जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार १६:४८

१०औं महाधिवेशनमा आक्रामक प्रचार योजना बनाउँदै एमाले, माग्यो सवै जनसंगठनका प्रचार प्रमुखसँग सुझाव


काठमाडौं, कात्तिक १६ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारलाई आधुनिक प्रविधिको प्रयोगबाट व्यापक बनाउन सुझाव दिइएको छ । दशौं महाधिवेशन प्रचार प्रशार उपसमितिले आज आयोजना गरेको अन्तरक्रियामा पार्टीका जनवर्गीय संगठनका प्रचार विभाग प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् ।

उनीहरुले देशको सबभन्दा ठूलो पार्टीको महाधिवेशन कार्यकर्ताका लागि मात्र नभएर सम्पूर्ण जनताका लागि नै अनुभुत हुने गरीकोे बनाउनु पर्ने सुझाव दिएका छन् । त्यसका लागि प्रचार सामग्री समाजका सबै तप्काका जनताको प्रतिनिधित्व हुने,उनीहरुले अपनत्व महसुष गर्ने र स्थानीय भाषामा समेत तयार गर्नुपर्ने सुझाएका छन् ।

तुलसीला स्मृति प्रतिष्ठानमा आज आयोजना गरिएको कार्यक्रममा चितवनमा ५ लाख जनता उतार्ने भनेर गरिएको प्रचारलाई मूर्त रुप दिन राजनीति बाहेक चितवनका पर्यटन,साँस्कृति,शिक्षा,स्वास्थ्य,कृषि जस्ता क्षेत्रको पनि प्रवद्र्धन हुने प्रकारका प्रचार सामग्री बनाएर वितरण गर्नुपर्ने सुझावहरु आएका छन् ।

प्रचार प्रसारको लागि आम सञ्चार माध्यमका अतिरिक्त सामाजिक सञ्जाल९फेसबुक,टिकटक,इन्टाग्राम,लिंकडेन,ट्विटर आदि०को व्यापक उपयोग गर्न सबैले सुझाव दिएका छन् । एमालेको नवौं महाधिवेशन ‘हाइटेक’का रुपमा चर्चित भएकोले १० औं महाधिवेशनलाई पनि विशेष प्रकारले उद्घाटन गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।

कार्यक्रममा पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेको यस पटकको महाधिवेशन विगत भन्दा फरक हुने बताउनुभयो । यसवर्ष विधान महाधिवेशन पहिले नै गरिसकिएकोले नेतृत्वको बिषमा मात्र महाधिवेशनमा चर्चा हुने बताउनुभयो । उहाँले सम्पूर्ण जनसंगठनलाई आफ्नो तर्फबाट पनि प्रचारको योजना बनाउन आग्रह गर्नुभएको छ ।

प्रचार विभाग उपप्रमुख सूर्य थापाले सबै जनसंगठनहरुको छलफलले महाधिवेशनको प्रचार गर्न सहज हुने बताउनुभयो । ‘तपाईंहरुले दिएको सुझावका आधारमा हामी प्रचारको कार्ययोजना बनाउँदछौं’ थापाले भन्नुभयो । एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।