन । झुटा लाञ्छना लगाउन सक्छन । यदि भीमसेनले नै पनि गदा युद्धमा सजिलैसँग दुर्योधनलाई जित्थे भने कृष्णले इसारा गरेर यहाँ हान त्यहाँ हान भनिरहनुपर्ने थिएन होला । अनफेयर त्यसले खेल्छ, जो कमजोर छ । जो यसै जित्छ, उसले अनफेयर खेल्न पर्दैन । जो निष्ठाका साथ राजनीति गर्छ, उसले अनफेयर खेल्दैन । हार्छ, जित्छ तर अनफेयर खेल्दैन । फेयर कुरा, स्वस्थ कुराले, निष्ठापूर्वक खेलिएका कुराले अन्तत्वगत्वा जित्छ ।

माधव नेपाललाई कसैले हान्न सिकायो हो ? माओवादी वा कांग्रेस हो ?

मैले कृष्णको कुरा गरेको द्वापर युगको महाभारतको प्रसङ्गमा मात्रै हो । कहिलेकाहीँ यहाँका अस्वस्थ व्यवहार गतिविधि गर्नेहरूको कपट, जालझेल, अस्वस्थता र असत्य मार्ग, असत्य प्रचार ती प्रसङ्गको सन्दर्भमा मैले त्यो कुरा भनेको होइन । मलाई अहङ्कारी भन्छन नि भन्नुभयो, मैले माधव नेपाललाई भेटौँ न भन्दा भेट्दिनँ भन्ने ।

अहिलेसम्म माधव नेपालले कम्तीमा दुई वर्ष भयो होला फोन गर्नुभएको छैन । मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, म प्रधानमन्त्री कहाँ आएर भेट्दिनँ, यहाँ भेट्दिनँ भन्दा म आफैँ भनेको ठाउँमा गएको छु, त्यसरी काम गरेको छु मैले, तैपनि मलाई के लाग्छ भने माधव नेपाल एक्लो होइन, एउटा दक्षिण ध्रुवको छ, अर्को उत्तर ध्रुवको छ, एउटा चुम्बकका दुई वटा पोल एक ठाउँ आउँदै आउँदैन । तर यहाँ चुम्बकका दुई वटा पोल जस्ता शक्तिहरू, अनेक दुई वटा पुलहरू एकै ठाउँमा ल्याइएको छ कसरी ? त्यो भन्दा बढी बलवान शक्ति भयो भने त्यसलाई त्यहाँ राख्छ । बलका अगाडि बन्धनको केही लाग्दैन । जस्तै बन्धन भए पनि त्यसलाई टुटाउन सक्ने गरी तागत लाग्यो भने माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी, त्यहाँबाट छुटाउने गरी, चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लाग्दैन । केही लागेन होला । त्यो हुन सक्छ ।

पार्टीको अन्तरकलहले प्रतिपक्षी बन्नुपरेको हो ?

अन्तरकलह पनि होइन यो । कलह दुई पक्षको हुन्छ । यहाँ एक पक्ष माधव नेपाल पक्षको निहुँ खोजाइ मात्रै हो । माधव नेपालका उद्देश्य मात्रै हुन । हामी पार्टी बनाउने पक्षमा छौं, किनभने देश बनाउनु छ । देश बनाउनका लागि राम्रा नीति, राम्रो व्यवहार, राम्रो अभ्यासका साथ अगाडि बढ्नुछ । हामी त्यसमा लाग्ने हो । त्यसमा लागेका छौं । हामीले कहाँ–कतै अन्तरघात गरेको छ ? कहाँ–कतै बेइमानी गरेको छ ? कहाँ–कतै अस्वस्थता केही गरेको छैन, केही नै गरेको छैन । तपाईंहरूले के भन्न सक्नुहुन्छ भने कडा बोली भयो । अब कसैले पार्टीका विरुद्ध प्रहार गर्यो भने प्रहार गर्नुभयो भन्नु त पर्यो, पार्टीका विरुद्ध प्रहार गर्नु राम्रो कि नराम्रो भन्दा नराम्रो त भन्नुपर्यो ।

पार्टीलाई ध्वस्त पार्ने, देशका हितलाई नोक्सान पार्ने, देशलाई अस्थिरतामा धकेल्ने, देशको अमूल्य समय, विकास निर्माणमा लाग्नुपर्ने समय अहिले हेर्नुस त, बजेट रोक्का छ । हामीले जेठ १५ मा किन बजेट जारी गर्छाैं ? किनभने जेठ र असारभित्र बजेटका तयारीसम्बन्धी काम सबै सकियोस र साउन १ गतेबाटै विकास निर्माणको काम सुरु होस भन्नका लागि हो । हाम्रो पुँजीगत खर्च हुने गरेन । त्यस कारण पुँजीगत खर्च हुन पूरा सकोस, सुरुदेखि नै काम हुन सकोस् भनेर जेठ १५ मा बजेट जारी गर्छाैं । असारको अन्तिममा बजेट पास गर्ने, मूल पेस्की विधेयक पास गर्ने अनि असोज–कात्तिकसम्म लाग्छ पूर्ण रूपमा बजेट पास हुँदा अनि मङ्सिरबाट सुरु गर्दा वैशाखतिर बल्ल निकासा हुँदा जेठ लागिसक्छ । काम हुँदैन फेरि बजेट फ्रिज हुन्छ ।

यस्तो स्थितिबाट देशलाई मुक्त गर्नका लागि हामीले गर्यौं । अब अहिले त बजेट रोकिदिएको छ । बजेट रोकेर कर्मचारीलाई तलब खुवाउनेबाहेक केही पनि नगरेर रोकिदिएको छ । अहिले सरकार भत्काउन लागेको छ, बिगार्न, दमन गर्न लागेको छ । अहिले त शान्तिपूर्ण विरोध प्रदर्शन पनि असह्य भइसक्यो । शान्तिपूर्ण विरोध प्रदर्शन सुन्नै सक्दैन । तपाईंले देख्नुभयो होला, विद्यार्थीहरूमाथि कति निर्मम ढङ्गले गतिविधि भयो । के ती कुनै नेपाली समाजलाई, नेपाल राष्ट्रमाथि हमला गर्न विदेशी फौज आएको हो ? कुनै विदेशी हमला भएको हो र ? त्यहाँ त यस्तो निर्मम ढङ्गले प्रहार भयो, के ती विद्यार्थी हाम्रा भाइ, छोराछोरी होइनन् र ? म पनि साढे तीन वर्ष प्रधानमन्त्री छुटेको हो, कहिल्यै त्यस्तो निर्मम शान्तिपूर्ण ढङ्गले निस्किनेबित्तिकै निर्मम हमला त गरिएन नि । यो सरकार हमला गर्न लागेको छ, अङ्गभङ्ग गर्न लागेको छ, विद्यार्थी घाइते बनाउन लागेको छ, युवालाई घाइते बनाउन लागेको छ । देख्नुहुन्न विरोध, आक्रमण गर्न थाल्या छ ।

सुकुम्बासी, भूमिहीनको समस्या समाधान गर्ने आयोग भत्काउन लागेको छ । यस्तो अवस्थामा देशको समय बर्बाद गर्ने ! यो राम्रो भएन, यो देशका नागरिकका विरुद्ध अपराध पूर्ण काम भयो । ल्याइदिएको खोप पनि राम्ररी लगाएको छैन । विकास निर्माणका काम गर्ने, सुशासनका काम गर्नुपर्ने ठाउँमा कुशासनतर्फ, दमनतर्फ, विरोधी दबाउने र मास्नेतर्फ सरकार गइरहेको छ । विकास निर्माणको कुरै छैन ।

देशमा द्वन्द्व बढाउनेतर्फ, परस्परमा विद्रोह र घृणा बढाउनेतर्फ, देशलाई भिडन्तमा गिराखेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ र प्रचण्ड पथमा हिँडिरहेको छ । विचित्रको स्थिति छ । यो स्थिति राम्रो भएन, यो जनविरोधी क्रियाकलाप नगर्नुस् । यो देशका विरुद्ध भयो ।

राष्ट्रिय राजनीतिमा सन्तुलन बिग्रिएको छ, यसको असर राष्ट्रिय राजनीतिमा त छँदै छ, अब प्रदेशमा र आउँदो स्थानीय चुनावमा पनि देखिन्छ । क्रमशः नेकपा एमालेको संस्थापन पक्षको शक्ति क्षयीकरण हुनसक्छ ?

राजनीतिमा कुनै पनि कुरा एकदम पूर्वनिर्धारित जस्तो हुँदैन । कसले, कस्तो काम कसरी गर्छ भन्ने कुरा हो । नेपाली कांग्रेस २०१५ सालमा दुई तिहाइ ल्याएको पार्टी हो । २०४८ मा बहुमत र २०५६ मा पनि बहुमत ल्याएको पार्टी हो । अहिलेको प्रणाली बहुतै अफ्ठ्यारो प्रणाली रहेछ ।

समानुपातिकले गर्दा स्थिरता गाह्रो छ । साह्रै ठूलो तरङ्ग सिर्जना भयो भने कहिलेकाहीँ कुनै पार्टीको बहुमत आउला । तरिका मिलाइयो भने, जस्तो नेकपा एमालेको हिजो तीन वर्षसम्म बहुमतको सरकार रह्यो । बहुमतको सरकार त रह्यो, एक पटक बन्यो नि देशमा । तरिकासँग बन्यो । त्यो तरिकाले मात्रै बन्या हो । नत्र साधारणतया भन्ने हो भने बहुमत आउँदैन । अस्थिरताको प्रणाली अलि–अलि थुप्रियो, अलि–अलि संविधान जसरी पनि बनाउनुपर्ने स्थितिमा सम्झौता गर्नुपर्यो ।

हाम्रा काम कस्ता हुन्छन् ? हामी नागरिकका, देशका निम्ति कति काम गर्न सक्छौँ ? एउटा कुरा, जो विरोधीहरू छन्, जो निकम्मा छन् । जोसँग विचार छैन, जो कामले अगाडि जान सक्दैन उनले अनुचित, अनर्गल, झुट प्रचार गर्छन् । बदनाम, बेइज्जत गर्न खोज्छन् । त्यो कुप्रचारको भरमा उनीहरू कामलाई ओझेलमा पार्ने, राम्रा पक्षलाई ओझेलमा पार्ने, झुटा कुरा प्रचार गर्ने र आफ्नो निकम्मापनलाई ढाकछोप गर्ने काम गर्छन् । अहिलेसम्म त्यही भएको छ । अहिले पनि नेकपा एमालेका विरोधीहरु एमालेको कमजोरी के हो, त्यो देखाउन सक्दैनन, झुटो कमजोरीको चर्चा गर्छन् । अर्को आफ्ना कुरा उनीहरूसँग भन्ने कुरै केही छैन । यो, त्यो गर्छु भन्ने कुरै केही छैन । उनीहरूसँग भिजन छैन ।

उनीहरु यो हाम्रो गन्तव्य भन्न सक्दैनन । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो, हाम्रो गन्तव्य हो भन्ने मैले भने । त्यति भन्न उनीहरू सक्दैनन्, किनभने उनीहरूको चित्त यत्ति साँघुरो छ, यसबारेमा बोल्ने हिम्मत छैन । राष्ट्रिय आकांक्षाका बारेमा के नेपाल समृद्ध बनाउने हाम्रो आकांक्षा होइन र ? के सम्पूर्ण नेपाली नागरिकलाई सुखी बनाउने हाम्रो आकांक्षा होइन र ? यो भन्दा माथिको आकांक्षा केही हुन्छ र ? राष्ट्रिय हिसाबमा भन्ने हो भने । समृद्ध नेपाल, सुखी नेपाली भन्ने कुरा किन भन्न सक्दैनन् । तर सक्दैनन, बोल्दैनन । राजनीतिमा छैटीमा लेखेको पनि हुँदैन, पूर्वनिर्धारित पनि हुँदैन । यो त गरिने हो, बनाइने हो ।

यसपल्ट नेकपा एमालेको सरकारलाई ढालियो । पहिले एमालेमा विभाजन ल्याइयो । एमालेलाई अल्पमतमा पारियो । त्यसपछि जसपाले समर्थन गरेको थियो, त्यसले बहुमत हुन्थ्यो । त्यसभित्र सङ्कट खडा गरियो । नेकपा एमाले नेकपाबाट माओवादी केन्द्र र एमाले छुट्याइसकेपछि एमालेभित्रै भयानक सङ्कट खडा गराइयो । त्यो सङ्कट खडा गराएर एमालेलाई सरकारबाट हटाउने तारतम्य मिलाइयो । त्यसमा विल्कुल विचारहीन, राजनीतिहीन, उद्देश्यहीन, केही पनि नभएको स्वार्थहरूको गठजोड गरेर एउटा तथाकथित गठबन्धन ।

के उद्देश्यको गठबन्धन हो त ?

त्यो न्यूनतम साझा कार्यक्रम भन्ने हेर्नुभयो होला । केही छ त्यसमा ? कहाँ पुग्ने, कुन बाटो हिँड्ने, कसो गर्ने ? छलछाम छ । त्यसमा जालझेल छ । अब झट्ट हेर्दा एमाले सरकारबाट त हट्यो भने यो कमजोर हुँदै जाने हो कि भन्ने । कमजोर हुँदै जाने पनि एउटा सिलसिला हुन्छ । मैले अक्सर भन्ने गर्छु नि, हात्ती दुब्लायो भने त्यसको तौल घट्ने र दुब्लाउने पनि हद हुन्छ । कति घट्छ त त्यसको तौल ? त्यसको पनि सीमा हुन्छ । जत्ति घटे पनि हात्तीको तौल हात्तीको तौल हो । बाख्राको तौल बाख्राकै तौल हुन्छ । अरू पार्टीले आफ्नो हैसियत विचार शून्यताको कारणले, अकर्मण्यताको कारणले, अरू थुप्रै कारण छन । ती अनेक कारणले आफ्नो हैसियत के बनाएका छन त्यो हेर्नुपर्छ । प्रदेशमा पहिले नै त्यसको असर परिसकेको छ । बाँकी दुई वटामा असर पर्यो भने पनि केही छैन, के ख्याल राख्नुपर्छ भने अहिले नेकपा एमालेको स्थिति के हो भन्दा दुई वटामा यसै आफैँ एक्लै मेजोरिटीमा छ ।

माधव नेपालको प्रयास हुनेछ कहीँ पनि एमालेको मेजोरिटी नहोस र खत्तम पारौँ भन्ने । आजदेखि होइन नि, यो आजदेखिको कुरा हो र ? नेकपा एमालेलाई कमजोर पारेर सानो पार्टी दुई सय ४० मध्ये ३३ सिटमा झारेर । प्रत्यक्ष निर्वाचनमा दुई सय ४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेर अब एमालेलाई सिध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले ? एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो । उहाँलाई कसैले माइनोरिटीमा पारेको थिएन । नेपाली कांग्रेसले पनि सपोर्ट गरिरहेको थियो । हामी सबै पार्टीभित्रबाट सपोर्ट गरिरहेका थियौं । उहाँले अचानक बालुवाटारमा हामी कसैलाई थाहा नदिइकन कांग्रेसलाई राजीनामा दिनुभयो । किनभने काफी अलोकप्रिय बनाइसक्यो सरकार अब । यति भएपछि उठ्न सक्दैन, काम पुग्यो भनेर राजीनामा गरेको हो । त्यतिबेला पनि उहाँले आफ्नो कर्तव्य टुप्पामा बसेर पूरा गर्नुभएको थियो ।

पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी बनाएर पूरा गरेर राजीनामा गर्नुभयो । सरकारको टुप्पामा बसेर एमालेको सरकार सञ्चालन गर्ने कुनै क्षमता रहेनछ भन्ने कुरा प्रमाणित गराएर उहाँलाई पुगेसम्म अब एमाले उठ्दैन है यति भएपछि भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । अहिले सरकारमा नसहँदा अन्तरविग्रह, अन्तरघात र विपक्षीसँग भित्र–भित्र मिलेर, विपक्षीलाई एकजुट पार्ने भूमिका खेलेर सिध्याउने कुरा गर्नुभयो । यो त एउटा च्याप्टर त क्लोज भयो नि अब । अब यसै कारणले नेकपा एमाले कमजोर हुन्छ । त्यो कुरा होइन ।

प्रादेशिक राजनीति र राष्ट्रिय राजनीतिको छायाँ र सरकार अर्काको हुँदा त्यसको असर स्थानीय चुनावमा पर्छ कि पर्दैन ?

नेकपा एमालेको तागत घटेको होइन, त्यसभित्र अन्तरघात भएको हो । अन्तरघात भन्ने कुरा सधैँ हुँदैन । केही मान्छेले अन्तरघात गर्दा एक समय विरोधीसँग मिलेर अन्तरघात गर्दा एक समय अलिकति धक्का पर्छ । त्यसले उनीहरूले एकाध ठाउँमा भत्काउने, एकाध ठाउँमा इँटा खुस्काउने गर्न सक्छन, त्यो अपूरणीय क्षति होइन । त्यो टाल्दा भइहाल्ने कुरा हो । त्यो ब्रह्माण्डमै ध्वस्त हुने कुरा होइन । नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो नि देशको । एमालेसँग एक सयभन्दा बढी त अहिले छ नि त । अरूसँग ६० होला । अरूसँग ४८ होला । अरूसँग बाहिर, यता, उति जोड्दा ३०, ३५ होला । स्थिति त त्यही हो नि । त्यही भएर नेकपा एमालेसँग अर्को तुलना त हुँदैन । हुने स्थिति छैन । नेकपा एमाले माओवादी र कांग्रेस दुई वटा पालिकाका चुनावमा मिलेर चुनाव लड्दा प्रमुख हैसियतमा आएको होइन र पहिला पनि । अहिले त नेकपा एमालेले त यसबीचमा धेरै काम गरेको छ नि ।

एमालेले के गर्यो भनेर कसैले सोध्यो भने तपाईं जहाँ हुनुहुन्छ, जहाँ उभिनुहुन्छ, त्यही ठाउँबाट दायाँ हेरेर बायाँ हेरेर यो त एमालेकै सरकारमा गरेको काम हो भनेर भन्दिन सक्नुहुन्छ । काठमाण्डौको सडक, काठमाण्डौमा पानी । अहिले बाढीले मेलम्ची बिग्रिएको होला । एमालेले त ल्याएको हो नि । बाढी आउनु त बेग्लै कुरा हो । जनवरीसम्ममा त्यसलाई ठीक गरेर ल्याउँछौँ भन्दै थियौँ । उहाँहरूले वैशाख–जेठ पुर्याइसक्नुभयो । उहाँहरूसँग त्यो कार्यक्षमता छैन, किनभने यति समय त उहाँहरूले कुरा गर्दा गर्दै बिताइसक्नुभयो । बधाई, विरोधीको आलोचना र विरोध गर्दा गर्दै, विरोधीलाई धम्क्याउँदै बितिसक्यो, डेढ महिना त गइ गयो नि । अब अरू समय पनि त्यसैगरी जान्छ । उहाँहरूले त्यसरी काम गर्न त सक्नुहुन्न नि ।

मैले त खुट्टा तान्दै गर्दा पनि जुत्ता तान्दै गर्दा पनि काम त अगाडि बढाएको बढाइ गरेको थिएँ । नेपाली कांग्रेस अहिले कुनै शक्ति आर्जन गरेर सरकारको नेतत्वमा पुगेको हो र ? शक्ति आर्जन त होइन नि । संसदीय गणित । यो त २०७४ को चुनावले निर्माण गरेको गणित हो । अर्काे चुनाव त आउनै बाँकी छ । त्यसले के निर्माण गर्दछ । भोट ल्याउने गरी काम, नेपाली नागरिकको मन जित्ने गरी र नेपाली नागरिकबाट विश्वास आर्जन गर्ने गरी तिमीले शासन गर योग्य रहेछौँ भनेर जनादेश पाउने गरी काम, कसैले त्यस्तो विचार अघि सारेको छ ? कसैले त्यस्तो काम अगाडि सारेको छ, त्यस्तो काम गरेको छ ? देख्नुभएको छ कहीँ । त्यो छैन भने मैदानमा त एकल एमाले छ त । अरू त खुट्टा तान्ने हुन । एमालेको विरोध, आलोचना गर्ने हुन ।

यो बाटो बनाउँछु भन्ने क्षमता अरूसँग छैन, एमालेले गर्छ । यो पहाडमा सुरुङ खनेर पानी निकालिदिन्छु भन्ने क्षमता अरूसँग छैन, एमालेसँग मात्रै छ । यो नदी थुनिदिन्छु, ड्राइभर्सन गरेर तराईं सिँचाइ गरिदिन्छु भन्ने योजना अरूसँग छैन नि त । त्यो क्षमता त एमालेसँग मात्रै छ । त्यो तपाईँले सुनकोसी मरिन ड्राइभर्सनमा देख्नुभएको छ । सुनकोसी, कमला ड्राइभर्सनको योजना हामीले अगाडि सारेका छौँ, त्यहाँ देख्नुभएको छ ।

तपाईंले शेरबहादुर देउवालाई धन्यवाद दिनुपर्छ, पिलो निचोरेर फालिदिनुभयो, काँडो निकालेर फालिदिनुभयो अध्यादेश ल्याएर भए पनि । यी सबै संवाद सुनिसक्दा देउवाले खिल निकालिदिनुभयो नि हैन ?

त्यो होला/नहोला, यसो होला, उसो होला, जसो भए पनि उहाँले संवैधानिक काम गर्नुभएन । बलजफ्ती, छापामार शैलीमा, षड्यन्त्रपूर्ण ढङ्गले अध्यादेशको सिफारिस हुन्छ ।

नेकपा एमालेलाई विभाजित गर्न कति संख्या राख्यो भने पुग्छ ? २५, २०, ३०, ३५ प्रतिशत सुन्नुभयो होला, त्यो सबै हिसाब हो । कुनै कारण प्रतिपक्षमाथि निसाना गरेर गलत बदनियतको साथ कुनै कानुन त्यसरी ल्याइन्छ ? ल्याइन्थ्यो भने संसद् चलिरहेको थियो संसदमा ल्याउनुपर्थ्यो । संसद छलेको भनेको यो हो । राति १२ बजे अन्त्य गर्ने, बिहानै अध्यादेश सिफारिस गर्ने । अध्यादेशको ब्यहोरा पहिले नै ल्याइसकेको थियो । संसदमा पेस गर्नुपर्छ कि पर्दैन ।

अराजनीतिक, प्रतिस्पर्धाको क्षमता नभएको राजनीतिका नाममा कुटिलताबाट विपक्षलाई समाप्त पार्ने । कमजोर पार्ने । त्यस खालका नियतवश । अस्ति भर्खर सर्वोच्च अदालतले अत्यावश्यक, अत्यन्त जरुरी नपरिकन, देशका लागि जरुरी पर्नुपर्छ कुनै व्यक्तिका लागि होइन । यहाँ माधव नेपाललाई अति जरुरी पर्यो भनेर कानुन ल्याइने होइन ।

यो अध्यादेशसँग राष्ट्रका हित कहाँ जोडिएको छ ? लोकतन्त्रलाई नौटङ्की प्रणाली बनाउने, अलोकतान्त्रिक प्रणाली बनाउने यो क्रियाकलाप राष्ट्रिय हित, जनहितसँग कहीँ जोडिएको छ ? तत्काल देशका लागि गर्नैपर्ने के पर्यो यो अध्यादेशसँग त्यस्तो के छ ? संसदको बैठकमा ल्याउन सकिन्थ्यो, छोटो बाटोबाट गर्न सकिन्थ्यो । यस्तो छोटो बाटोबाट गरिएका उदाहरणहरू छन । २०६५ साल जेठ १५ गते विनातयारी संविधान सभाको पहिलो बैठकबाट संविधान सभा के हो र व्यवस्थापिका के हो ? त्यो पनि छुट्टिएको छैन ।

बोलाइएको संविधान सभा बैठक छ । व्यवस्थापिकाले संविधान संशोधन गर्नुपर्छ । नियम निलम्बन कसले गर्यो ? ती तत्काल १० मिनेटमा व्यवस्थापिकाको बैठक बोलाएर संविधान सभाको स्थगित गरेर, कानुन तत्काल निलम्बन गरेर, संविधानको धारा तत्काल निलम्बन गरेर, तत्काल फेरेर गणतन्त्र घोषणा गरिएको होइन ? त्यो पनि तत्काल पर्दा गर्न सकिन्छ । देशलाई नै जरुरी पर्यो भने हामी गर्न सक्थ्यौँ होला नि । देशलाई नै जरुरी परेको त थिएन, नागरिकलाई, आकस्मिक रूपमा त केही थिएन ।

पार्टीका समस्याका लागि प्रणालीका मूल्य मान्यता, कानुनका मूल्य मान्यता, संविधानका मूल्य मान्यता र हाम्रा व्यवहारहरू अस्वस्थ हुँदैन । प्रश्न के हो भने मेरो घरमा झगडा हुन सक्छ । त्यसो भनेर मैले देशको कानुन नै फेर्दे भन्ने ? मेरो घरमा झगडा पर्यो त्यस कारण संसद अन्त्य गर्देउ र अर्को चिज गर्देउ भन्ने ? अनि त्यो कुरा सरकारले मान्ने ?

मान्छेको पद जान्छ भनेर मन्त्री हुन पाएन ? मन्त्री हुनेबित्तिकै पार्टीले निकाल्छ । मन्त्री पनि खाने, सांसद पनि रहने, पार्टीबाट पनि निष्कासित नहुने यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जताको, पदलोलुप्ताको, आशक्तिको, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ ? अदालतको फैसला विपरीत अदालतको अवहेलना गर्दै राष्ट्रिय आवश्यक्ता नागरिककको आवश्यक्ता होइन, तत्काल नगरि नहुने कुनै काम थिएन । नेकपा एमालेका विरुद्ध प्रहार गर्नका लागि बदनियतपूर्ण ढङ्गले आकस्मिक रूपमा अधिवेश षड्यन्त्रपूर्ण ढङ्गले अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भयो ।

अध्यादेश तत्काल ल्याउने काम, अध्यादेश जारी भयो, एकथरी मान्छेहरू पाखुरा समातेर त्यहाँ पुर्यायए, घिसार्दै, त्यो त हामी सबैले देख्यौँ होला । यसले कसलाई फाइदा भयो, कसलाई बेफाइदा, कसलाई नाफा, कसलाई नोक्सान भयो भन्ने कुरा भन्दा यो एमालेका विरुद्धको अलोकतान्त्रिक, अमर्यादित, षड्यन्त्रपूर्ण, वास्तवमा यो अनैतिक काम हो । अर्को कुरा, पार्टी फुटाउनका लागि यस्ता खालका क्रियाकलाप गर्ने अनैतिक काम हो यो । जुन काम नेपाली कांग्रेसको नेतृत्वमा भयो, जुन कुरा अलि अगाडिसम्म उहाँहरू अध्यादेशबाट देश चलाउन पाइँदैन भन्नुहुन्थ्यो । अहिले त १२ बजे अन्त्य गरेर १० नबज्दै उहाँहरू अध्यादेश ल्याउँदै हुनुहुन्छ त ।

अध्यादेशले शासन चलाउन पाइन्छ ? संसद छल्न पाइन्छ, त्यति बेला संसद छलेको होइन, संसद अन्त्य भएको हो । मैले पहिले ४० प्रतिशत नै राखेको थिएँ । स्थिरताको पक्षलाई ध्यानमा राखेको थिएँ । तर पार्टीहरूले केन्द्रीय सदस्य थप्दै जाने, कसैका सात हजार केन्द्रीय सदस्य भएको तपाईं हामीले सुन्यौँ होला । कसैले १५ सय केन्द्रीय सदस्य पुर्याएको सुन्यौँ होला, केन्द्रीय सदस्यको ४० प्रतिशत भनेर त्यो प्रावधान पनि र उता सांसदको पनि राख्ने हो भने त बधुवा मजदुर जस्तो हुने भयो ।

संवैधानिक स्थिर त्यो होइन । त्यस कारण पार्टी वा संसद् भनेर राखिएको थियो, त्यत्ति हो गरेको । मलाई त्यो आवश्यक्ता परेको त होइन तर एउटा सैद्धान्तिक तवरमा कुनै पार्टीभित्र यस्तो अराजकता, फ्लोर क्रसको तमासा, यो अलग्गै भएको स्थिति, निर्वाचन आयोगमा अगाडि बढाबढको स्थितिलाई ध्यानमा राखेर अहिले झैँ कलुषित मनसायका साथ त्यतिबेला त जारी गरिएको थिएन । तर त्यति बेला धुमधाम विरोध भयो । पुष्पकमल दाहालजीबाट विरोध भयो । माधवकुमार नेपाल, शेरबहादुर देउवा, अनेकबाट विरोध भयो त्यति बेला । मध्यरातमा अन्त्य गरेर भोलि पल्ट बिहानै अध्यादेश जारी गरिएको थिएन । तर पनि उहाँहरू छतमा टाउको ठोक्किने गरी उफ्रिनुभयो । अहिले मलाई ताजुब लाग्छ, फेरि केही मिडिया, केही नागरिक समाजका अगुवा, केही बुद्धिजीवी जो त्यति बेला एकदमै उफ्रिए, अहिले ध्यानमग्न । इमान अर्काका लागि होइन, इमान त आफ्ना लागि कायम गर्नुपर्ने हो नि । मेरो आग्रह के हो भने हरेकले आफ्नो इमान कायम राखौँ न ।

पार्टीभित्रै असन्तुष्ट र माधव नेपाललाई नै छोडेका व्यक्तिहरू अहिले पार्टीभित्रै हुनुहुन्छ कि पार्टीबाहिर हुनुहुन्छ, कसरी मिलाउनुहुन्छ ?

माधव नेपालले जतिलाई अल्मल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागे होला । हिजो त्यहाँ लगेर उहाँले पेस गरेका नामहरू, देखाएका हस्ताक्षरहरू ती सही होइनन भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरू मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेस गरेका मान्छे पनि उहाँसँग रहेनछन । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । तर उहाँहरूबाट त होइन भन्ने वक्तव्य आयो । अरू आउने सिलसिला जारी छ । जो उहाँसँग गएनन पार्टीमै छन । त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ? जो अर्कोतिर लागेनन, पार्टी छोडेनन, ती पार्टीमै छन । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन । मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ छु । कोही–कोही भूमिका फेरिन्छ पनि । जस्तो मुख्यमन्त्रीमा रहेका र नरहेका साथीहरूको भूमिका अलिकति फेरियो ।

डोरमणिजीले राजीनामा गर्नुभयो । अष्टजीले मुख्यमन्त्रीको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ । पार्टीको काममा होलान साथीहरू । हिजो पार्टी एकता हुनुपर्छ भन्ने अभियानमा लागेका थिए । कहिले यो तहसम्म बिगार्ने मनसाय छ भन्ने नठानिएका व्यक्ति बेला, यो त्यो पक्ष भए पनि होला । तर यहाँ पुर्याउँदैछ भन्ने नठानिएका बेला, कसको मनमा को पस्न सक्छ र भन्ने छ नि, कसैको मनमा त कोही पस्न सक्दैन । मनमा पस्न नसक्या बेला । को कता, को कता देखियो होला । त्यसलाई हिसाब गरिरहनु हुँदैन । राष्ट्रपतिले त क्याबिनेटको निर्णयको आधारमा गरिदिने हो । त्यसमा धुमधाम आलोचना । प्रधानमन्त्रीले गरेको गलत सिफारिस हो, अहिले पनि राष्ट्रपतिले पास गरिदिनुभयो ।

बिलकुल गलत, एमालेविरुद्धको, एमाले विभाजन गर्ने उद्देश्यका साथ, बदनियतपूर्ण, एमालेलाई कमजोर पार्ने गलत मनसायका साथ, तर पनि मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले गर्नुभयो । किन आलोचना गर्दैनन ? कोहीले गलत कुरालाई राष्ट्रपतिले गर्नुभयो भनेर । यस्तो गलत काम गर्दा पनि शेरबहादुरजीले गलत काम गर्नुभयो भनेर भन्नु पर्दैन ? अर्कोतिर सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत उहाँहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनुभएको थियो ।

सरिता गिरीलाई निकालिएको छ भन्नेबित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ ? नेकपा एमालेले हटाएका मान्छेहरू नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न । सभामुखको कर्तव्य त्यही हो । ट्रेडिशन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला पहिला । यति बेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु भन्ने ।

सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन र फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस गर्नेसम्मको काम हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ।

उहाँ केलाई पर्खिरहनुभएको होला । उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ र कायमै रहेको पदमा एमाले विरोधी मान्छे संसदमा उपस्थित गराउने भन्ने । अग्नि सापकोटाजीलाई म सोध्न चाहन्छु– संसद चलाउनु छ कि छैन ? गैरकानुनी ढङ्गले, मनपर्दी ढङ्गले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन, सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन भने छोडिदिए हुन्छ । उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढङ्गले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानुनी, असंसदीय तालका क्रियाकलाप उहाँले लगातार देखाउनुभएको छ । माओवादी कार्यकर्ताका रूपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।

माधवले पार्टी छाडिसकेपछि पार्टी कार्यकर्तालाई के भन्न चाहनु हुन्छ ?

मैले पार्टीका सम्पूर्ण नेता÷कार्यकर्तालाई कुनै भ्रम अन्योलमा नपर्न, कसैको पद वा अन्य कुनै कुराको प्रलोभनमा नपर्न र पार्टीप्रति निष्ठावान भएर काम गर्ने हाम्रो परम्परा छ । आम नेता कार्यकर्ता निष्ठावान हुनुहुन्छ । तर भ्रममा पारेर निष्ठावान पार्ने कोसिस हुनसक्छ । त्यस कारण कुनै भ्रममा नपरेर पार्टीप्रति निष्ठा, दृढताका साथ, पार्टी विरोधी विचारलाई अस्वीकार गर्न र पार्टीको एकता, पार्टी विस्तारका काममा जुट्न र आउँदो दिनमा हामीले विजय हासिल गर्दै जानुछ । नेपालमा राजनीतिक हिसाबले विजय गर्ने अर्को कुनै शक्ति छैन । हामीले विजय हासिल गर्दै जानुपर्छ । त्यो विजय यात्राका लागि त्यस अभियानमा सबैलाई जुट्न म हार्दिक आग्रह गर्दछु ।